Tuesday, 18 August 2026

 

नेपाल-अस्ट्रेलिया सम्बन्धका ६१ वर्ष

गोर्खाली सिपाहीहरूले आफूहरूलाई पुर्याएको योगदानको अस्ट्रेलिया सरकार सधैँ स्मरण गर्दछ ।


नेपालको प्रमुख आर्थिक साझेदारहरूमध्ये एक, पछिल्लो समय धेरै नेपाली विद्यार्थीका लागि शिक्षाको एक प्रमुख गन्तव्य मानिएको मुलुक अस्ट्रेलियासँग नेपालको सम्बन्ध स्थापना भएको ६ दशक पूरा भएको छ । नेपाल र अस्ट्रेलियाबीचको औपचारिक दौत्य सम्बन्ध ६१ वर्ष मात्र पुरानो भए पनि दुई मुलुकबीचको साइनो भने एक शताब्दीभन्दा पनि लामो छ ।
 
सन् १९१५ मा प्रथम विश्‍वयुद्धको समयमा बेलायती पक्षबाट लडाइँ लड्न पुगेका गोर्खाली सिपाहीहरूले गल्लीपोलीको लडाइँमा अस्ट्रेलिया र न्युजिल्यान्डका पक्षमा लडेका थिए । त्यसको सम्झनामा प्रत्येक वर्ष २५ अप्रिलमा त्यहाँ हुने विशेष सैन्य परेडमा आज पनि गोर्खालीहरूलाई आमन्त्रण गर्ने गरिन्छ । त्यस्तै, अस्ट्रेलिया सरकारले गोर्खाली सिपाहीहरूले आफूहरूलाई पुर्याएको योगदानको सधैँ स्मरण गर्ने गर्दछन्।

द्वितीय विश्‍वयुद्धको अन्त्यलगत्तै नेपालका तत्कालीन प्रधानमन्त्री महाराज जुद्ध शमशेरले राजर्षि महाराजको रूप धारण गरी गेरु फेटासहित रिडीतर्फ प्रस्थान गरेपछि पद्म शमशेरले महाराजसहित प्रधानमन्त्रीको पद सम्हाले । वि.सं. १९९० मा नेपालमा आएको विनाशकारी महाभूकम्पपछि तत्कालीन महाराज जुद्धले आन्तरिक र केही भारतीय लगानीसहित नेपालमा औद्योगिकीरणको सुरुवात गरेका थिए । 

नयाँ महाराज पद्‍म शमशेरले मुलुकमा बाह्य लगानी भित्र्याएर औद्योगिकीरणको योजनामा थिए । अमेरिकासँग वाणिज्य तथा मैत्री सन्धि गर्नुलाई पद्‍मको त्यही योजनाको उपज थियो भनी त्यतिबेला उनलाई भेटेका बेलायती, अमेरिकी र भारतीय प्रतिनिधिहरूका दस्तावेजबाट थाह हुन्छ । त्यो योजना कार्यान्वयन गर्नै नपाई सत्ता संघर्षको चेपुवामा परी पद्‍म शमशेरले मुलुक छाड्न बाध्य भए ।

पद्मपछि महाराज बनेका मोहन शमशेरले समेत मुलुकको विकासका लागि विदेशी लगानी एवं विदेशी सहायता खोजेका थिए । मोहन शमशेरले सत्ता सम्हाल्नासाथ अस्ट्रेलियाली कम्पनीहरूलाई आफूहरूसँग मिलेर नेपालमा उद्योग स्थापना गर्न नेपालले आह्वान गरेको थियो । युद्धको अन्त्यपछि अस्ट्रेलियाले समेत संसारभर आफ्नो मित्रता र व्यापारलाई द्रुत गतिका साथ फैलाउन चाहेको थियो । 

अस्ट्रेलियाको बाह्य व्यापार वाणिज्यसम्बन्धी जानकारी सार्वजनिक हुने त्यहाँको सरकारी म्यागेजिन ‘ओभरसिज ट्रेडिङ’को १९४८ जुनको अंकमा यसबारे उल्लेख छ, जसमा नेपालले आफूसँगको साझेदारीमा नेपालमा सिमेन्ट, कागज, ऊन, कपडा र जलविद्युत् लगायतका क्षेत्रमा अस्ट्रेलियाली कम्पनीहरूले ५० प्रतिशतसम्मको लगानीमा उद्योग स्थापना गर्न नेपाल सरकारले आह्वान गरेको छ भनिएको थियो । साथै त्यसका लागि नेपालले एकजना सत्तारूढ परिवारकै राणा सदस्यलाई विशेष आयुक्तसमेत नियुक्त गरिएको भन्‍ने थियो, यसैलाई थप बल प्रदान गर्ने गरी त्यसको दुई महिनापछि १ अगस्ट १९४८ मा अस्ट्रेलियाको क्यानबेराबाट अन्तर्राष्ट्रिय समाचार एजेन्सी युपीआईले समेत खबर सम्प्रेषण गरेको थियो । 

त्यसमा समेत नेपालसँगको साझेदारीमा अस्ट्रेलियाली कम्पनीहरूले ५० प्रतिशतसम्म पुँजी लगानी गरी माथि उल्लिखित क्षेत्रहरूमा नेपालमा उद्योग खोल्न नेपाल सरकारले आह्वान गरेको भन्‍ने थियो । अस्ट्रेलियन कम्पनीहरू त्यहाँ पुगेर प्राविधिक सहायता उपलब्ध गराउँदा र नेपालमा अति कम थोरै संख्यामा रहेका शिक्षित जनशक्तिलाई प्रशिक्षण दिई उद्योगका लागि चाहिने दक्ष जनशक्तिसमेत उत्पादन हुन्छन् भन्‍ने थियो ।

भारतीय स्वतन्त्रतापछि राणाकालमा नै भारतमा कूटनैतिक नियोग रहेका विभिन्‍न मुलुकका कूटनैतिक अधिकारीहरूले नेपाल भ्रमण गर्ने गरेका थिए । यसै क्रममा दिल्लीस्थित अस्ट्रेलियाली राजदूत आइभिन गिफार्ड मैके नेपाल आएका थिए, नेपाली भूभागमा पहिलो पाइला टेक्ने अस्ट्रेलियाली नागरिक उनै अस्ट्रेलियन राजदूत रहेका आइभिन गिफार्ड मैके दम्पती हुन्, राजदूत मैके सन् १९४८ को अप्रिल-मे महिनामा भारतमा राजदूत रहँदा नेपाल भ्रमण गरेका थिए, (दी सन सिड्नी अस्ट्रेलिया, १५ जुन १९४८)

उनी त्यतिबेला नेपालस्थित ब्रिटिस राजदूतावासमा बसेका थिए । त्यस्तै उनले नेपाल भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री महाराज लगायतका नेपाली अधिकारीहरूसँग भेट गरेका थिए, भारतमा आफ्नो कार्यकालको अन्तिम दिनहरूमा उनी नेपाल गएकाले उनको त्यो भ्रमण भेटघाट र परिचयमूलकभन्दा थप हुन सकेन भनी अनुमान गर्न सकिन्छ, उनीपछिका अर्का अस्ट्रेलियाली राजदूतले भने औपचारिक रूपमा नै नेपालको भ्रमण गरेका थिए ।

सन् १९४९ नोभेम्बर त्यस्तै वि.सं. २००६ मंसिरमा दिल्लीस्थित अस्ट्रेलियाली राजदूत हर्बर्ट रोय पोलिक गालेनले नेपालको भ्रमण गरेका थिए । राजदूत गेलान अस्ट्रेलियाका प्रधानमन्त्री वेन चिफ्लीको शुभकामना सन्देश लिएर नेपालका तत्कालीन प्रधानमन्त्री महाराज मोहन शमशेर जबरासँग भेटवार्ता गर्न नेपाल आएका थिए । उक्त भेटमा नेपाल-अस्ट्रेलियाबीच व्यापार तथा मैत्री सम्बन्धबारे समेत चर्चा भएको थियो । (मोहन शमशेरको शासनकालको संक्षिप्त विवरण, २६ मंसिर २००६ प्रचार विभागद्वारा संगृहीत)

संयुक्त राष्ट्रसंघ सूदुर पूर्वी देशका निम्ति आर्थिक समिति ‘एक्याफे’को तेस्रो अधिवेशन सन् १९४८ को २९ नोभेम्बर देखि ११ डिसेम्बरसम्म अस्ट्रेलियाको ल्याप्सटन सहरमा आयोजना गरिएको थियो । त्यसमा भाग लिन नेपालबाट शिक्षा विभागका तत्कालीन डाइरेक्टर जनरल मृगेन्द्र शमशेर जबरा नेतृत्वको प्रतिनिधि मण्डल अस्ट्रेलिया पुगेको थियो । उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा आधारशिक्षाका डेपुटी सेक्रेटरी तारामानसिंह स्वार र प्रा. साम्वदेव पाण्डे थिए । त्यही अधिवेशनमा नेपालले त्यहाँ एसोसियट सदस्यका रूपमा ‘एक्याफे’मा प्रवेश पाएको थियो । संयुक्त राष्ट्रसंघको सदस्यताका लागि आवेदन दिनुभन्दा पहिले नै ‘एक्याफे’मा नेपालको प्रवेश राष्ट्रसंघको कुनै पनि निकायमा नेपालको पहिलो प्रवेश थियो । (दी सिड्नी मोर्निङ हेराल्ड, अस्ट्रेलिया २ डिसेम्बर १९४८)

अस्ट्रेलिया पुगेको त्यही प्रतिनिधिमण्डल न्युजिल्यान्ड सरकारको निमन्त्रणामा त्यति बेलै न्युजिल्यान्डसमेत पुगेको थियो, लडाइँ लड्न त्यस क्षेत्रमा पुगेका गोर्खाली सिपाहीबाहेक न्युजिल्यान्ड र अस्ट्रेलियाको भ्रमण गर्ने प्रथम नेपाली प्रतिनिधिमण्डल त्यही नै थियो, सन् १९४८/४९ तिरै एक अर्काको प्रत्यक्ष सम्पर्कमा पुगिसकेका नेपाल र अस्ट्रेलियाले आपसी रूपमा दौत्य सम्बन्ध स्थापना गर्न भने अर्को १२ वर्ष नै पर्खन पर्यो ।

यता नेपालमा तत्काल राणा शासनको अन्त्य भएको र प्रजातन्त्रपछिको संक्रमणकालीन समयमा नेपालले आफ्नो वैदेशिक सम्बन्धलाई थप परिष्कृत गर्न नसकेकाले त्यतिबेला सम्बन्ध अगाडि बढ्न सकेन भनी मान्‍न सकिन्छ । सन् १९४९ को नोभेम्बर महिनामा नै नेपालको राष्ट्रसंघको सदस्यताको आवेदनलाई स्वीकार गरी नेपाललाई सदस्यता दिलाउनु पर्छ भनी अस्ट्रेलियाले राष्ट्रसंघमा आवाज उठाएर नेपाललाई सघाएको थियो । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, नोभेम्बर १९४९

