Friday 1 January 2021

नेपालमा आएको त्यो पहिलो रेल

नेपालमा आएको त्यो पहिलो रेल - सन्तोष खडेरी
भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म सञ्चालन हुने नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ । भारतको आर्थिक एवं प्राविधिक सहयोगमा भौतिक प्राविधिक निर्माण सम्पन्न भइसकेकाे ३५ किलोमिटर लम्बाइको कुर्था-जयनगर खण्डमा रेल सञ्चालन हुन लागेको छ । त्यहीँ सञ्चालन गर्नका लागि रेलको सेट ल्याइएको छ । आवश्यक कानुन बनाएर दसैँ-तिहारपछि रेल सञ्चालनमा ल्याउने तयारी छ ।

आजभन्दा ९३ वर्षअघि नै सन् १९२७ मा चन्द्र शमशेरका पालामा नेपालमा पहिलोपटक रेल सञ्चालनमा आएको थियो । तत्कालीन समयमा प्रकाशित अखबार समाचारका आधारमा पहिलो रेलबारे यो आलेख तयार गरिएको छ । प्रथम विश्वयुद्धमा बेलायतलाई सैन्य सहायता उपलब्ध गराएबापत युद्ध सकिएपछि बेलायतले नेपाललाई २१ लाख रुपैयाँ प्रदान गरेको थियो । 

त्यतिबेला देशको आन्तरिक ढुकुटीबाट प्रधानमन्त्रीको तजबिजमा जे-जसरी खर्च हुने गरेको भए पनि बेलायत सरकारबाट प्राप्त त्यो २१ लाख रुपैयाँलाई भने प्रधानमन्त्री चन्द्र शमशेरले अन्यत्र कतै नखर्ची विकास निर्माणमा नै लगाए । त्यही रकमबाट त्यतिबेला रक्सौल-अमलेखगञ्ज रेल, अमलेखगञ्ज-भीमफेदी मोटरबाटो र १४ माइल लामो धुर्सिङ मातातीर्थ रोपवेको निर्माण गराएका थिए । 

कोलकातामा अवस्थित मार्टिन एन्ड कम्पनीले बनाएको थियो नेपालको पहिलो रेल नेपाल गभर्मेन्ट रेलवे । यात्रुवाहक त्यो रेल ७६२ एमएम न्यारो गेजको थियो र वाफ (स्टिम) इन्जिनबाट सञ्चालन हुन्थ्यो । उक्त रेल तत्कालीन ब्रिटिस भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म २४ माइल करिब ३९ किलोमिटर लामो दूरीको थियो । ब्रिटिस भारतको बंगाल नागपुर रेलवे रक्सौलसम्म थियो । त्यस्तै, नेपालको रेलवे रक्सौलबाट जोडिएकाले नेपाल भारतको अन्तर्राष्ट्रिय रेलमार्गसम्म जोडिएको थियो । चन्द्र शमशेरले दासप्रथा उन्मूलन गरेपछि स्वतन्त्र भएका मानिसहरूको बसोबास अमलेखगञ्जमा थियो । 


त्यतिबेला रेलवे निर्माणमा दासमुक्त भएका मानिसहरूको समेत प्रयोग गरिएको थियो । अमलेखगञ्जमा पहिले घना जङ्गल थियो र रेलवे निर्माण गर्दा जङ्गल फडानी गरी स्टेसन निर्माण गरिएको थियो । त्यहाँ पानीको अभाव हुने भएकाले चन्द्र शमशेरले नल लगाउनसमेत हुकुम दिएका थिए । 


