Monday 20 December 2021

न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...

 न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...

सन्तोष खडेरी

हृषिकेश शाह प्राध्यापक, राजनीतिज्ञ, कुटनीतिज्ञ, मन्त्री, संविधान मस्यौदाकार हुँदै मानवधिकारकर्मीसम्म भए। धेरै परिचयका बाबजूद समेत उनको सबैभन्दा सशक्त परिचय कुटनीतिज्ञ एवं विद्वान लेखकको नै हो। सन् १९६१ देखि निधन नहुँदा सम्म झण्डै चार दशकको अवधिमा नेपाली समाजमा उनी सदैव विवादको केन्द्रमा रहिरहे। 

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेपछि उनी संयुक्त राष्ट्रसंघका लागि नेपालको पहिलो राजदूतमा नियुक्त भए। त्यसको दुई वर्ष पछि उनी अमेरिकाका लागि पहिलो आवासीय नेपाली राजदूतका रुपमा नियुक्त भए। त्यही चार वर्ष (१९५६-६०) सार्वजनिक जीवनमा उनका लागि र सिंगो मुलुकका लागि पनि सफल र विवादरहीत समय हो। उनले अमेरिकाको न्यूयोर्क र वासिङ्टनमा राजदूतको भूमिका निर्वाह गर्दा लामो गुप्तबासपछि भर्खरै सार्वजनिक भएको मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे। त्यहाँ रहँदा उनी आफैंले पनि विश्वव्यापी रुपमा एउटा सफल र अब्बल कुटनीतिज्ञको परिचय बनाए। उनले संयुक्त राष्ट्रसंघका लागि राजदूतको जिम्मेवारी सम्हालेको करिब १० महिना पछि उनी माथि न्यूयोर्कको सेन्ट्रल पार्कमा लुटेरहरुले छुरा प्रहार गरे र लुटपाट समेत भयो।

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गर्न सन् १९४९ देखि  सुरु गरेको प्रक्रियाले अन्ततः १४-डिसेम्बर-१९५५ मा सार्थकता पायो र सोही दिन देखि नेपाल राष्ट्रसंघको सदस्य भयो। त्यसको करिब १० महिना पछि सन् १९५६ को अक्टोबर महिनामा नेपालले संयुक्त राष्ट्रसंघको पहिलो राजदूतका रुपमा हृषिकेश शाहलाई नियुक्त गर्‍यो। उनी सोही महिनामा नै न्यूयोर्क पुगेर अक्टोबर अन्तिम हप्ता राष्ट्रसंघका तत्कालीन महासचिव ड्याग ह्यामर्सोल्डलाई ओहदाको प्रमाणपत्र बुझाइएर आफ्नो जिम्मेवारी सम्हाले।



त्यतिबेला विश्वराजनीतिमा दुई वटा ठुला संकटका घटना सार्वजनिक सतहमा देखिए। ती दुई घटनाहरुमध्ये पहिलो घटना थियो स्वेज नहरको विषयलाई लिएर विवाद बढेपछि इजिप्ट माथि फ्रान्स, बेलायत र इजरायलले गरेको सैन्य हस्तक्षेप। त्यस्तै दोश्रो थियो हंगेरीमा व्यवस्था परिवर्तनका लागि भएको आन्तरिक आन्दोलनमा सोभियत युनियनको अधिक बल प्रयोग। ती दुवै घटना संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट सुल्झिन नसकेपछि नोभेम्बर पहिलो सातादेखि संयुक्त राष्ट्रसंघको आपतकालीन सत्र आह्वान गरियो। स्वेज नहरको विषयलाई लिएर पहिलो आपतकालीन सत्र (१-१० नोभेम्बर) सम्म त्यस्तै हंगेरीको विषयलाई लिएर (०४-१० नोभेम्बर) सम्म दोश्रो आपतकालीन सत्र आह्वान गरियो। संयुक्त राष्ट्रसंघको गठन भएको ११ औं वर्षमा त्यसरी पहिलोपटक आपतकालीन सत्र आह्वान गरिएको थियो त्यो पनि एकैपटक दुई-दुई वटा। स्वेज नहरको मामिलालाई लिएर अमेरिका र सोभियत युनियन एकै ठाउँ थिए त्यसैले भारत र नेपाल जस्ता मुलुकलाई उति सारो समस्या भएन। नेपालले पनि आफ्नो नीति अनरुप कुनै पनि राष्ट्रमा भएको बाह्य सैनिक हमलाको विरोध गर्‍यो। इजिप्टको समर्थनमा र उसलाई हमला गर्ने ती तीन मुलुक फ्रान्स, बेलायत र इजरायलको विरुद्धमा मत जाहेर गर्‍यो। त्यो समान्य प्रक्रिया अनरुप नै चल्यो। त्यतिबेला नेपाल , भारत , बर्मा र श्रीलंका एउटै ठाउँमा उभिए त्यसको कुनै खास विशेष चर्चा पनि भएन।