अस्ट्रेलियासँग नेपालको औपचारिक सम्बन्ध स्थापना नहुँदै सन् १९५४ यता अस्ट्रेलियाले नेपाललाई कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । विभिन्न विधाका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएर अस्ट्रेलियामा तालिम तथा पढ्ने अवसर प्रदान गरेर नेपालको जनशक्ति विकासमा अस्ट्रेलियाले उति बेलैदेखि नै सहयोग गर्दै आएको हो । 

सन् १९५४ मा विभिन्‍न क्षेत्रमा पाँच नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको थियो भने युनेस्कोमार्फत एकजना अस्ट्रेलियाली नागरिकलाई लाइब्रेरियनका रूपमा नेपाल पठाएको थियो । कोलम्बो प्लानको सदस्यको नाताले नेपालले अस्ट्रेलियाबाट सन् १९५८ देखि नै सडक निर्माणका लागि आवश्यक उपकरणदेखि रेडियो उपकरणसम्मको सहयोग प्राप्त गरेको थियो । त्यस्तै त्यो समयमा दिल्लीस्थित अस्ट्रेलियन राजदूतसमेत समय–समयमा नेपाल आउने गरेका थिए । (अस्ट्रेलियाज् पार्ट इन दी कोलोम्बो प्लान प्रोग्रेस रिपोर्ट, १९५८)

अंग्रेज-नेपाल युद्धपछिको सुगौली सन्धिदेखि सन् १९५९ को करिब डेढ शताब्दी लामो समयसम्म नेपालले १० मुलुकसँग मात्र दौत्य सम्बन्ध कायम गरेको थियो । राणाकालको अन्त्य हुँदासम्म बेलायत, अमेरिका, भारत र फ्रान्स गरी चारवटा मुलुकसँग नेपालको सम्बन्ध स्थापना भएको थियो । चीन, शोभियत रुस, जापान, श्रीलंका, इजिप्ट र जर्मनी गरी ६ वटा मुलुकसँग प्रजातान्त्रिक नेपाल (राणा शासनको अन्त्यपछि राजा त्रिभुवनको शासनकालमा कुनै पनि मुलुकसँग वैदेशिक सम्बन्ध स्थापना भएन र सबै ६ वटै राजा महेन्द्रको शासनकालमा भएका हुन्) ले सम्बन्ध स्थापना गरेको थियो । 

सन् १९५९ मे महिनामा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वमा नेपालमा पहिलोपटक जननिर्वाचित सरकारको गठन भयो । उक्त सरकारले निकै द्रुत गतिमा वैदेशिक सम्बन्ध अगाडि बढायो । फलस्वरूप कोइराला सरकारको १८ महिनाको अवधिमा थप १६ मुलुकसँग सम्बन्ध स्थापना भयो । त्यसै क्रममा १५ फेब्रुअरी १९६० मा नेपाल र अस्ट्रेलियाबीच औपचारिक रूपमा सम्बन्ध स्थापना गर्ने परस्पर सम्झौता भयो ।

सम्बन्ध स्थापनाको करिब ११ दिनपछि सोही २६ फेब्रुअरीमा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री रोबर्ट गोर्डन मेन्जिसले दिल्लीस्थित अस्ट्रेलियन राजदूत वाल्टर रसेल क्रकरलाई नेपालमा समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको घोषणा गरे । अस्ट्रेलियाले कोलम्बो प्लानअन्तर्गत नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग दिल्लीस्थित राजदूतले नै समन्वय गर्ने क्रममा नेपालसँग सम्पर्क स्थापित गर्दै आइरहेको समेत जानकारी गराए ।

साथै प्रधानमन्त्री मेन्जिसले नेपालका लागि अस्ट्रेलियन राजदूतको नियुक्तिबाट नेपाल र अस्ट्रेलिया दुवै सरकारहरूबीचको सम्बन्धमा थप समन्वय गर्न मद्दत पुर्‍याउने विश्‍वास व्यक्त गर्दै तत्काल काठमाडौँमा आफ्नो नियोग खोल्न आफूहरूलाई आवश्यक नलागेको समेत प्रस्ट पारे । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, फेब्रुअरी १९६०)

अस्ट्रेलियाले नेपालका लागि गैरआवासीय राजदूत नियुक्त गरेको दुई दिनपछि सोही २८ फेब्रुअरीमा यता नेपाल सरकारले समेत नेपाल र अस्ट्रेलिया दुवै मुलुकले एक अर्काको मुलुकमा आफ्ना राजदूतहरू खटाउने छन् भन्‍ने घोषणा गर्यो । (अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसिएट प्रेस, २८ फेब्रुअरी १९६०

३१ अगस्ट सन् १९६० मा भारतका लागि अस्ट्रेलियाली राजदूत रहेका वाल्टर रसेल क्रकरले नेपालका लागि पहिलो गैरआवासीय अस्ट्रेलियाली राजदूतका रूपमा तत्कालीन राजा महेन्द्रसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, अगस्ट १९६०)

अस्ट्रेलियाले नेपालमा तत्कालै राजदूत खटाएको भए पनि नेपालले भने त्यसको ६ वर्षपछि मात्र गैरआवासीय राजदूत खटायो । सन् १९६० सम्म बेलायत, भारत र अमेरिकामा मात्र नेपालको आवासीय दूतावास थियो । सन् १९६५ को जुलाईमा नेपालले जापानमा दूतावास स्थापना गर्यो । जापानका लागि प्रथम आवासीय राजदूतमा नियुक्त भएका भरतराज राजभण्डारीलाई अर्को वर्ष नेपालले अस्ट्रेलियाका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारी सुम्पियो । 

१६-मार्च १९६६ का दिन अस्ट्रेलियाका तत्कालीन विदेशमन्त्री पल ह्याजलक (पछि अस्ट्रेलियाका १७ औँ गभर्नर जनरल कार्यकाल १९६९÷७४) ले अस्ट्रेलियाका लागि नेपालले पहिलो राजदूतमा भरतराज राजभण्डारीलाई नियुक्त गरेको जानकारी गराउँदै नेपालको उक्त निर्णय स्वागत गरे । साथै उनले सन् १९६० मा दौत्य सम्बन्ध स्थापनापछि दुवै मुलुकले परस्पर रूपमा राजदूत खटाउने निर्णय गरेकामा नेपालका तर्फबाट अहिले भएको बताए । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, मार्च १९६६)

३० मार्च १९६६ का दिन अस्ट्रेलियाका नवनियुक्त नेपाली राजदूत भरतराज राजभण्डारीले अस्ट्रेलियाका तत्कालीन गभर्नर जनरल रिचर्ड केसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे, (दी क्यानबेरा टाइम्स, ३१ मार्च १९६६)

अस्ट्रेलियाले नेपालको कृषि, पशुपक्षी, वनजंगल, परराष्ट्रसेवा, चिकित्सा, जहाज, इन्जिनियरिङ, रेडियो लगायतका क्षेत्रका जनशक्तिलाई तालिम तथा पढाइको सहयोग निरन्तर रूपमा उपलब्ध गराउँदै आएको थियो । यसै क्रममा अस्ट्रेलियाले यी क्षेत्रमा नेपाली जनशक्तिलाई प्रशिक्षणका लागि भन्दै समय समयमा विभिन्‍न अस्ट्रेलियाली प्राविधिकहरूलाई समेत नेपाल पठाएर प्रशिक्षित गर्दै आएको थियो, सन् १९६६ अक्टोबरमा नेपालमा फरेस्टरहरूको सहयोगसमेत उपलब्ध गराएको थियो । (दी क्यानबेरा टाइम्स, ११ अक्टोबर १९६६)

सन् १९७० को फेब्रुअरी २७ नेपालका तत्कालीन युवराज वीरेन्द्रको शुभविवाह आयोजना भयो । युवराजको विवाह समारोहमा भाग लिन अस्ट्रेलियालाई समेत निमन्त्रणा पठाइएको थियो । उक्त समारोहमा गभर्नर जनरलको प्रतिनिधिका रूपमा पूर्वगभर्नर जनरल रिचर्ड केसीले सहभागिता जनाएका थिए । अस्ट्रेलियाका तत्कालीन परराष्ट्र मन्त्री विलियम मेकम्यान (पछि अस्ट्रेलियाका २० औँ प्रधानमन्त्री कार्यकाल १९७१–७२) ले ३० जनवरीमा रिचर्ड केसी नेपाल जाने बताएका थिए । (दी क्यानबेरा टाइम्स, ३१ जनवरी १९७०)

सोही वर्षको अप्रिल महिनामा अस्ट्रेलियाको क्यानबेरामा ‘चौथो एसियाली न्यायिक सम्मेलन’ सम्पन्‍न भएको थियो, उक्त सम्मेलनमा भाग लिन नेपालका तर्फबाट तत्कालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंह क्यानबेरा पुगेका थिए । (दी क्यानबेरा टाइम्स, ९ अप्रिल १९७०)

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी राजदूत भरतराज राजभण्डारी नेपाल फर्किएपछि उनले परराष्ट्र सचिवको जिम्मेवारी सम्हाले । राजभण्डारी अर्को वर्ष सम्पन्न राजा महेन्द्रको राजकीय भ्रमणका क्रममा परराष्ट्र सचिवका हैसियतले भ्रमण टोलीमा सहभागी थिए । राजभण्डारीपछि नयाँ राजदूतका रूपमा प्रकाशचन्द्र ठाकुर नियुक्त भए, (ठाकुर बर्माबाट राणाकालमा नै नेपाल आएर राणा परिवारसँग विवाह गरी मोहन शमशेरको पालामा बर्मामा पहिलो कनसलेट जनरल नियुक्त भएर नेपालको परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।) २३ सेप्टेम्बर १९७० मा नवनियुक्त राजदूत ठाकुरले अस्ट्रेलियाका लागि गैरआवासीय नेपाली राजदूतका रूपमा त्यहाँका तत्कालीन गभर्नर पल ह्याजलकसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९७०)

सन् १९७१ अप्रिल र मे महिनामा राजा महेन्द्रले चार हप्ता लामो अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण पूर्वी एसियाको भ्रमण गरेका थिए, २ अप्रिलका दिन अस्ट्रेलियाली प्रधानमन्त्री कार्यालयले नेपालका राजा महेन्द्र अस्ट्रेलियाली गभर्नर जनरल पल ह्याजलकको निमन्त्रणामा २३-३० अप्रिलसम्म अस्ट्रेलियाको साताव्यापी लामो राजकीय भ्रमणमा अस्ट्रेलिया आउन लागेको जानकारी सार्वजनिक गरेको थियो । (दी क्यानबेरा टाइम्स, ३ अप्रिल १९७१)

१९ अप्रिलका दिन रानी रत्न, परराष्ट्रमन्त्री गेहेन्द्रबहादुर राजभण्डारी लगायतका अन्य नेपाली अधिकारीहरूसहित राजा महेन्द्र काठमाडौँबाट अस्ट्रेलिया र न्युजिल्यान्डका लागि प्रस्थान गरे । उनी अस्ट्रेलिया जाँदा बाटो पारेर थाइल्यान्डको बैंकक र फिलिपिन्सको मनिलासम्म पुगे । मनिलाबाट २३ अप्रिलका दिन राजा महेन्द्र पहिले सिड्नी पुगे । सिड्नीबाट सोही दिन उनी अस्ट्रेलियाको राजधानी क्यानबेरा ओर्लिए । त्यहाँको विमानस्थलमा नेपालका राजा रानीलाई स्वागत गर्न अस्ट्रेलियाका गभर्नर जनरल पल ह्याजलक आफ्नी पत्नीसहित स्वयं विमानस्थल पुगेका थिए । 