१९ फेब्रुअरी १९२७ मा भएको रेल उद्घाटनको कार्यक्रमका लागि तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरका अलावा कैयन् भाइभारदार उपस्थित थिए । मार्टिन कम्पनीका प्रतिनिधिले श्री ५ महाराजाधिराजबाट आज्ञा लिई श्री ३ महाराजमा एक निवेदनपत्र पढेर सुनाएका थिए । जसबाट तोकिएको समयभन्दा धेरै महिना पहिले नै रेलवे निर्माण कार्य सम्पन्न भएको भनी बुझ्न सकिन्छ भनी अखबारहरूले समाचारमा उल्लेख गरेका छन् । त्यहाँ प्रधानमन्त्री महाराजले समेत सम्बोधन गरे जसमा उनले रेलवेको फाइदाका अतिरिक्त आफ्नो कार्यकालमा भए गरेका उपलब्धिहरूको वर्णन गरे । पहिलो पटक त्यसरी सार्वजनिक उद्घाटन कार्यक्रममा उपस्थित भएर आफ्नै हातबाट उद्घाटन गर्ने कार्यक्रममा राजाले पनि पक्कै केही बोल्छन् होला भन्ने अनुमानमा बसेका जनमानस राजाले एक शब्द पनि नबोल्दा भने निराश भएछन् । दरबारभित्र खोपीका देवता रहेका राजा पहिलो पटक उपस्थित सार्वजनिक कार्यक्रममा समेत बन्दीझैँ निरीह देखिएछन् । रक्सौल-अमलेखगञ्जसम्म रेल, अमलेखगञ्जबाट भीमफेदीसम्म मोटरबाटो निर्माण भएपछि राजधानी पुग्न निकै सजिलो हुने भन्दै रेल सञ्चालनलाई तत्कालीन समयमा क्रान्ति नै भएको भनी चित्रण गरिएको थियो । 


भीमफेदीसम्म मोटरमा पुगेको सामान त्यहाँबाट मातातीर्थसम्म १४ माइल लामो रोपवेको निर्माण गरिएपछि सामान ढुवानीका लागि निकै सहज हुने बताइएको थियो । कतिपय अखबारले त नेपालमा बनेको १४ माइल लामो रोपवेलाई संसारकै लामो रोपवे भनेरसमेत खबर सम्प्रेषण गरेका छन् । अमलेखगञ्जमा स्टेसनको निर्माण भएबाट त्यो व्यापारिक केन्द्रको रूपमा समेत विकास हुने आशा व्यक्त गरिएको थियो । रेलवे र मोटरबाटोको निर्माण नहुँदासम्म यसअघि रक्सौलबाट काठमाडाैंसम्म पुग्न तीन दिन लाग्ने गरेकोमा अब भने एक दिनमा पुग्न सकिनेछ भनी हर्षबढाइँ गरिएको थियो ।
त्यतिबेला रेलवे निर्माण गर्नु ब्रिटिस भारतको उद्देश्य नेपालबाट बहुमूल्य काठ पैदावर आयात गर्नु मात्र नभई नेपालमा बढी उत्पादन हुने खाद्यान्न आयात गर्नुसमेत थियो । रेल खुल्नाले देशको व्यापारमा प्रगति होला, प्रजाको उन्नति होला, यात्रीलाई यात्रा गर्नमा सहज होला, समयको बचत होला । तर, देशबाट बाहिर जाने सामग्रीमाथि सरकारले नियन्त्रण गर्नुपर्ला भनी भारतको देहरादुनमा खुलेको नेपाली संगठन 'गोर्खा लिग' ले गम्भीर चासो व्यक्त गरेको थियो । भारततर्फ नेपालको खाद्यान्न बाहिरिन बन्द गर्नुपर्ने वा अत्यन्तै कम परिमाणमा मात्र बाहिरिन दिन माग गरेका छन् । 