दोश्रो, आपतकालीन सत्र जुन हंगेरीको आन्तरिक आन्दोलनमा सोभियत युनियनको अधिक बल प्रयोगको विषयमा थियो। त्यसमा भने परिदृष्य बेग्लै थियो। दुबै महाशक्ति मुलुक अमेरिका र सोभियत युनियन यसमा भने आमने सामने थिए। जसको असर हाम्रो जस्ता तेस्रो मुलुकको लागि साँच्चै अप्ठ्यारो पार्ने खालको थियो। सुरुको ०४ नोभेम्बरमा सोभियत युनियनले हंगेरीका नागरिक माथि गरेको सैन्य हस्तक्षेपलाई विरोध गर्दै प्रस्ताव पेस गरिएको थियो। नेपाल सरकारको स्वीकृति लिनुपर्ने आफूले निर्णय गर्न नसक्ने हुनाले नेपालका प्रतिनिधि त्यसको दिन मतदानका क्रममा भने अनुपस्थित रहे। त्यतिबेलाको दुर्गम मुलुक नेपालमा सञ्चार सुविधामा आएको गडबडीले गर्द सम्पर्क हुन सकेन। ०९ नोभेम्बरमा भने शाहले त्यहाँको कारबाहीमा उपस्थिति जनाए। त्यहाँ उनले नेपाल कुनै पनि किसिमको साम्राज्यवादको विपक्षमा रहने त्यस्तै सम्पूर्ण राष्ट्रहरुको आत्मनिर्णयको सिद्धान्तमा पक्षमा अडिग रहने बताए। प्रजातन्त्रका लागि शान्तिपूर्ण संघर्ष गरिरहेका हंगेरीका जनता माथि सोभियत युनियनको सैन्य हस्तक्षेपको कडा प्रतिवाद गरे। विगतदेखि नै नेपाल कहिल्यै कसैको उपनिवेश नभई सदासर्वदा एक स्वतन्त्र मुलुक भएका नाताले पनि आफूहरु सधैं स-साना राष्ट्रहरुको स्वतन्त्रताका पक्षमा उभिने बताए। सोभियत संघको सैन्य कारबाहीले हंगेरीमा उत्पन्न भएको तत्कालीन स्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण गराउँदै , सैन्य कारबाहीको घोर निन्दा गर्दै सैन्य हस्तक्षेप बन्द गरि सैनिक फिर्ता लैजान माग गरे। साथै उनले त्यस दिन सोभियत युनियनको विपक्ष र अमेरिकाको पक्षमा मतदान गरे। सोभियत युनियनलाई चिढ्याउन नचाहेको भारत मतदानका क्रममा अनुपस्थित रह्यो भने श्रीलंका र बर्माले समेत नेपाललाई पछ्याउँदै अमेरिकाको पक्षमा मतदान गरे।

हंगेरीमा सोभियत आक्रमण विरुद्ध संयुक्त राष्ट्रसंघको आपतकालीन सत्रमा सोभियत युनियनको विपक्षमा गई अमेरिकाको पक्षमा मतदान गर्ने निर्णयले त्यतिबेला ठुलै हल्लीखल्ली नै मच्चियो। एक अर्काका विरुद्धमा त्यहाँ आमने सामने भएका सोभियत युनियन र अमेरिकालाई आ-आफ्ना पक्षमा जनमत जुटाउनु थियो। त्यति नै बेला नेपालले अमेरिकाको समर्थन गरेको विषयलाई लिएर अमेरिका सहित उसका पक्षधर मिडियाले हृषिकेश शाहलाई आफ्नो पक्षका भनि समाचार सम्प्रेषण गरे। स्मरणीय यो छ् कि सन् १९४९ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यताका लागि आवेदन दिँदा नेपालको तर्फबाट अमेरिका,फ्रान्स,बेलायत र चीनले वकालत गरेका थिए। त्यतिबेला सोभियत युनियनको लगातारको भिटोका कारण नै राष्ट्र संघको सदस्य बन्ने नेपालको सपनालाई तुहाईदिएको थियो। त्यस्तै अर्कोतिर सोभियत पक्षधरले भने उनलाई आफूहरु विरोधी र अमेरिकी दलाल सम्म भन्न भ्याए। त्यसपछि शाह झन् चर्चामा आए अमेरिकी मित्र र सोभियत विपक्षी भनेर। त्यतिबेलै देखि सोभियत युनियनलाई उनलाई अमेरिकी एजेन्ट भन्ने ट्याग नै भिरायो। त्यतिबेला पनि अन्तर्राष्ट्रिय मुद्दामा प्रस्तुत हुँदा दक्षिण पूर्वी एसियाली क्षेत्रमा भारतलाई बर्मा, श्रीलंका र नेपालले पछ्याउँछन् भन्ने थियो। तर त्यस घटनमा भारत अनुपस्थित भएर तटस्थ देखिँदा नेपालले अमेरिकाको पक्षमा मतदान गरेको त्यस्तै श्रीलंका र बर्माले नेपाललाई पछ्याएको विषयले समेत झनै चर्चा पायो। त्यो घटनाले अन्तर्राष्ट्रिय मुद्दामा नेपाल सधैं भारतको पक्षमा हिँड्दैन। आवश्यक परेका बखत उ भन्दा पृथक पनि स्वतन्त्र निर्णय लिन सक्छ भन्ने सन्देश पनि अन्तर्राष्ट्रिय निकायमा प्रसारित भयो।