प्रधानमन्त्री मेकम्यान भने त्यसै समयमा आकस्मिक रूपमा सदनको सामना गर्नुपर्ने भएपछि विमानस्थलमा राजालाई स्वागतका लागि उपस्थित हुन सकेनन् । प्रधानमन्त्री पत्नी श्रीमती मेकम्यान भने उपस्थित थिइन् । त्यस्तै शिक्षा एवं विज्ञानमन्त्री फेयर बायर्नसमेत उपस्थित थिए । क्यानबेरामा राजा गभर्नर जनरलको अतिथिका रूपमा गभर्मेन्ट हाउसमा नै बसेका थिए । सोही दिन अपराह्न राजा महेन्द्रको सम्मानमा कमनवेल्थ पार्लिमेन्ट हाउसमा गभर्नर जनरलले प्रदान गरेको दिवाभोजमा विमानस्थलमा उपस्थित हुन नसकेका प्रधानमन्त्री विलियम मेकम्यान समेत उपस्थित भए । (दी क्यानबेरा टाइम्स, २४ अप्रिल १९७०)

त्यहाँका मन्त्रिपरिषद् सदस्यहरू, सांसदहरूसहित त्यहाँस्थित कूटनैतिक नियोगका पदाधिकारीहरूसमेत उपस्थित दिवाभोजमा अस्ट्रेलियाका प्रधानमन्त्री र नेपालका राजा दुवैले सम्बोधन गरेका थिए । त्यहाँका प्रधानमन्त्रीले नेपालका राजपरिवारको पहिलो अस्ट्रेलिया भ्रमण भएको उल्लेख गर्दै आफ्नो मुलुकमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । साथै उनले प्रथम विश्‍वयुद्धका दौरान गल्लीपोलीको लडाइँमा जनरल मोनासको नेतृत्वमा रहेको अस्ट्रेलियाली सेनाको चौथो ब्रिगेडमा गोर्खाली सिपाहीले पुर्याएको योगदानको स्मरण गरे । 

साथै उनले गोर्खाली सिपाहीको बहादुरीलाई आफूहरूले कहिल्यै नभुल्ने बताउँदै आफूहरूलाई अप्ठ्यारो परिस्थितिमा गोर्खाली सिपाहीले गरेको महत्वपूर्ण योगदानसमेत नभुल्ने बताए । कोलम्बो प्लानअन्तर्गत आफूहरूले नेपाललाई गरिरहेको सहयोगको समेत चर्चा गरे । राजाले आतिथ्य सत्कार र कोलम्बो प्लानअन्तर्गत नेपाललाई गरेको सहयोगप्रति धन्यवादज्ञापन गरे । राजा महेन्द्र २५ अप्रिलको बिहान क्यानबेराबाट ब्रिसबेनका लागि प्रस्थान गरे । 

गभर्नर जनरल आफैँ उपस्थित भएर क्यानबेराबाट राजालाई बिदाइ गरे । ब्रिसबेनबाट राजा मेलबर्नतर्फ प्रस्थान गरे । मेलबर्नबाट पुनः सिड्नी पुगे । ३० अप्रिलका दिन राजाले साताव्यापी आफ्नो अस्ट्रेलियामा भ्रमण सिड्नीमा पुगेर सम्पन्न गरे । सिड्नीबाट उनी न्युजिल्यान्डका लागि उडे त्यहाँ राजालाई बिदाइ गर्न गभर्नर जनरल आफैँ उपस्थित भएका थिए ।

राजा महेन्द्रको अस्ट्रेलिया भ्रमण हुनु केही महिना अगाडि मात्रै फेब्रुअरी १९७१ मा अस्ट्रेलियाले आफ्नो वैदेशिक सहायताअन्तर्गत अन्य मुलुकसहित नेपाललाई समेत दुईवटा डिसी तीन विमान दिने घोषणा गरेको थियो, अस्ट्रेलियाले सहायता प्रदान गर्ने भनेपछि नेपालले आन्तरिक उडानका लागि नेपाल एअरलाइन्समार्फत सञ्‍चालन गर्ने गरी २८ सिटे दुइटा साना विमानको माग गरेको थियो । (दी एज, १५ फेब्रुअरी १९७१) सोही १ सेप्टेम्बरमा नेपालका लागि अस्ट्रेलियन राजदूत प्याट्रिक सले ती दुई विमान नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । (न्यु नेसन सिंगापुर २ सेप्टेम्बर १९७१)

ती विमान वैदेशिक सहायताअन्तर्गत अस्ट्रेलियाले नेपाललाई प्रदान गरेको भनिएको भए पनि पूर्ण सहायता थियो वा आंशिक थियो भन्‍नेबारे भने ती समाचारबाट थाहा हुँदैन । अस्ट्रेलिया भ्रमणबाट फर्केको एक वर्षभित्र नै राजा महेन्द्रको निधन भयो र नयाँ राजाका रूपमा वीरेन्द्रले सत्ता सम्हाले ।

प्रकाशचन्द्र ठाकुर जापान र अस्ट्रेलियाको राजदूतबाट नेपाल फर्किएपछि उनी परराष्ट्र सेवाबाट बर्खास्त भए । नयाँ राजदूतका रूपमा यादवप्रसाद पन्तको नियुक्ति भयो, २९ नोभेम्बर १९७४ मा नवनियुक्त राजदूत पन्तले त्यहाँका तत्कालीन गभर्नर जनरल जोन केरसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे । (दी क्यानबेरा टाइम्स, ३० नोभेम्बर १९७४) 
२४ फेब्रुअरी १९७५ का दिन नयाँ राजा वीरेन्द्रको राज्याभिषेक समारोह तोकियो । संसारको एकमात्र हिन्दू अधिराज्य नेपाल र त्यसका एकमात्र हिन्दु राजाको राज्याभिषेक समारोहमा संसारभरका ७० भन्दा बढी मुलुकका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो । यसै क्रममा अस्ट्रेलियाका गभर्नर जनरललाई समेत आमन्त्रण गरिएको थियो । यसपटक राज्याभिषेक समारोहमा गभर्नर जनरल आफैँ उपस्थित थिए ।

२० फेब्रुअरीमा अस्ट्रेलियाबाट इन्डोनेसियाको बाली हुँदै नेपाल प्रस्थान गरेका अस्ट्रेलियन गभर्नर जनरल जोन केर सोही रात बालीमा बिताएर अर्को दिन २१ फेब्रुअरीमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए, बहालवाला अस्ट्रेलियन गभर्नर जनरल नेपाल आएको हालसम्म त्यो नै पहिलो र अन्तिम घटना हो ।

गभर्नर जनरललाई विमानस्थलमा स्वागत गर्न राजा वीरेन्द्र, प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, प्रधानन्यायाधीश रत्नबहादुर विष्ट, परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय पञ्‍चायतका अध्यक्ष नवराज सुवेदीसमेत उपस्थित थिए । २३ फेब्रुअरीमा उनको र राजाको भेटवार्ता भयो । २६ फेब्रुअरीमा फूलचोकीमा कोलम्बो प्लानअन्तर्गत निर्माणाधीन नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘फ्रिक्वेन्सी रिपिटर प्रोजेक्ट’को अवलोकन गर्न फूलचोकी पुगे । २७ फेब्रुअरीका दिन नेपाल भ्रमण अन्त्य गरी दक्षिण एसियाली अन्य मुलुकको भ्रमणका लागि उनी दिल्ली फर्किए । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९७५)

सन् १९७५ जुलाई महिनामा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र अधिराजकुमारी कोमलले निजी रूपमा दुई हप्ता लामो अस्ट्रेलिया भ्रमण गरे । उनीहरूका साथ शाही परिवारका सदस्य एवं ज्ञानेन्द्रका काका अधिराजकुमार हिमालयविक्रम र उनकी पत्‍नी प्रिन्सेप शाहसमेत थिए । उनीहरूका साथमा राजदूत यादवप्रसाद पन्त समेत सहभागी थिए । २८ जुलाईका दिन सिड्नीमा ओर्लिएका ज्ञानेन्द्रको टोलीको निजी भ्रमण भए पनि क्यानबेरामा उनीहरूले गभर्नर जनरलको आतिथ्य समेत प्राप्त गरे । ३ अगस्टमा गभर्मेन्ट हाउसमा तत्कालीन गभर्नर जनरल जोन केरसँग भेटवार्ता गरे, गभर्नरले उनीहरूको सम्मानमा भोजको आयोजनासमेत गरे । ज्ञानेन्द्रले दुई हप्ते भ्रमणका क्रममा दक्षिणी अस्ट्रेलियाका वन्यजन्तु आरक्षण केन्द्र, कृषि विश्‍वविद्यालयहरूलगायतको भ्रमण गरे । (दी क्यानबेरा टाइम्स, २८ जुलाई र ४ अगस्ट १९७५)

यादवप्रसाद पन्तको कार्यकाल सकिएपछि अस्ट्रेलियाका लागि नयाँ राजदूतमा योजना आयोगका उपाध्यक्ष रहिसकेका डा. बद्रीप्रसाद श्रेष्ठको नियुक्ति भयो । उनै राजदूत श्रेष्ठले सन् १९८१ को २ अप्रिलमा क्यानबेरामा रहेको गभर्मेन्ट हाउसमा पुगेर त्यहाँका तत्कालीन गभर्नर जनरल जेलमेन कोवेनसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे । (दी क्यानबेरा टाइम्स, ३ अप्रिल १९८१)

सन् १९८४ को अप्रिलमा अस्ट्रेलियाले नेपालमा आवासीय दूतावास स्थापना गर्यो । नेपालमा आवासीय दूतावास स्थापना गर्ने घोषणा सोही १४ मार्चमा तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनले गरेका थिए । हेडनले आगामी अप्रिलमा अस्ट्रेलियाले नेपालमा दूतावास स्थापना गर्ने बताएका थिए । उनले काठमाडौँमा दूतावास स्थापनाबाट अस्ट्रेलिया र नेपालबीच थप सौहार्द र घनिष्ठ सम्बन्ध कायम रहने, नेपाल भ्रमणमा जाने अस्ट्रेलियाली नागरिकको संख्यामा लगातार वृद्धि भइरहेकाले उनीहरूलाई कन्सुलर सेवा उपलब्ध गराउन त्यस्तै अस्ट्रेलियाले नेपाललाई उपलब्ध गराएको २.६ मिलियन अस्ट्रेलियन डलरको सहयोगको परिचालनमा प्रभावकारी साबित हुने विश्‍वास व्यक्त गरेका थिए ।