नेपालमा प्रशस्त खाद्यान्न उत्पादन हुने भएकाले फसल काट्ने समयमा भारतबाट व्यापारीहरू नेपाल प्रवेश गरी जमिनदारलाई अग्रिम पेश्की दिई अत्यन्तै सस्तो मूल्यमा ठूलो परिमाणमा खाद्यान्न भारततर्फ लैजाने परम्परामा वृद्धि हुनेछ । जसका कारण नेपालमा उत्पादित खाद्यान्न सस्तो मूल्यमा बाहिरिँदा भारतीय व्यापारीहरू मोटाउने र नेपालका गरिब नागरिक महँगीले खाद्यान्न किनेर खान नसकी भोकभोकै मर्ने स्थिति उत्पन्न हुन सक्ने भनी नेपाल सरकारलाई चेतावनी दिइएको थियो । 'गोर्खा लिग' ले तत्कालीन समयमा बदलिएको परिस्थितितर्फ इङ्गित गर्दै राजा र शासकबाट जनतामा अपेक्षा दिनानुदिन बढ्दै गएकाले जसबाट राजा र शासक भाग्न नसक्ने भन्दै त्यसलाई पूरा गर्ने दिशातर्फ अगाडि बढ्न सुझावसमेत दिएको थियो । तत्कालीन समयमा नेपालमा पहिलो पटक रेल सञ्चालनमा आएको घटनालाई संसारभरबाट प्रकाशित हुने अखबारहरूले स्थान दिए । उक्त रेल सेवा उद्घाटनको खबरलाई विभिन्न विदेशी अखबारले समेत आफ्ना सामाचारमा बडो रोचक तरिकाले वर्णन गरेका छन् । अमेरिकाबाट प्रकाशित हुने 'दी विनीपेङ ट्रिब्युन' को २७ मार्च १९२७ को आफ्नो अंकमा नेपालमा पहिलो रेल शीर्षकमा खबर छापिएको छ, 'हिमाली अधिराज्य नेपालले आफ्नो पहिलो रेल देख्यो र त्यहाँका महाराजाधिराज त्रिभुवन वीर विक्रमले समेत आफ्नो जीवनमा पहिलो पटक रेलमा यात्रा गरे । त्यहाँका २१ वर्षे लक्का जवान महाराजाधिराज आफ्नो जीवनको पहिलो एकदमै नौलो रेल यात्राका क्रममा कत्ति पनि आत्तिएका थिएनन् र साहसपूर्ण तरिकाले यात्रा गरे ।' 


सन् १९२७ मा पहिलो रेलवे सञ्चालनमा आएको एक दशकपछि जुद्ध शमशेरको पालामा सन् १९३७ मा दोश्रो रेलवे सञ्चालनमा आयो । दोस्राे रेलवे भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म थियो । तत्कालीन समयमा त्यसको निर्माणमा अंग्रेजको जेसुकै स्वार्थ भएको भए पनि भारतीयले भने अब सहज रूपमा जनकपुरसम्मको यात्रा गरी जानकी मन्दिरको दर्शन गर्न पाइनेमा खुसी साटे । त्यतिबेला वर्षको दुई पटक भारतीय तीर्थयात्रीहरू नेपाल आउने गर्थे, एकपटक शिवरात्री र अर्को पटक विवाह पञ्चमीको समयमा । उक्त रेलमार्गले भारतीय तीर्थयात्रीहरूलाई नेपालमा तीर्थ गर्न जान मद्दत पुग्ने आशा व्यक्त गरेका थिए, आम भारतीय हिन्दु नागरिकले । अंग्रेजको उपनिवेश रहेको तत्कालीन परिवेशको भारतका हिन्दु धर्मावलम्बी, त्यस्तै विश्व हिन्दु परिषद् एवं राष्ट्रिय स्वयम्‌सेवक संघजस्ता हिन्दुवादी संघसंस्थाका लागि नेपाल एक मात्र स्वतन्त्र हिन्दु राष्ट्र थियो । त्यस्तै, नेपालका महाराजाधिराज एवं महाराज नै उनीहरूका लागि पनि हिन्दु सम्राट थिए । ती हिन्दुवादी संगठनको सम्बन्ध नेपालका शासकसँग अत्यन्तै सुमधुर रहेकाले उनीहरूको आग्रहमा नेपालले जयनगर-जनकपुर रेलवे सञ्चालन गरेको भन्ने धारणा त्यहाँका आममानिससम्म परेको रहेछ ।

 प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७, शिलापत्र अनलाईन

न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...

  न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा... -  सन्तोष खडेरी हृषिकेश शाह प्राध्यापक , राजनीतिज्ञ , कुटनीतिज्ञ , मन्त्री , संविधान मस...