 

हृषिकेश शाहले अमेरिकाको पक्षमा मतदान गरेको विषयलाई यता नेपालमा टंकप्रसाद अचार्य नेतृत्वको तत्कालीन सरकारले रुचाएन र उनलाई स्पष्टीकरण खालको पत्र नै पठायो। त्यसमा उनलाई तपाईं हाम्रो जस्तो असंलग्न देशको राजदूत भएर हामीले अङ्गिकार गरेको असंलग्न परराष्ट्र नीतिको खिलाफमा कसरी लाग्नु भयो? यसको कारण स्पष्ट पार्नु भनेर लेखियो। (प्रारब्ध र पुरुषार्थ हृषिकेश शाह) नेपाल सरकारले पनि हंगेरी मामिलालाई विरोध गरे पनि सोभियत युनियनको विपक्ष, अमेरिकाको पक्ष लिने गरि अगाडी बढ्नु हुँदैनथ्यो भारत झैँ मतदानमा अनुपस्थित भएर तटस्थ देखिन सकिन्थ्यो भन्ने थियो होला भनि बुझ्न सकिन्छ। त्यसको २० दिन पछि संयुक्त राष्ट्रसंघको एघारौं महासभालाई पहिलोपटक सम्बोधन गर्दै नेपालका तत्कालीन परराष्ट्र मन्त्री चूडाप्रसाद शर्माले समेत हंगेरी मामिलामा हृषिकेशले बोले जस्तै उस्तै किसिमको भाषा बोलेका छन्। तर कसैको प्रस्तावको पक्ष र विपक्षमा मतदान गर्नेमा भने नेपाल सरकार र राजदूतको बुझाई फरक-फरक थियो कि?

हृषिकेश शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघमा नेपालले लगत्तै  त्यसपछि उपनिवेश र रङ्गभेदविरुद्ध आफूलाई सशक्त रुपमा उभ्याउन थाल्यो। त्यसमा उपनिवेशविरुद्ध नेपाल पहिलोपटक टोगोल्याण्डको विषयमा प्रभावकारी रुपमा अगाडि देखियो। आजको अफ्रिकी महादेशको घानाको क्षेत्र  हिंजोको टोगोल्यण्ड दुई भागमा विभाजित भई दुई वटा शक्ति राष्ट्रहरुको उपनिवेश थियो। एकातिर ब्रिटिस प्रशासित टोगोल्याण्ड त्यस्तै अर्कोतिर फ्रेन्च प्रशासित टोगोल्याण्ड। पहिले त ती दुबै टोगोल्याण्डलाई संयुक्त राष्ट्रसंघको संरक्षणमा ल्याउन त्यसपछि पनि फ्रान्सको अनेकन तिकडमको सामना गरि त्यसलाई ती उपनिवेशबाट स्वतन्त्रता दिलाउन अन्य मुलुकसँग सँगै नेपालले समेत राष्ट्रसंघमा प्रभावकारी भूमिका निर्वाह गर्‍यो। जसबाट अफ्रिकी मुलुकहरु कालान्तर सम्म नेपालका मित्र भए। त्यसबाट नेपालले अफ्रिकी मित्रता आर्जन गर्न सफल भयो। यसरी नै शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रस्तुत गर्दै मुलुकको प्रतिष्ठासँग आफूले पनि राम्रो प्रतिष्ठा आर्जन गरेका थिए।