अप्रिलमा दूतावास स्थापना भइसकेपछि दिल्लीस्थित अस्ट्रेलियन राजदूत ग्राहम बर्टन फिक्सले सोही ३० नोभेम्बरमा नेपालका राजा वीरेन्द्रसमक्ष गैरआवासीय राजदूतका रूपमा ओहोदाको प्रमाणपत्र बुझाए । दिल्लीस्थित अस्ट्रेलियन राजदूतले दिल्लीबाट नै नेपाल हेर्ने गर्थे त्यस्तै नेपालमा खोलिएको दूतावासको जिम्मेवारी भने ‘चार्ज डे अफेयर्स’लाई सुम्पेको थियो । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९८४)

सन् १९८४ ताका आज जस्तो नेपालीहरू अस्ट्रेलिया जाने चलन थिएन । त्यतिबेला कोलम्बो प्लानअन्तर्गत मात्र नेपाली विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गर्थे । पर्यटनका रूपमा विकसित हुँदै गरेको नेपालमा भने त्यतिबेला बर्सेनि करिब ५ हजार अस्ट्रेलियन नागरिक नेपाल भ्रमणमा आउँथे । अस्ट्रेलियाले नेपालमा दूतावास खोल्नुभन्दा अघि नेपाल आउने अस्ट्रेलियन नागरिकहरूलाई नेपालस्थित ब्रिटिस दूतावासले कमलवेल्थ राष्ट्रको सदस्यका रूपमा उनीहरूलाई कन्सुलेर सेवा दिन्थ्यो । सन् १९८५ को मे महिनाको दोस्रो साता अस्ट्रेलियाका तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनले नेपालको दुई दिने भ्रमण गरे । 

अस्ट्रेलियाका बहालवाला परराष्ट्रमन्त्रीले गरेको पहिलो भ्रमण थियो त्यो । सोही वर्षको सेप्टेम्बर १-८ सम्म अस्ट्रेलियाका तत्कालीन गभर्नर जनरल निनियन स्टिफेनको निमन्त्रणामा नेपालका राजा वीरेन्द्रको साताव्यापी लामो राजकीय भ्रमण सम्पन्न भएको थियो । आफ्नो अस्ट्रेलियाको भ्रमण हुनुभन्दा ५० दिन पहिले मात्रै नारायणप्रसाद अर्जेललाई राजाले अस्ट्रेलियाको नयाँ राजदूतमा नियुक्त गरेका थिए । अर्जेलले सोही २१ अगस्टमा ओहोदाको प्रमाणपत्र पेस गरेका थिए, १ अगस्ट १९८५ मा काठमाडौँबाट नेपालले राजाको भ्रमण हुन लागेको जानकारी गराएको थियो । 

त्यस्तै उता अस्ट्रेलियाबाट ८ अगस्टमा अस्ट्रेलियन प्रधानमन्त्री कार्यालयले नेपालको राजाको भ्रमण हुने जानकारी गराएका थियो । राजा वीरेन्द्र अस्ट्रेलिया भ्रमणका लागि ३० अगस्टमा काठमाडौँबाट ब्रुनाई हुँदै त्यता प्रस्थान गरेका थिए । अस्ट्रेलिया उड्नुपूर्व राजाको शाही वक्तव्यमा अन्तर्राष्ट्रिय शान्ति र न्यायको क्षेत्रमा अस्ट्रेलियाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

१ सेप्टेम्बरमा पुगेका उनी त्यसको अर्को दिन २ सेप्टेम्बरमा राजधानी क्यानबेरा ओर्लिए । राजाको भ्रमण दलमा रानी ऐश्‍वर्य, अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी, कुमार खड्गविक्रम शाह, परराष्ट्रमन्त्री रणधीर सुब्बा, राजदरबारका सचिव नारायणप्रसाद श्रेष्ठ, राजाका संवाद सचिव चीरनशमशेर थापा, परराष्ट्र सचिव विश्‍व प्रधान, राजदूत नारायण प्रसाद अर्जेल र परराष्ट्रका विश्‍वेश्‍वरप्रसाद रिमाल थिए । त्यस दिन राजा गभर्नर जनरलको अतिथिका रूपमा गभर्नर हाउसमा रहे । अर्को दिन ३ सेप्टेम्बरमा प्रधानमन्त्री बब हाकसँग राजाको भेट भयो । सोही दिन बेलुकी राजाको सम्मानमा पार्लिमेन्टी डिनरको आयोजना गरियो ।

त्यहाँ प्रधानमन्त्री, मन्त्रिपरिषद्का अन्य सदस्यहरू, सांसदहरू, त्यहाँस्थित कूटनैतिक नियोगका पदाधिकारीसमेत उपस्थित थिए । राजालाई स्वागत गर्दै प्रधानमन्त्री बबले अस्ट्रेलिया–नेपाल सम्बन्ध, गोर्खाली सेनाले प्रथम विश्‍वयुद्धका समयमा अस्ट्रेलियालाई पुर्याएको मद्दत, अघिल्ला राजा महेन्द्रको अस्ट्रेलिया भ्रमण, अस्ट्रेलियाले नेपालमा स्थापना गरेको दूतावास, हालै मात्रै अस्ट्रेलियाका विदेश मन्त्रीको नेपाल भ्रमणसँगै नेपालमा अस्ट्रेलियाले उपलब्ध गराउँदै आएको सहयोगबारे चर्चा गरे । राजाले समेत आतिथ्यका लागि धन्यवाद व्यक्त गर्दै, नेपाल–अस्ट्रेलिया सम्बन्ध, अस्ट्रेलियाली सहयोगका लागि कृतज्ञता व्यक्त गरे । एक साता अस्ट्रेलियामा रहँदा राजा सिड्नी, क्यानबेरा, ब्रिस्बेन र मेलबर्न लगायतका क्षेत्रको भ्रमण गरे । (दी क्यानबेरा टाइम्स, २-४ सेप्टेम्बर १९८५)

राजा वीरेन्द्रको सोही अस्ट्रेलिया भ्रमणसँग नेपाल टेलिभिजन प्रसारणको इतिहाससमेत जोडिएको छ । सन् १९८५ जनवरी ३० मा नेपाल टेलिभिजन स्थापना भएको थियो । सोही १३ अगस्टमा टेलिभिजनले पहिलोपटक परीक्षण प्रसारण सुरु गरेको थियो । त्यतिन्जेलसम्म पनि नेपालमा नेपाल टेलिभिजनको प्रसारण सम्भव हुने–नहुने भन्ने अन्योल कायमै थियो । तर राजा वीरेन्द्रको अस्ट्रेलिया भ्रमणको क्रममा खिचेको भिडियो स्याटालाइटमार्फत काठमाडौँमा प्रसारण गरिएपछि भने नेपाल टेलिभिजन प्रसारणले साकार रूप लियो । 

२ सेप्टेम्बरमा राजा क्यानबेरामा जहाजबाट ओर्लिएर अस्ट्रेलियाली प्रधानमन्त्री बब हाकले स्वागत गरेको त्यस्तै त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग हात मिलाइएको आधा घण्टा लामो भिडियो खिचिएको थियो । काठमाडौँको बलम्बूस्थित स्याटालाइटले रिसिभ गरेपछि काठमाडौँमा वसन्तपुर, गौशाला र रत्‍नपार्क क्षेत्रमा प्रसारण गरिएको थियो, भिडियो खिच्न टेलिभिजनका निर्देशक नीर शाह, पत्रकार दुर्गानाथ शर्मा र क्यामेरामेन श्याम चित्रकार सरकारी टोलीमा नसमेटिए पनि टेलिभिजनमा त्यो दृश्य देखाउने योजनासाथ अस्ट्रेलिया पुगेका थिए । (दी क्यानबेरा टाइम्स ३ सेप्टेम्बर १९८५)

सन् १९८४ मा नेपालमा स्थापना भएको अस्ट्रेलियाली दूतावास त्यसको दुई वर्षपछि सन् १९८६ मा राजदूत स्तरमा स्तरोन्नति गरियो । १९८६ को ४ मेमा त्यहाँका तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनले नेपालस्थित अस्ट्रेलियाली दूतावासका लागि पहिलो आवासीय राजदूत डायान जोन्स्टनलाई नियुक्त गरिएको जानकारी गराए । साथै उनले नेपाल–अस्ट्रेलिया लामो सम्बन्धमा काठमाडौँमा अस्ट्रेलियाली राजदूतको नियुक्तिबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ हुने विश्‍वास व्यक्त गरे । नेपालका लागि नवनियुक्त अस्ट्रेलियाली राजदूत डायन अस्ट्रेलियाकी छैटौँ महिला राजदूत थिइन् । पहिलो आवासीय राजदूत डायान जोन्स्टन जसले १८ जुलाई १९८६ मा नेपालका राजा वीरेन्द्रसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरिन् । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९८६)

नेपालका तर्फबाट भने अस्ट्रेलियाको क्यानबेरामा मार्च २००७ मा मात्र नेपाली दूतावास स्थापना भएको हो, जसको औपचारिक उद्घाटन सोही सेप्टेम्बर महिनामा भएको थियो । अस्ट्रेलियाका लागि पहिलो नेपाली आवासीय राजदूत भने योगेन्द्र ढकाल हुन् । नेपाल र अस्ट्रेलियाले सन् २०१० मा सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ त्यस्तै सन् २०२० मा ६० औँ वर्षगाँठ मनाएका थिए । सन् २०१६ नोभेम्बरमा नेपालका तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको अस्ट्रेलिया भ्रमण सम्पन्‍न भएको थियो । सोही भ्रमणका क्रममा उनका समकक्षी अस्ट्रेलियन परराष्ट्रमन्त्रीसँग भेटर्वार्ता भएको थियो । सम्बन्ध स्थापनाको पछिल्लो ६१ वर्षमा दुवै मुलुकका तर्फबाट हालसम्म प्रधानमन्त्री स्तरमा औपचारिक भ्रमण भने हुन सकेको छैन ।

अस्ट्रेलियाले विभिन्‍न क्षेत्रमा नेपालको विकासमा सहयोग पुर्याइरहेको छ, नेपालमा सन् १९८५ मा आएको भूकम्प होस् या सन् २०१५ मा आएको अर्को विनाशकारी भूकम्प होस् ती दुवैमा अस्ट्रेलियाले नेपाललाई महत्वपूर्ण सहायता उपलब्ध गराएको छ । त्यस्तै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने मुलुकमध्ये अस्ट्रेलिया दसौँ स्थानमा छ । अस्ट्रेलियाली नागरिकहरू ठूलो संख्यामा बर्सेनि रूपमा नेपाल भ्रमणमा आउने गर्छन् । पछिल्ला दशकमा अध्ययनका लागि अस्ट्रेलिया पुग्‍ने नेपाली विद्यार्थीहरूको संख्यामा वृद्धि भएसँगै अस्ट्रेलियामा नेपाली समुदायको उपस्थितिसमेत बढ्दै गएको छ ।

र अन्त्यमा, 
नेपालका लागि नवनियुक्त अस्ट्रेलियन राजदूत फेलिसिटी भल्कले हिजो १५ फेब्रुअरीमा नेपाल–अस्ट्रेलिया सम्बन्ध ६१औँ वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी छिन् । परराष्ट्रले संयोगका रुपमा यो अवसर जुरेको बताए पनि सम्बन्धमा ख्याल गरेको भन्‍ने सकारात्मक सन्देश पनि गएको छ ।

२०७७ फागुन ४ मा इकागज अनलाइनमा प्रकाशित सामाग्री।



 

राजा त्रिभुवनलाई अमेरिकाले भिसा नदिनुको वास्तविकता


राजा त्रिभुवन सन् १९५३ र १९५४ मा गरी दुई पटक उपचारका लागि युरोप पुगेका थिए । पछिल्लो पटकको उपचारका क्रममा जुरिचमा उनको निधन भएको थियो । पछिल्लोपटक युरोप यात्राबाट उनी अमेरिका जाने योजनामा थिए । अमेरिकामा सन् १९५२ मा जारी भएको अध्यागमन कानुनअनुसार बहुपति वा बहुपत्नी रहेकालाई अमेरिकाले भिसा नदिने व्यवस्था गरेको थियो ।

राजाका दुई रानी रहेकाले अमेरिकाले अध्यागमन कानुनअनुसार राजालाई भिसा नदिएकाले उनी अमेरिका जान नपाएको भन्‍ने बताइन्‍छ । त्यतिबेला अन्तर्राष्ट्रिय अखबारमा त्यसबारे प्रशस्त समाचार छापिएको पाइन्‍छ । उनलाई अमेरिकाले भिसा नदिनु र उनी अमेरिका नजानुको वास्तविकता के थियो भन्‍नेमा त्यतिबेला प्रकाशित अखबारका आधारमा यो लेख तयार गरिएको छ । त्यस्तै, तत्कालीन परिस्थितिको नेपालको राजनीतिक अवस्था, राजाका दुवै युरोप भ्रमण र निधनबारे समेत संक्षिप्त रूपमा यसमा चर्चा गरिएको छ ।

युरोप जानुपूर्व भारतमा उनको उपचार यात्रा 
नेपालको शाहवंशीय राजतन्त्रको इतिहासमा सबैभन्दा लामो समय झन्डै साढे चार दशक अवधिसम्म नेपालका राजा रहेका महाराजाधिराज त्रिभुवन समुद्र पार गरेर युरोपको यात्रा गर्ने नेपालका प्रथम राजा हुन् । उनले सन् १९४४ को अन्त्यतिर जुध्दशमशेरको शासनकालमा जुध्दका छोरा बहादुरशमशेरको कडा निगरानीमा पहिलो पटक नेपालभन्दा बाहिर उपनिवेशकालीन भारतको भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए । पहिलो भारत यात्राको करिब दुई वर्षपछि पद्‌मशमशेरका पालामा राजालाई छातीमा समस्या देखिएपछि उपचारका लागि आफ्‍ना दुई छोरा अधिराजकुमार हिमालय र वसुन्धराका साथ १९४६ डिसेम्बरमा एक महिनाका लागि पुनः कलकत्ता गएका थिए ।

राणा शासनविरुध्द २००७ सालको आन्दोलन चल्दै गर्दा उनले ६ नोभेम्बरमा पहिले काठमाडौंस्थित भारतीय दूतावासमा शरण लिएका थिए । त्यस्तै ११ नोभेम्बरमा उनी भारत निर्वासनमा गएका थिए । त्यतिबेला (११ नोभेम्बर १९५०-१५ फेब्रुअरी १९५१) सम्म करिब चार महिना उनी दिल्लीमा बसेका थिए । २००७ सालको नेपाली क्रान्ति भारतको मध्यस्थतामा सम्झौतामा टुंगिएपछि उनी काठमाडौं फर्किएका थिए । त्यसको केही महिनापछि नै राजाको छातीमा पुनः समस्या देखिन थालिसकेको थियो ।

राणा-कांग्रेस संयुक्त सरकारको विघटनपछि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै उनी उपचारका लागि भारत गएका थिए । मन्त्री महावीरशमशेरका साथ बम्बईमा रहेका छाती रोग विशेषज्ञ अस्ट्रेलियन डाक्टरसँग उनले आफ्‍नो छातीको चेकजाँच गराएका थिए । १९५१ डिसेम्बर अन्त्यमा उनी बम्बईको ताज होटेलमा रहेर तीन दिनसम्म डाक्टरसँग उपचार गराएका थिए । (दी इन्डियन एक्सप्रेस, २९ डिसेम्बर १९५१)

त्यति बेलैबाट सुरु भएको राजाको साधारण उपचार त्यसको करिब डेढ वर्ष सन् १९५३ को मध्यसम्म कलकत्ता र बम्बईमा निरन्तर रूपमा चलिरह्यो । सोही जुन पहिलो साता राजाका फिजिसियन डाक्टरले तनावका कारण यस्तो भएको हुन सक्ने भन्दै राजालाई दुई-तीन महिनासम्म पूर्ण रूपमा आराम गरेमा मात्र स्वास्थ्यलाभ मिल्ने सुझाव दिएका थिए । (दी इन्डियन एक्सप्रेस, ८ जुन १९५३)

संयोग पनि हुन सक्छ, डाक्टरले त्यसो भनेको एक सातापछि राजाले पछिल्लो १० महिनायता आफ्नै प्रत्यक्ष शासनअन्तर्गत गठन गरेको शाही परामर्श दातृ सरकार विघटन गर्दै मातृकाप्रसाद कोइरालालाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरे । (दी इन्डियन एक्सप्रेस, १६ जुन १९५३)

डाक्टरको सुझावअनुसार प्रत्यक्ष शासन छोडेर दुई-तीन महिना आराम गर्दा समेत उनलाई स्वास्थ्य लाभ मिलेन । त्यतिबेला राम्रो स्वास्थ्य सेवा पाइने भारतका कलकत्ता र बम्बईजस्ता सहर थिए । त्यहाँ निरन्तर उपचार गर्दासमेत उनको स्वास्थ्यमा सुधार आएन र मुटुमा समस्या देखिन थालेपछि डाक्टरहरूले राजालाई थप उपचारका लागि युरोप जान सुझाव दिए ।

सोही सेप्टेम्बर महिनामा हृदयघात भएपछि दुई हप्तासम्म उनी कलकत्तामा रहेर उपचार गराए । त्यस्तै त्यहीँबाट सोही ११ अक्टोबरमा बम्बईबाट उपचारका लागि युरोप जाने कार्यक्रमसमेत तय गरे । यता १७ सेप्टेम्बरमा उनी कलकत्ताबाट नेपाल फर्किए । आफ्‍नो अनुपस्थितिमा काम गर्न तीन सदस्यीय राजकीय परिषद्को गठन गरे । भारतका डाक्टरहरूले त्यतिबेला राजालाई हवाई उडान नगर्न कलकत्ताबाट रेल यात्रा गरी बम्बई जान र त्यहाँबाट पानीजहाजमा विदेश जान सुझाव दिएका थिए । (दी इन्डियन एक्सप्रेस, १८ सेप्टेम्बर, १९५३)

राजा त्रिभुवन पछिल्लो केही समयदेखि बिमारी रहेको र उपचारका लागि केही समय विदेशमा रहनुपर्ने भएकाले, राष्ट्राध्यक्ष राजा मुलुकबाहिर रहुन्जेल मुलुकको दैनिक कामकाज नरोकियोस् भन्‍नका लागि एउटा राजकीय परिषद् गठन गर्नुपर्ने आवश्यकताअनुसार परिषद् गठन गरेको जनाइएको थियो । तीन सदस्यीय राज्य परिषद्‍मा जेठी र कान्‍छी बडामहारानीहरू क्रमशः कान्ति राज्यलक्ष्मी देवी र ईश्वरी राज्यलक्ष्मी देवी त्यस्तै युवराज महेन्द्र वीरविक्रमलाई राखिएको थियो । (नेपाल गजेट, २० सेप्टेम्बर, १९५३)

त्यतिबेलाको अवस्था कस्तो थियो भने उपचारका लागि राजा युरोप जाने कार्यक्रम भारतबाट नै मिलाइएको हुन्थ्यो । राजाको उपचार र यात्राबारे नेपालभन्दा भारत बढी जानकार हुन्थ्यो । नेपालमा त्यसबारे सार्वजनिक जानकारी हुँदैनथ्यो । राजा उपचारका लागि विदेश जाँदैछन् भन्‍ने समाचार पहिले भारतबाट भारतीय प्रेसमा छापिएपछि मात्र त्यही खबरबाट यता नेपालमा जानकारी हुन्थ्यो । नेपालका अखबारले समेत त्यही खबरलाई आधार मानेर यहाँ काठमाडौंमा समाचार सम्प्रेषण गर्थे । (समाज दैनिक, ११ सेप्टेम्बर, १९५४)

राजाको पहिलो युरोप उपचार यात्रा 
२१ सेप्टेम्बरमा राजा युरोपका लागि भन्दै काठमाडौंबाट कलकत्ता उडे । कलकत्ताबाट रेल यात्रा गरी राजा २९ सेप्टेम्बरमा बम्बई पुगे । त्यतिबेला बिमारी अवस्थाका कारण अब राजा त्रिभुवनले सत्ता त्याग गर्छन् र उनका छोरा युवराज महेन्द्र नयाँ राजा हुन सक्छन् भन्‍ने चर्चा समेत चलेको रहेछ । तर पछि नेपालमा राजाको अनुपस्थितिमा कार्य सञ्चालन गर्न राजकीय परिषद् गठन गरिसकेको हुनाले त्रिभुवनले अब गद्दी त्याग गर्दैनन् भनी त्यतिबेलाका सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए । (इन्डियन डेली मेल, २ अक्टोबर, १९५३)

त्यसो त राजा त्रिभुवन उपचारका लागि मुलुकबाहिर गएसँगै अब उनले गद्दी त्याग गरेका हुन् । अब उनी युरोप वा भारततिरै रहन्‍छन् र नेपाल फर्किंदैनन् भन्‍ने हल्ला उनी फर्किएर नआउँदासम्म काठमाडौंमा व्यापक थियो भन्‍ने व्यहोराको सूचना अमेरिकी खुफिया एजेन्सी सीआईएले समेत राखेको रहेछ । यस्तो हल्ला दुई थरीले चलाएका होलान् भन्‍ने अनुमान गर्न सकिन्‍छ । एकथरी जसले त्रिभुवन रहिरहेसम्म मातृकाप्रसादबाहेक आफूहरूलाई सरकार बनाउन दिँदैनन् भन्‍ने राजनीतिक दल पक्षधर । अर्कोथरी तत्कालीन युवराज महेन्द्र पक्षधर । आफूलाई सहज सत्ता नदिएर भाइहरूलाई दिन्‍छन् भन्‍ने आशंकाले यस्तो हल्ला तत्कालीन युवराज महेन्द्रले समेत चलाएको हुन सक्ने अनुमान गर्न सकिन्‍छ किनकि त्यसको सबैभन्दा बढी तात्कालिक लाभ उनलाई नै थियो ।