सन् १९५७ को संयुक्त राष्ट्रसंघको बाह्रौं महासभा १७ सेप्टेम्बरबाट सुरु भयो। अघिल्लो वर्ष परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालबाट एक प्रतिनिधिमण्डल नै गएको थियो। त्यो वर्ष भने परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री डा. के.आई. सिंहले नेपालबाट प्रतिनिधि पठाएनन्। बाह्रौं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जिम्मेवारी उनै राजदूत शाहलाई दिइएको थियो। बाह्रौं महासभाको पहिलो दिनको उद्घाटन सत्रमा सहभागी भएर उनी डेरामा फर्केका थिए। गर्मीको महिनाको सोमबारको त्यही दिन बेलुकी उनी सधैं झैँ डेरा नजिकै रहेको न्यूयोर्क म्यानहटनको सेन्ट्रल पार्कमा टहलिन निस्किएका थिए। त्यतिबेला दुई जना काला वर्णका व्यक्तिहरु आएर उनी सँग चुरोट मागे। उनले चुरोट दिनका लागि चुरोटको बट्टा निकाले। तर बट्टा खाली रहेको त्यसमा चुरोट नदेखेपछि उनीहरुले उनको छातीमा छुरा प्रहार गरे। र उनको पर्सबाट ९५ अमेरिकी डलर र हातको घडी समेत लुटेर लगे। छुरा प्रहारबाट रगताम्य हुने गरि उनी घाइते भए। नजिकै फिफ्थ एभिन्युमा रहेको डेरा सम्म जसोतसो उनी हिँडेरै पुगे र त्यहाँबाट उनलाई परिवारले न्यूयोर्क अस्पतालमा भर्ना गरे। घटना बारे माथिको जानकारी उनको बयानको आधारमा घटनाको भोलिपल्ट त्यहाँका स्थानीय अखबारमा छापिएको हो। त्यतिबेला शाहको उमेर भने ३३ वर्ष मात्र थियो। उनको आत्मकथा 'प्रारब्ध र पुरुषार्थ'मा भने उनको ध्यान मोड्नका लागि उनी सँग चुरोट मागेको र चुरोटको बट्टा निकाल्न नपाउँदै छुरी धसेको उल्लेख छ। त्यस्तै उनी आधा घण्टा जति मुर्छा भएको र उठेर घर गएको त्यसपछि श्रीमतीले रगत देखेर आत्तिएर के भयो भनी सोधेको भनी लेखिएको छ। त्यतिबेला आफूहरुलाई जाँच्ने डाक्टर सप्ताहन्तको बिदामा गएका, अर्को डाक्टर आएर चेकजाँच गरेपछि अस्पताल भर्ना हुनुपर्छ भनेको र न्यूयोर्कको अस्पताल भर्ना भएको उल्लेख छ।

 

अर्को दिन १८-सेप्टेम्बर बुधबार दिउँसो नै संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत शाह लुटिएको र उनी माथि छुरी प्रहार भएको घटना अस्पतालबाट सार्वजनिक भयो। त्यही दिन बेलुकी प्रकाशित हुने धेरै छापाहरुले त्यस खबरलाई प्रमुखताका साथ छापे। समाचार संस्था ए.पी. र यु.पी.आई. लगायतले तस्बिर सहित खबर सम्प्रेषण गरे। त्यस दिनका अखबारहरुमा न्यूयोर्कमा नेपाली राजदूतमाथि लुटपाट र छुरी प्रहार, कुटनीतिज्ञ माथि आक्रमण, राजदूत लुटिएराजदूत माथि छुरी प्रहार लगायतका शीर्षकमा खबरहरु छापिए। ती अखबारहरुमा माथि उल्लेख गरे झैँ उनको बयानका आधारमा समाचार छापियो। समाचारमा गए राति लुटपाट र आक्रमणमा परि न्यूयोर्क अस्पतालमा उपचाररत नेपाली राजदूतलाई त्यति धेरै गहिरो चोट छैन। त्यस्तै उनी अहिले खतरामुक्त छन् भन्ने समेत उल्लेख थियो।