बम्बईमा राजासँग बिदाइ भेट गर्न १० अक्टोबरमा नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालादेखि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुसम्म पुगेका थिए । नेहरुले त्यहाँको एम्ब्यासडर होटेलमा संयुक्त रूपमा नेपालका राजा त्रिभुवन र प्रधानमन्त्री नेहरुलाई भेटेका थिए । त्यस्तै नेपालका राजा, प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीलाई बम्बईका तत्कालीन मुख्यमन्त्री मोरारजी देसाईले आतिथ्य प्रदान गरेका थिए । (दी इन्डियन एक्सप्रेस, ११ अक्टोबर, १९५३)

आफ्‍नो पूर्वनिधारित कार्यक्रमअनुसार उपचारका लागि युरोप प्रस्थान गर्नुपूर्व राजा त्रिभुवनले विज्ञप्ति जारी गरेका थिए । जसमा उनले नेपालका विभिन्‍न राजनीतिक दलका नेताहरूलाई दोषारोपणमा नलागी मिलेर काम गर्न आह्वान गरेका थिए । राजा आफू आफ्‍नो जरुरी स्वास्थ्य उपचारका लागि विदेश जान लागेको बताएका थिए । उनले आफू जति सक्दो चाँडो उपचार सकेर ठीक भएर नेपाल फर्किने विश्वाससमेत व्यक्त गरेका थिए । साथै उनले आफ्‍नो अनुपस्थितिमा नेपाली सेना, कर्मचारीलगायत अन्य सबै सरोकारवाला निकायहरूलाई प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र नेपाल सरकारलाई सहयोग गर्न आग्रहसमेत गरेका थिए ।

बम्बईमा राजालाई बिदाइ गर्न भारतस्थित नेपाली राजदूत लेफ्टिनेन्ट जर्नेल विजय शमशेर जबरासमेत उपस्थित भएका थिए । तर विडम्बना राजा फर्किएर नेपाल नआउँदै सोही २९ डिसेम्बरमा राजदूत विजयशमशेरको निधन भयो । राजाका साथमा उनका भिनाजु राणाकालीन क. ज. एवं उनले गठन गरेको शाही परामर्शदातृ सरकारका सदस्य केशरशमशेर जबरा, उनका कान्‍छा छोरा अधिराजकुमार वसुन्धरा वीरविक्रम, सैनिक सचिव योगविक्रम राणालगायतका नेपाली अधिकारी थिए । यसरी राजा ११ अक्टोबरका दिन बम्बईबाट इटालियन जल परिवहन लोइड ट्राइएस्टोलनको एसएस भिक्टोरिया १११ नामक पानीजहाजमा चढेर स्विट्जरल्यान्डका लागि इटालीको जेनोवा हुँदै त्यसतर्फ प्रस्थान गरेका थिए । (दी इन्डियन एक्सप्रेस, १२ अक्टोबर, १९५३)

भारतको बम्बईदेखि इटालीको जेवनासम्मको पानीजहाजको यात्रामा नै राजालाई मुटुमा पुनः समस्या देखिएको थियो । बम्बईबाट प्रस्थान गरेको १३ दिनपछि २३ अक्टोबरका दिन राजा इटाली पुगेका थिए । इटालीमा राजा पुग्दा उनले यात्रा गरेको इटालियन जल परिवहनले नेपालका राजा त्रिभुवन टी शाहको नाममा यात्रा गरी त्यहाँ आइपुगेको जानकारी गराएको थियो । (इन्डियन डेली मेल, २४ अक्टोबर १९५३)

त्यहाँ पुग्‍नासाथ सोही रात तुरुन्त उनलाई त्यहाँको नेपोल्स सहरमा रहेको ‘इन्टरनेसनल हस्पिटल’मा भर्ना गरिएको थियो । उनको मुटुको समस्या र आन्द्राभुँडीसम्बन्धी आन्तरिक समस्याको आशंकामा अस्पताल पुर्‍याइएको भनिएको थियो । राजाको स्वास्थ्यको चेक जाँचपछि उक्त अस्पतालका निर्देशक रहेका स्विस प्राध्यापक डाक्टर पउल बर्काडले अन्य अस्पतालका परामर्शदाता डाक्टरहरूसँग समेतको छलफलपछि राजामा त्यतिबेला निकै गम्भीर समस्या नदेखिएको बताएका थिए । अस्पतालले स्वास्थ्य बुलेटिन नै जारी गरेर राजाको स्वास्थ्य अवस्था सामान्य र सन्तोषजनक रहेको जनाएको थियो । निर्देशक पउलले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार राजालाई पानीजहाजमा साधारण खालको हृदयघात भएको थियो । राजालाई यस्तो समस्या पहिले पनि देखिएकाले तत्काल यात्रा नगर्न सुझाव दिँदै पउलले हालको अवस्था भने सामान्य रहेको जानकारी गराएका थिए । साथै पउलले समुद्रको यात्रा गरेका कारणले समुद्री बिमारीका कारणसमेत त्यस्तो भएको हुन सक्ने बताएका थिए । (दी इन्डियन एक्सप्रेस, २५ अक्टोबर, १९५३)

२७ अक्टोबरका दिनयता भारतको दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गरी इटालीको इन्टरनेसनल हस्पिटलमा उपचाररत राजा खतरामुक्त रहेको बताउँदै दिँदै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएको थियो । (इन्डियन डेली मेल, २४ अक्टोबर, १९५३)

नेपोल्सस्थित इन्टरनेसनल हस्पिटलमा करिब एक साताको उपचार पछि ३० अक्टोबरका दिन राजालाई यात्राको अनुमति प्रदान गरी अस्पतालले डिस्चार्ज गरेकोको थियो । डिस्चार्जपछि सोही दिन राजा थप उपचारका लागि रेलद्वारा स्विट्‌रल्यान्डतर्फ प्रस्थान गरेका थिए । (इभिनिङ स्टार, ३० अक्टोबर १९५३) इटालीबाट करिब सवा चार सय किलोमिटरको रेल यात्रा गरेर राजा स्विट्जरल्यान्डको जुरिच पुगेका थिए । उनी त्यहाँ पुग्नासाथ त्यहाँको कुनै सुविधा सम्पन्‍न महँगो अस्पतालमा उपचार गर्ने जनाइएको थियो । (इन्डियन डेली मेल, २ नोभेम्बर, १९५३)

राजा त्यहाँ पुगेपछि उनी जुरिचस्थित क्यान्टन्स अस्पतालमा भर्ना भएका थिए । उनको उपचारमा उक्त अस्पतालका निर्देशकसमेत रहेका प्रसिध्द मुटुरोग विशेषज्ञ प्राध्यापक डा. विल्हेम लोफ्लर संलग्न थिए । त्यस्तै उनलाई त्यहाँ डाक्टरहरूले निरन्तर निगरानीमा राखेर उपचार गरिरहेका थिए । (रिडिङ इगल ११, नोभेम्बर, १९५४)

त्यतिबेला राजा युरोपका फ्रान्स, इटाली र स्विट्जरल्यान्ड गरी तीनवटा मुलुकमा रहे । जसमध्ये फ्रान्ससँग सन् १९४९ मा नै नेपालको कूटनैतिक सम्बन्ध स्थापना भइसकेको थियो । इटाली र स्विट्जरल्यान्डसँग नेपालको औपचारिक कूटनैतिक सम्बन्ध स्थापना भई नसकेको भए पनि ती मुलुकसँग नेपालको पुरानै सम्बन्ध थियो । सन् १९३३ मा इटालीका राजाका तर्फबाट नेपालका तत्कालीन प्रधानमन्त्री महाराज जुध्दशमशेरलाई त्यहाँको सर्वोच्च सम्मानको पदक प्राप्त भएको थियो । त्यस्तै नेपालका तर्फबाट भने अर्को वर्ष १९३४ मा इटालीका राजालाई नेपालको सर्वोच्च सम्मान प्रदान गरेका थिए । स्विट्जरल्यान्डबाट राणाकालमा नै नेपालको खनिजबारे सर्वे गर्न एक स्विस टोली नेपाल आएको थियो । हाम्रो नेपालका दूतावास ती मुलुकमा थिएनन् । त्यहाँ भारतीय दूतावासले राजालाई आवश्यक सहयोग उपलब्ध गराएको थियो ।

भारतका प्रशासक, कूटनीतिज्ञ एवं कानुनविद् बेनेगल नरसिंह राउको महत्वपूर्ण भूमिका भारतको संविधान लेखनमा रहेको थियो । उनै राउको ३० नोभेम्बर १९५३ मा जुरिचमा निधन भयो । अर्को दिन जुरिचमा तिनको अन्तिम संस्कारमा नेपालका राजाका प्रतिनिधिका रूपमा राजासँग जुरिचमा रहेका जनरल केशरशमशेर सहभागी भएका थिए । (दी इन्डियन एक्सप्रेस, २, डिसेम्बर १९५३)

जुरिचबाट इटालीको रोम हुँदै सोही ७ डिसेम्बरका दिन उनी फ्रान्सको पेरिस पुगेका थिए । पेरिसमा भने राजालाई फ्रान्सका तत्कालीन राष्ट्रपति भान्सिन्ट ओरियलले नै आतिथ्य प्रदान गरेका थिए । पेरिस पुगेको दुई दिनपछि नेपालका राजालाई फ्रान्सेली राष्ट्रपति भवनमा नै निम्त्याएर त्यहाँका राष्ट्रपतिले राजाको सम्मानमा दिवाभोजको आयोजनासमेत गरेका थिए । (कोभेन्ट्री इभिनिङ टेलिग्राफ, ९ डिसेम्बर १९५३)

सोही समारोहमा फ्रान्सका राष्ट्रपति ओरियलले नेपालका राजा त्रिभुवनलाई फ्रान्सको सर्वोच्च सम्मान ‘ग्रान्ड काय डला लिजियोड्नेयर पदक’को तक्मासमेत प्रदान गरेका थिए । राजा पेरिसमा रहँदा त्यहाँ फ्रान्सस्थित तत्कालीन भारतीय राजदूत सरदार हरदत सिंह मलिकले राजासँग भेट गरी १० डिसेम्बर १९५३ मा भारतका प्रधानमन्त्री नेहरुलाई राजाको स्वास्थ्य अवस्थाको जानकारीसहितको पत्र पठाएका थिए । त्यो प्राप्त गरेपछि नेहरुले फ्रान्समा राजालाई टेलिग्राम पठाएर राजाको स्वास्थ्य अवस्थामा भइरहेको सुधारप्रति खुसी व्यक्त गर्दै राजाले केही समय दक्षिणी फ्रान्समा आराम गर्दा पूर्ण रूपमा ठीक हुनेमा आफ्‍नो विश्वास व्यक्त गरेका थिए । नेहरुले राजालाई नेपालमा सन्तोषजनक अवस्था नरहेकाले डाक्टरहरूले अनुमति दिनासाथ जति सक्यो चाँडो फर्किएर आउन आग्रह गरेका थिए । (सेलेक्टेड वक्र्स अफ जवाहरलाल नेहरु, दोस्रो संस्करणको २४औं खण्ड)

पेरिसमा केही हप्ता बसेर राजा १९ डिसेम्बरमा फ्रान्सको अर्को क्षेत्र निस पुगेका थिए । युरोप जाँदा पानीजहाजमा गएको र समुद्री यात्रा गर्दा स्वास्थ्यमा झन् अप्ठ्यारो परेपछि यसपटक फर्किंदा भने राजा हवाईजहाजमार्फत फर्किन चाहे । निसमा केही दिन बसेपछि उनी नेपाल फर्किंदा निसबाट पहिले इजिप्टको कायरोमा अवतरण गरे । कायरोमा उनलाई इजिप्टका तत्कालीन राष्ट्रपति मोहम्मद नागुइबले स्वागत गर्दै आतिथ्य प्रदान गरे । यसरी उनी युरोपमा ११ हप्ता रहेर कायरो हुँदै एअर इन्डिया इन्टरनेसनलको विमानबाट ५ जनवरीको बेलुकी भारतको बम्बईमा ओर्लिए । बम्बईमा राजालाई स्वागत गर्न प्रधानमन्त्री मातृकाप्रसाद कोइराला स्वयं बम्बई पुगेका थिए । (दी इन्डियन एक्सप्रेस, ५ र ७ जनवरी १९५४)

बम्बईबाट कलकत्ता हुँदै उनी सोझै काठमाडौं फर्किए । केही महिना काठमाडौंमा रहेपछि राजा १९५४ अप्रिल २९ मा योजना तथा विकासमन्त्री महावीरशमशेरका साथ दिल्ली पुगे । सोही जनवरीमा युरोपबाट फर्किएपछिको उनको पहिलो भारत यात्रा थियो, त्यो । राजा त्रिभुवन दिल्लीमा ओर्लिंदा भारतका प्रधानमन्त्री नेहरु भने श्रीलंकाको भ्रमणमा थिए । उनलाई पालम हवाईअड्डामा भारतीय राष्ट्रपतिका सैनिक सचिव मे.ज. चटर्जी र विदेश मन्त्रालयका शिष्टाचार महापाल आ.ई.एस. चोपडाले स्वागत गरेका थिए ।

दिल्लीमा उनले दिवंगत राजदूत विजयशमशेरकी पत्नी सरलाकुमारीसँग समेत भेट गरी विजयप्रति श्रध्दाञ्जली एवं पत्नीप्रति सान्त्वना व्यक्त गरे । साताव्यापी उनको त्यस दिल्ली यात्रालाई उपचारका लागि भनिएको भए पनि दिल्ली पुगेपछि राजनीतिक चर्चा हुनु सामान्य नै थियो । अघिल्लो वर्षदेखि नै भारतले सन् १९५० को सन्धिको हवाला दिएर नेपालको परराष्ट्र मामिला भारतसँगको सहकार्यमा हुनुपर्छ भनेर नेपालमाथि दबाब बढाइरहेको थियो । नेहरुसँगको राजाको भेटमा पुनः त्यही चर्चा चल्न सक्ने विश्लेषण त्यतिबेलाका मिडियाले गरेका थिए । भारतको त्यस्तो प्रस्तावलाई नेपालका राजा एवं प्रधानमन्त्री कसैले पनि स्वीकार गरेनन् । त्रिभुवनकालसम्म भारतका तर्फबाट अगाडि सारिरहने त्यो योजना महेन्द्रको शासनकालसम्म आइपुग्दा भने तुहिएर गयो । (दी इन्डियन एक्सप्रेस, १ मे, १९५४)

सन् १९५४ को जुन पहिलो साता राजालाई फेरि हृदयाघात भयो । सोही महिनाको अन्त्यमा राजाले आफ्‍नो ४८औं जन्मदिन मनाउँदा उनलाई पछिल्लो हृदयाघातबाट केही आराम मिलेको भए पनि उनी अस्वस्थ नै थिए । उनको ४८औं जन्मदिनको उपलक्ष्यमा मुलुकभरका मन्दिर, गुम्बालगायतमा राजाको स्वास्थ्यलाभको कामनासहितको पूजापाठ एवं जप गरिएको थियो । (दी स्पोक्समेन रिभ्यु, १० जुलाई, १९५४)

राजाको दोस्रो युरोप उपचार यात्रा 
राजा उपचारका लागि पुनः स्विट्जरल्यान्डको जुरिच जाने योजनाका साथ सोही अक्टोबर पहिलो साता कलकत्तातर्फ प्रस्थान गरे । राजाले यसपटक समेत आफूले मुलुक छोड्नुपूर्व आफ्‍नो अनुपस्थितिमा दैनिक कामकारबाही नरोकियोस् भनी त्यसअघिको जस्तै राजकीय परिषद्को गठन गरे । तर त्यसअघि झैँ त्यसमा आफ्‍ना दुवै बडामहारानीहरूलाई नराखी तीन जना छोराहरू क्रमशः महेन्द्र, हिमालय र बसुन्धरालाई राखेर तीन सदस्यीय परिषद् गठन गरे । राजकीय परिषद्को छाप युवराज महेन्द्रसँगै थियो । त्यस्तै कुनै पनि निर्णय लिन दुईजनाको बहुमत हुनुपर्छ भन्‍ने थियो । परिषद्ले गर्ने काम प्रधानमन्त्रीको सहमतिमा गर्ने, त्यस्तै मन्त्रीहरू थप्‍न-हटाउन अधिकार दिइएको भए पनि वैदेशिक मामिलाबारे कुनै अधिकार थिएन । (नेपाल गजेट, १ अक्टोबर, १९५४) त्यतिबेला राजा मुलुकमा नभएकाले पनि चीनसँग सम्बन्ध स्थापना गर्न ढिलाइ भएको हो भन्‍ने बुझिन्‍छ ।

राजाको सवारी चलाउन उनका साथमा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासमेत भारत गएका थिए त्यस्तै राजाको साथमा यसपटक उनका दुवै बडामहारानीहरूसमेत थिए । सोही १५ अक्टोबरमा कलकत्तामा नेपालका राजा र प्रधानमन्त्रीसँग भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा भेटवार्ता गरे । राजालाई एकथरीले उपचारका लागि अमेरिका जान सुझाव दिएका थिए तर पहिले जुरिच जाने र त्यहीँका डाक्टरको थप सल्लाहमा मात्र अगाडि बढ्ने भन्‍ने थियो । अमेरिका बारेको सबै घटनाक्रम यसै आलेखमा अगाडि चर्चा गरिनेछ ।

अघिल्लो पटक पानीजहाजमा जाँदा समस्या परेकाले राजाले पानीजहाज प्रयोग गर्न छोडिसकेका थिए । सन् १९५४ को ३० अक्टोबरमा राजा आफ्‍ना दुबै बडामहारानीहरू, कान्‍छा छोरा वसुन्धरा, सैनिक सचिव योगविक्रम राणालगायतका अन्य सहयोगीहरूका साथ बम्बईबाट एअर इन्डिया इन्टरनेसनलको विमानमा दोस्रोपटक युरोपका लागि कायरोतर्फ प्रस्थान गरे । समाचारमा उल्लेख गरिएअनुसार रनवेमा रहेको विमानसम्म राजाको झोलालगायतका सामग्रीका साथ दुई अक्सिजन सिलिन्डरसमेत छोड्नका लागि गाडी पुगेका थियो । (इन्डियन डेली मेल, ७ नोभेम्बर, १९५४)

राजा बम्बईबाट, कायरो त्यहाँबाट इटालीको रोम त्यस्तै रोमबाट ६ नोभेम्बरमा हवाईयात्रा गरेर स्विट्जरल्यान्डको जुरिच पुगेका थिए । त्यहाँ नेपालको दूतावास नरहेकाले भारतीय दूतावासका अधिकारीहरू आफैँ विमानस्थल पुगेर रनवेबाट राजालाई सीधा डाउनटाउन होटेलसम्म पुर्‍याएका थिए । त्यहाँस्थित भारतीय दूतावासका प्रवक्ताले नै राजा कलेजो र मुटुको रोगको उपचारका लागि जुरिच आइपुगेको जानकारी गराए । त्यसो त अक्टोबर पहिलो साता राजा भारत पुगेलगत्तै उनी उपचारका लागि अमेरिका जाने चर्चा सुरु भइसकेको थियो ।

प्रवक्तासँग त्यसबारे जानकारी खोज्दा आफूलाई त्यसबारे जानकारी नभएको बताए । सञ्चारकर्मीले राजाको टोलीसँग प्रतिक्रिया लिन खोज्दा टोलीका कुनै पनि सदस्यले कुनै जानकारी दिएनन् । (इभिनिङ स्टार, ७ नोभेम्बर, १९५४) राजा जुरिच पुगेको अर्को दिन ७ नोभेम्बरमा अघिल्लो वर्ष उपचार गरेको क्यान्टन्स अस्पतालमा भर्ना गरिएको थियो । (दी क्यालेग्री हेराल्ड, ८ नोभेम्बर, १९५४)

त्यतिबेला भारत र बेलायतमा गरी दुईवटा मुलुकमा नेपालको राजदूतावास त्यस्तै बर्मा र तिब्बतमा गरी दुईवटा मुलुकमा कन्सुलेट जनरल कार्यालय मात्र थियो । फ्रान्स र अमेरिकाको समेत जिम्मेवारी हेर्ने गरी लन्डनमा भएको राजदूतावास त्यतिबेला राजदूतविहीन थियो । राणाकालमा नै नियुक्त भएका शंकरशमशेर जबरालाई राजाले नेपाल छोड्नुपूर्व नै सरकारविरुध्द विज्ञप्ति जारी गरेकाले पाँच वर्षे कार्यकाल सकिएको भन्दै सोही सेप्टेम्बर पहिलो साता फिर्ता बोलाइएको थियो । (समाज दैनिक, १६ सेप्टेम्बर, १९५४) २००७ सालको समयमा राणाले घोषणा गरेका नाबालक राजा ज्ञानेन्द्रलाई बेलायतबाट मान्यता दिलाउन शंकरशमशेरले गरेको प्रयासलाई दरबारले रुचाएको थिएन । शंकरको ठाउँमा नयाँ राजदूत नियुक्त नगरिएकाले त्यहाँ राजदूत थिएनन् ।

राजाको अमेरिका भ्रमणको चर्चा, विवाद र वास्तविकता
सन् १९४७ मा वाणिज्य तथा मैत्री सन्धिबाट सुरु भएको नेपाल-अमेरिका सम्बन्ध फेब्रुअरी १९४८ बाट मिनिस्टर तहको राजदूत र १९५२ बाट राजदूत स्तरको सम्बन्धमा स्तरोन्‍नति भइसकेको थियो । सन् १९४८ देखि १९५२ सम्म लगातार पाँच वर्षसम्म तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुमेनले राजा त्रिभुवनलाई सम्बोधन गरेर विजया दशमीको अवसरमा शुभकामना सन्देश पठाइरहेका थिए । सन् १९५३ मा मात्रै राजालाई हृदयाघात हुँदा ट्रुमेनपछिका नयाँ राष्ट्रपति आइजनआवरले स्वास्थ्यलाभको शुभकामना सन्देश पठाएका थिए ।