राजदूत शाहले त्यस घटनालाई एउटा दु:खद दुर्घटनाकारुपमा मात्र लिएको र यस्तो घटना जहाँ त्यहीँ जोही कोही माथि पनि घट्न सक्छ। मेरै देशको राजधानीमा समेत हुन सक्छ भनि बयान दिएको समेत छापियो। त्यस घटनाले संसारभर चर्चा परिचर्चा पायो। संयुक्त राष्ट्रसंघको मुख्यालय रहेको न्यूयोर्कमा त्यतिबेला बाह्रौं बार्षिक महासभाका लागि विश्वभरका नेता, कुटनितीज्ञ, पत्रकार लगायतका प्रतिनिधिहरु संसारभरबाट जम्मा भएका थिए। त्यति नै बेला न्यूयोर्कमा एउटा कुटनीतिज्ञ माथिको आक्रमण सामान्य थिएन। जसले न्यूयोर्कको समग्र सुरक्षा व्यवस्था माथि नै प्रश्न खडा गर्‍यो। त्यस घटनामा अमेरिकी सरकार ज्यादै गम्भीर रुपमा प्रस्तुत भयो। अमेरिकाको स्थानीय , प्रान्तीय र संघीय सरकारले समेत गम्भीरता देखायो। केही सोभियत युनियन खेमाका अखबार र रेडियोहरुले त्यस घटनालाई रङ्गभेदको घटना सँग समेत जोडे। त्यस्तै तिनले न्यूयोर्क लुटेराहरुको सहर हो त्यो बस्नका लागि सुरक्षित छैन भन्ने किसिमबाट पनि खबरहरु चलाए।

शाहले आफ्नो आत्मकथामा त्यस घटनापछि कतिपयले समलिङ्गी(गे) होला भनेर सम्म अनुमान गरे भनी उल्लेख गरेका छन्। घटना रहस्यमय समेत देखिन्छ तर त्यसबेलाका अखबारका समाचार भन्दा अन्य थप सामाग्री भने हाल सम्म फेला परेको छैन। त्यस्तै पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईको पुस्तक 'परराष्ट्रका पात्र' मा हृषिकेश शाह बारे लेखिएको छुट्टै अध्यायमा न्यूयोर्क घटनाको उल्लेख छ। आफूले उक्त घटनाका स्वयं प्रत्यक्षदर्शी रहेको भनिएका भारतीय कुटनीतिज्ञ मोहिन्दर सिंहले केही वर्ष अघि आफ्नो निवासमा आफू सँग कुरा गर्दा उक्त घटनालाई एउटा आश्चर्यजनक प्रेम प्रसंग सँग जोडेका उल्लेख गरेका छन्। तर पुस्तकमा शाहप्रतिको सम्मान र उनी सँगको पुस्तौनी सम्बन्धका कारण शाहको ब्यक्तिगत पाटोमा थप लेख्न नसकेको उल्लेख गरेका छन्। थप प्रमाण नहुँदा आत्मकथा मार्फत शाहको बयान र त्यतिबेला प्रकाशित अखबारका समाचार मात्र उपलब्ध भएकाले त्यसैको आधारमा त्यस घटनालाई उल्लेख गरिएको छ।

घटना भएको अर्को दिन जब घटनाको जानकारी सार्वजनिक भयो। त्यही दिन नै कतै राजनीतिक कारण भन्ने प्रश्न समेत उठि झन् घटनाले अर्को मोड लिन सक्छ कि भनी त्यसलाई न्यूयोर्क प्रहरीले सुरुमा नै खारेज गर्‍यो। न्यूयोर्क सिटीका पुलिस कमिस्नर स्टिफन पी. केनेडीले शाहको घटनामा कुनै राजनीतिक अभिप्राय नरहेको र त्यो विशुद्ध स्थानीय अपराध मात्र भएको बयान सार्वजनिक गरे। त्यो सँगै उनले प्रहरीले ती दुई आक्रमणकारीलाई नियन्त्रणमा लिनका लागि सक्दो प्रयास गरिरहेको समेत जानकारी गराए। (समाचार संस्था ए.पी. १८-सेप्टेम्बर-१९५७) सोही दिन १८-सेप्टेम्बरका दिन न्यूयोर्कका मेयरले उक्त घटना प्रति अफसोस जनाउँदै घाइते शाहलाई टेलिग्राम पठाई उनको स्वास्थ्यलाभको कामना गरे।

वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयले समेत आफूहरुले राजदूत हृषिकेशको सुरक्षा गर्न नसकेकोमा लज्जित भएको उल्लेख गर्दै घटना प्रति अफसोस जनाउँदै उनको शीघ्र स्वास्थ्यलाभ सहितको टेलिग्राम पठायो। न्यूयोर्कका गभर्नरले समेत उनलाई सोही ब्यहोराको टेलिग्राम पठाए। सोही दिन संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रसंघका लागि अमेरिकी राजदूतले सबैका सामुन्ने उक्त घटना प्रति अफसोस जताए। न्यूयोर्क प्रहरीले राजदूतमाथि हमला गर्ने आक्रमणकारीहरुलाई जतिसक्दो चाँडो समातेर कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनायो। साथै प्रहरीले १५ जना जासुस समेत परिचालित गरिसकेको बतायो। (दी ब्रीजपोर्ट टेलिग्राम १९-सेप्टेम्बर-१९५७) त्यहाँको विदेश मन्त्रालयले अघिल्लो दिन टेलिग्राम नै पठाइसकेको भए पनि अर्को दिन १९ सेप्टेम्बरमा घटना भएको दुई दिन पछि त्यहाँका तत्कालीन विदेश मन्त्री जोन फोस्टर डलेस वासिङ्टनबाट न्यूयोर्क उत्रिए। डलेस घाइते शाह उपचाररत अस्पतालको शैय्यामा नै पुगेर उनी सँग भेट गरे। उनले घटना प्रति अफसोस जनाउँदै राजदूतलाई सुरक्षा प्रदान गर्न आफूहरु चुकेकोमा क्षमायाचना माग्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे। आफूलाई भेट्न आएका डलेसले शाहलाई कस्तो छ भनी गरेको प्रश्नमा उनले आफ्नो छातीमा बाँधिएको सेतो पट्टि देखाउँदै आफूलाई अझै केही दु:खाई र पीडा रहेको बताएका थिए। (सेन्ट जोसेफ गजेट २०-सेप्टेम्बर-१९५७) उक्त घटनामा त्यहाँका विदेशमन्त्री नै अस्पतालमा आएर क्षमा मागेको घटनालाई समेत अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ खबर सम्प्रेषण गरे। डलेस आउनुलाई अमेरिकी पक्षधरले घटनाप्रति अमेरिकी सरकारको संवेदनशीलता, नेपालको महत्व र राजदूत शाहको ब्यक्तित्वलाई समेत जोडेर चर्चा गरे।

सोभियत युनियन पक्षधरले भने सदा झैँ शाहलाई अमेरिकाका मित्रका रुपमा चित्रण गरे। डलेसले भेटेर फर्किएकै दिन शाहले आफूलाई नेपालबाट राजा र प्रधानमन्त्रीले समेत फोन सम्पर्क गरेर शीघ्र स्वास्थ्यलाभको कामना सहित ढाडस दिएको जानकारी प्रेसलाई गराए। त्यतिबेला नेपालबाट राजा महेन्द्र र प्रधानमन्त्रीमा डा. के.आई. सिंहले सम्पर्क गरि उनी सँग घटनाबारे जानकारी लिएका थिए। शाह माथि भएको लुटपाट र छुरी प्रहारको घटनाले धेरै चर्चा पाउनुको कारण अति छोटो अवधिमा त्यहाँको कुटनैतिक वृत्तमा निर्माण गरेको ब्यक्तित्व समेत थियो होला। तर त्यही न्यूयोर्कमा दुई वर्षको अवधिमा शाह भन्दा पहिले र पछि पनि कुटनैतिक प्रतिनिधि र तिनका पारिवारिक सदस्य माथि त्यसैगरी हमला भएको रहेछ। जसले न्यूयोर्क शहरको सुरक्षा ब्यबस्थालाई लिएर सर्वत्र प्रश्न पनि उठेको रहेछ। शाह भन्दा अगाडि संयुक्त राष्ट्रसंघमा सहभागी हुन आएकी फ्रेन्च प्रतिनिधिमण्डलकी सचिव एक महिलालाई समेत त्यही सेन्ट्रल पार्कमा घुम्दा छुरी प्रहार गरिएको रहेछ। त्यस्तै शाहमाथि आक्रमण भएको केही महिनापछि राष्ट्रसंघका लागि इरानी राजदूत कि छोरीलाई समेत छुरी प्रहार गरिएको रहेछ। (सेन्ट पिटर्स्बर्ग इन्डिपेन्डेन्ट १२-मे-१९५८) यी घटनाबाट त्यतिबेला न्यूयोर्कमा लुटेरा र त्यस्तै आक्रमणकारीको बाहुल्य रहेछ भन्ने देखिन्छ।

शाह सँग त्यहाँका स्थानीय प्रहरीका जासुसले उनीहरुको हुलियाबारे जानकारी लिए साथै उनलाई हमला गरिएको स्थान देखाउन समेत अनुरोध गरे। शाहले देखाएको स्थान र हुलियाका आधारमा प्रहरीले त्यहीँका ब्रुकलिन निवासी दुई जना काला वर्णधारीहरु पहिचान गरे। सेप्टेम्बर ३० का दिन उनीहरुलाई स्थानीय प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लियो। पक्राउ पर्ने मध्ये एकजना ४२ वर्ष लरेन्स जोन्स र अर्को २८ वर्षीय रोबर्ट बिम्बर्ग नामक ब्यक्तिहरु थिए। उनीहरुको साथबाट शाहको चुरोटको बट्टा बरामद भएको जनाएको थियो प्रहरीले। (समाचार संस्था ए.पी. ०१-अक्टोबर-१९५७) शाहले घटनाको अर्को दिन अस्पतालबाट दिएको बयानमा चुरोटको बट्टा निकाल्दा खाली थियो भनेको थिए। तर त्यही खाली चुरोटको बट्टा उनीहरुबाट भेटिनुले भने घटना झन् रहस्यमयी देखिन्छ। तर त्यो भन्दा बढी प्रमाण भने सार्वजनिक रुपमा उपलब्ध छैन। ०२-अक्टोबरका दिन ती अभियुक्तहरुलाई न्यूयोर्कको प्रहरी मुख्यालयमा बयानका लागि लगियो। त्यस दिन उनीहरुको हातमा हतकडी लगाएर प्रहरी मुख्यालय लैजाँदै गरेको दुई जनाको तस्बिर समेत प्रेस मार्फत सार्वजनिक गरियो। (दी न्यु पोर्ट डेली एक्स्प्रेस ०३-अक्टोबर-१९५७) यता राजदूत शाह ०२ अक्टोबरका दिन दुई साता लामो अस्पताल बसाई पछि अस्पतालबाट सोझै राष्ट्रसंघ मुख्यालय पुगे। राष्ट्रसंघको बाह्रौं महासभा नेपालको प्रतिनिधिमण्डलका नेताका रुपमा उनले नै सम्बोधन गरे। महासभालाई सम्बोधन गर्दा उनमा पछिल्लो आक्रमणको चोट कत्ति पनि नभए जसरी उनी निकै जोशका साथ प्रस्तुत भए भन्ने ब्यहोराका समाचार प्रकाशित भएका थिए। (भिक्टोरिया एड्भोकेट ०३-अक्टोबर-१९५७)

शाह उपचारबाट निको भएर फर्किएको एक साता पछि १०-अक्टोबरबाट बेलुकी सोही पार्कमा टहलिने आफ्नो दैनिकीलाई निरन्तरता दिए। उनले सञ्चारकर्मीहरु सँग आफू पार्कमा पुनः टहलिन लागेको बारे जानकारी दिंदै केही प्रतिक्रिया समेत दिए। त्यस घटनालाई उनले एउटा खराब दुर्घटना मात्र भएको टिप्पणी गरे। धेरैले आफूलाई यो ठाउँ लुटेरामात्र भएको ठाउँ हो भनेर भने पनि आफूलाई त्यसमा कत्ति पनि बिश्वास नलागेको बताए। आफूलाई भने त्यो ठाउँ पूर्णरूपमा सुरक्षित नै लाग्ने गरेको बताए। आफूले कुटनैतिक जस्तो भएर जवाफ नदिएको जानकारी गराउँदै यस्तो घटना जहाँ पनि जो सुकै माथि पनि हुन सक्न बताए। आफ्नै मुलुकको राजधानीमा समेत घट्न सक्छ भनी त्यस घटनालाई सामान्यिकरण गरे।(सेन्ट जोसेफ न्युज प्रेस ११-अक्टोबर ल-१९५७)

शाहको आत्माकथामा उल्लेख छ। राष्ट्रसंघका महासचिवले आफ्ना कानूनी सल्लाहकारलाई शाह कहाँ पठाएर ती बदमास हरुलाई सजाय दिलाउनु पर्छ भनेका थिए। त्यस्तै ग्राण्ड जुरीमा समेत निवेदन दिनुपर्छ भनी भनेका थिए। आफूले त्यहाँका पत्रिकाहरुलाई घटनालाई सामान्य रुपमा लिएको र यस्तो घटना जहाँ पनि घट्न सक्छ भनेर प्रतिक्रिया दिएको उल्लेख गरेका छन्। न्यूयोर्कका मेयरले उपचार खर्च दिने भनेको तर आफूले नलिएर राजा महेन्द्रले दिएको रकमबाट उपचार खर्च तिरेको पनि उल्लेख गरेका छन्। सोही वर्ष संयुक्त राष्ट्रसंघमा बेलायती महारानी एलिजाबेथ द्वितीयको भ्रमण थियो त्यसबेला रानीसँग आफ्नो परिचय भएको र छुरी प्रहार भएको घटनाले आफूलाई दु:ख लागेको भनी बताएको समेत उल्लेख छ। उक्त घटना पछि आफूले ठूलो प्रचार पाएको उल्लेख गरेका छन् शाहले।

त्यहाँको कुटनैतिक वृत्तमा शाहको चर्चा झनै बढ्यो। अर्को वर्ष सन् १९५८ को राष्ट्रसंघको तेह्रौं महासभामा पनि नेपालको प्रतिनिधित्व उनै शाहले गरे। त्यस्तै नेपाल संयुक्त राष्ट्रसंघमा कोरिया मामिला, अफ्रिकी मुलुकहरुमा उपनिवेश र रङ्गभेदविरुद्ध अझ सशक्त रुपमा प्रस्तुत हुँदै गयो।

शाहको कार्यकालमा सन् १९५८ को मार्च १६-१७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ड्याग ह्यामरसोल्डको दुई दिने नेपाल भ्रमण सम्पन्न भएको भयो। संयुक्त राष्ट्रसंघका दोश्रो महासचिव रहेका ड्याग नेपालको भ्रमण गर्ने प्रथम राष्ट्रसंघीय महासचिव थिए। सन् १९५८ सेप्टेम्बरमा शाह अमेरिकाका लागि प्रथम नेपाली आवासीय राजदूतमा नियुक्त भए। उनैको कार्यकालमा सन् १९६० को अप्रिल-मे महिनामा इतिहासमा पहिलोपटक नेपालका राष्ट्राध्यक्ष तत्कालीन राजा महेन्द्रको राजकीय अमेरिका भ्रमण सफल भयो। जहाँ राजा महेन्द्रले अमेरिकाको संयुक्त सदनलाई समेत सम्बोधन गर्ने अवसर प्राप्त गरे। राजाले नेपालीमा गरेको सम्बोधनलाई अंग्रेजी भाषामा शाहले नै उल्था गरि सुनाएका थिए।

सन् १९६० मा विश्व प्रसिद्ध टाइम म्यागेजिनले असंलग्न आन्दोलनका सबैभन्दा प्रभावकारी कुटनीतिज्ञको सूचीमा बर्माका उ थान्त , नेपालका हृषिकेश शाह र ट्युनेशियाका मोङ्गी स्लिमको नाम छापेको थियो। संयोग कस्तो भने अर्को वर्ष यी तिनै कुटनीतिज्ञले संयुक्त राष्ट्रसंघमा प्रमुख प्रमुख जिम्मेवारी हासिल गर्ने अवसर पाए। यी मध्ये ट्युनेशियाका मोङ्गी स्लिम राष्ट्रसंघको १६ औं महासभाका अध्यक्ष चुनिए। बर्माका उ थान्त महासचिव ड्यागको निधन पछि संयुक्त राष्ट्रसंघका तेश्रो महासचिव चुनिए। नेपालका हृषिकेश शाहले भने राष्ट्रसंघका तत्कालीन महासचिव ड्यागको विमान दुर्घटनाको छानबिन गर्न राष्ट्रसंघले गठन गरेको अन्तर्राष्ट्रिय छानबिन आयोगको अध्यक्षको जिम्मेवारी सम्हाले।

नेपालमा राजा महेन्द्रले २०१७ पौष ०१ गते बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई कू गरि सत्ता हातमा लिएपछि गठन भएको सरकारमा उनी अर्थमन्त्रीको पद सम्हाल्ने गरि राजदूतबाट राजीनामा गरि फर्किए। ड्यागको निधन पछि छानबिन गर्न गठित आयोगका अध्यक्ष हुँदा उनी संयुक्त राष्ट्रसंघमा राजदूत नभई नेपालमा मन्त्री थिए। उनी ४ वर्ष त्यहाँ राजदूत हुँदा उनले आर्जन गरेको अन्तर्राष्ट्रिय ख्याती र विश्वासले उनलाई प्रतिष्ठाको त्यो पदमा पुर्‍यायो ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको पहिलो राजदूतका रुपमा रहँदा हृषिकेश शाहले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। २००७ साल सम्म सारा संसारका लागि बन्द रहेको नेपाल प्रजातन्त्रपछि मात्र संसारका लागि खुला भयो त्यस्तै आफै पनि संसारमा खुल्न रुपमा आएको थियो। त्यतिबेला शाहले निर्वाह गरेको भूमिका आधुनिक नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा सधैं स्मरणीय छ। शाह अमेरिकामा राजदूतबाट फर्किएरको समय सन् १९६१ देखि सन् २००२ मा आफ्नो निधन नहुँदा भने जहिल्यै विवादको केन्द्रमा नै रहिरहे।

...

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७ शिलापत्र अनलाईन 


No comments:

Post a Comment

न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...

  न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा... -  सन्तोष खडेरी हृषिकेश शाह प्राध्यापक , राजनीतिज्ञ , कुटनीतिज्ञ , मन्त्री , संविधान मस...