सन् १९५२ मा जारी भएको अमेरिकाको अध्यागमन र राष्ट्रियतासम्बन्धी कानुनको खण्ड २१२ मा एकसाथ दुई पत्नी वा पति भएका व्यक्तिलाई भिसा नदिने व्यवस्था गरिएको थियो । अखबारमा छापिएका समाचारका अलावा केही अधिकारकर्मीहरूले राजाका दुइटी रानी भएकाले सन् १९५२ मा जारी भएको अमेरिकी अध्यागमन कानुनले राजालाई अमेरिका जान वर्जित गर्ने विषय लगातार उठाइरहेका थिए । जुरिचबाट राजा थप उपचारका लागि अमेरिका जान चाहेका छन् भन्‍ने खबर सार्वजनिक भएसँगै त्यस्तो चर्चा हुन थालेको थियो । शीतयुध्द प्रारम्भ भइसकेको समयमा अमेरिकाइतरका सञ्चार माध्यमहरूमा समेत अध्यागमन कानुनअनुसार राजाको भ्रमण हुन नसक्ने समाचार प्रकाशित भइरहेको थियो । त्यसमा उनीहरूको अर्कोतर्क नेपाल अमेरिकाको लागि त्यस्तो महत्वपूर्ण साझेदार नभएकाले नेपालका राजालाई अमेरिकाले स्वागत गर्दैन भन्‍ने थियो ।

राजा नेपालबाट भर्खरै भारत पुगेका बेला नेपाली दूतावासका अधिकारीहरूलाई हवाला दिएर अमेरिकी अखबार ‘इभिङ स्टार’ले ११ अक्टोबर, १९५४ को अंकमा ‘नेपालका राजाले दुई रानीका साथ छिट्टै अमेरिकाको भ्रमण गर्न सक्छन् ।’ शीर्षकमा समाचार छापेको थियो । उक्त समाचारका अनुसार राजा अहिले स्विट्जरल्यान्ड जान भारतमा छन् । छिट्टै उनी त्यहाँ पुगेपछि उपचारका लागि अमेरिका जाने वा नजाने भन्‍ने त्यहाँका डाक्टरहरूको सल्लाहमा भर पर्नेछ । उनको कमजोर स्वास्थ्य अवस्थाका कारण थप उपचारका लागि डाक्टरले अनुमति दिएमा उनको अमेरिकाको भ्रमण हुनेछ र त्यो व्यक्तिगत भ्रमण हुनेछ । उनले नेपालको परम्पराअनुसार एकैदिन विवाह गरेकाले उनका साथमा दुई रानी छन् भन्‍ने उल्लेख गरिएको छ । (इभिङ स्टार, ११ अक्टोबर, १९५४) तर त्यसमा बहुविवाह र अमेरिकाको अध्यागमन कानुनबारे कतै केही चर्चा गरिएको छैन । राजा कायरोदेखि इटालीको यात्राकै क्रममा भएको समयमा सोही अखबारको ४ नोभेम्बरको अंकमा त्रिभुवन अमेरिका आउने योजनामा राजाको दुईवटी रानीका कारण त्यहाँको अध्यागमन कानुनका कारण अवरोध भएपछि अमेरिकी अधिकारीहरूले नेपालका राजालाई अमेरिकामा स्वागत गर्न अन्य उपायबारे छलफल गरिरहेका छन् भन्‍ने समाचार प्रकाशित गरेको थियो । (इभिङ स्टार, ४ नोभेम्बर, १९५४)

त्यस्तै ३० नोभेम्बर १९५४ मा प्रकाशित अर्को समाचारमा एक पत्नी भएको व्यक्तिलाई मात्र प्रवेशाज्ञा दिने अमेरिकी कानुनका कारण राजा त्रिभुवनको अमेरिका भ्रमण हाललाई स्थगित गरेको तर सबै व्यवस्था मिलेमा छिट्टै हुन सक्ने उल्लेख थियो । उक्त समाचारमा राजाका सैनिक सचिव लेफ्टिनेन्ट जनरल योगविक्रम राणाको प्रतिक्रिया पनि समावेश गरिएको थियो । जसमा राणाले राजा कहिल्यै विधुर र निःसन्तान हुन नपरोस् भनेर दुईवटी रानीसँग एकसाथ विवाह गरेको बताएका थिए । त्यस्तै उनले राजा रानीबाहेक एकल यात्रा नगर्ने त्यस्तै दुईमध्ये एउटी रानीलाई छाडेर अर्की रानीलाई मात्र साथमा लैजान सक्दैनन् भनी बताएका थिए । (इभिङ स्टार, ३० नोभेम्बर, १९५४)

त्यतिबेलाका अन्य केही अखबारहरूले विदेश मन्त्रालयका पूर्व एवं बहालवाला कूटनीतिज्ञको नाम उल्लेख नगरी उनीहरूको हवालाबाट राजाको सहज अमेरिका भ्रमण हुन सक्ने विभिन्‍न उपायबारे व्याख्या विश्लेषणसहितका खबर सम्प्रेषण गरेका थिए ।

केहीले अमेरिकी विदेश मन्त्रालयलाई विशेष आग्रह गर्दा विदेशमन्त्री जोन फोस्टर डलेसले आफूसँग भएको अधिकार प्रयोग गरी अतिथिका लागि त्यो कानुन नलाग्ने व्यवस्था गर्न सक्छन् भन्‍ने विषय उल्लेख गरेका थिए । त्यस्तै केहीले विदेश मन्त्रालयसँग आग्रह गर्दा अमेरिकी महान्यायाधिवक्ताले आफ्‍नो अधिकार प्रयोग गर्दा अर्को कुनै मुलुकको राष्ट्रप्रमुख अतिथिका रूपमा आउँदा त्यो विशेष अवस्था देखाएर उनको हकमा त्यो कानुन निरस्त गर्न सक्छन् भन्‍ने उल्लेख गरेका थिए । त्यस्तै केहीले राजासँग ‘कूटनैतिक राहदानी’ भएको खण्डमा उक्त कानुनले असर नगर्ने बताएका थिए । केहीले भने राजाको औपचारिक भ्रमणमा उक्त कानुनले अवरोध नगर्ने त्यस्तै अनौपचारिक भ्रमण भए पनि राष्ट्र प्रमुखको भ्रमण भएकाले अवरोध नगर्ने भनी छापेका थिए ।

उक्त विषयले मिडियामा निकै चर्चा पाएको थियो तर त्यतिन्जेलसम्म कुनै पनि बहालवाला अमेरिकी अधिकारीको औपचारिक जानकारी भने सार्वजनिक भइसकेको थिएन । राजा जुरिचमा भएको, उनी जुरिचबाट जान चाहेकाले त्यो जुरिचस्थित अमेरिकी कन्सुलेट जनरलसँग मुख्य सरोकार भएको विषय थियो । त्यहाँस्थित कन्सुलेट जनरल होवार्ड डोनभनले एक विज्ञप्ति जारी गर्दै १ डिसेम्बरका दिन अध्यागमनसम्बन्धी कानुनमा रहेको बहुविवाहको प्रावधान पाहुनाका लागि लागू नहुने भएकाले त्यसबाट राजाको भ्रमण प्रभावित नहुने बताए ।

सोही दिन राजाका सैनिक सचिव लेफ्टिनेन्ट जनरल योगविक्रम राणाले केही समस्याका कारण राजाको अमेरिका यात्रा स्थगित भएको थियो भन्‍ने बताएका थिए । त्यस्तै अवरोध हटेको जानकारी पाउँदा राजा प्रसन्‍न हुनेसमेत बताएका थिए । साथै अब जुरिचको अस्पतालबाट राजाको डिस्चार्जलाई पर्खने र त्यसपछि अमेरिकाका लागि तयारी गर्ने बताएका थिए । (डेली न्युज, २ डिसेम्बर, १९५४)

सन् १९५१ अगष्टमा दिल्लीको पालम हवाईअड्डामा भारतीय प्रधानमन्त्री नेहरुका साथमा राजा त्रिभुवन त्यस्तै पछाडिका उनका रानीहरु ।

जुरिचस्थित कन्सुलेट जनरलको विज्ञप्तिको अर्को दिन २ डिसेम्बरमा वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले समेत विज्ञप्ति जारी गर्दै नेपालका राजा आफ्‍ना दुईवटी रानीका साथ अमेरिका यात्रा गर्न स्वतन्त्र रहेको, त्यसमा कुनै अवरोध नरहेको जानकारी गरायो । जुरिचमा रहेका राजा आफ्‍ना रानीहरूका साथ व्यक्तिगत भ्रमणमा अमेरिका आउन चाहेकोमा पछिल्ला दिनका विभिन्‍न अखबारहरूमा राजालाई अप्ठ्यारो पर्ने व्यहोराका झुटो समाचार प्रकाशित भएकामा आपत्ति जनाएको थियो । त्यस्तै सन् १९५२ को अमेरिकी अध्यागमन कानुन अमेरिकाको भ्रमण गर्ने अतिथिका लागि लागू नहुने त्यो आप्रवासीका रूपमा अमेरिका आउनेका लागि मात्र लागू हुने समेत प्रस्ट पारे । राजाका सैनिक सचिवको अघिल्लो दिनको भनाइ उल्लेख गर्दै डिपार्टमेन्टले राजा जुरिचको अस्पतालबाट डिस्चार्ज नहुन्जेलसम्मका लागि अमेरिकाको यात्रा स्थगित गरेको भए पनि उनी छिट्टै अमेरिका आउने विश्वास व्यक्त गरेको थियो । आफ्‍ना दुईवटी रानीका साथ राजा अमेरिका आउँदा अमेरिकाको कुनै पनि आचारसंहिताले प्रभावित नगर्ने भन्दै कुनै पनि समयमा राजा अमेरिकाको जुनसुकै क्षेत्रमा भ्रमण गर्न सक्नेसमेत प्रस्ट पारेको थियो । (इभिनिङ स्टार, २ डिसेम्बर, १९५४)

त्यसपछिका समाचारहरूमा नेपालका राजा दुईवटी रानीका साथ अमेरिकाको यात्रा गर्न कुनै पनि समस्या नरहेको र अब स्वतन्त्र रूपमा यात्रा गर्न सक्ने उल्लेख गरेका थिए । अमेरिकाले राजालाई भ्रमण गर्न कुनै अवरोध नभएको जानकारी गराउनासाथ राजा तत्काल अमेरिका किन गएनन् त ? यसबारे विचार गर्दा उनलाई थप तीन हप्ता जुरिचको अस्पतालमै उपचार गराउन त्यहाँका डाक्टरहरूले सुझाव दिएकाले उनी तत्काल गएनन् भनी भन्‍न सकिन्‍छ । जुरिचको अस्पतालबाट डिसेम्बर अन्त्यमा डिस्चार्ज भएका राजा अमेरिका गएनन् र उनी फ्रान्सको निस पुगे । सचिव राणाले पुनः हाललाई राजाको अमेरिका भ्रमण अनिश्चित कालसम्मका लागि स्थगित भएको र आरामका लागि निस रवाना हुने जानकारी दिएका थिए । राजा अब अमेरिका जाने वा नजाने त्यस्तै कहिले जाने भन्‍नेबारे आफूले केही बताउन नसक्नेसमेत बताएका थिए । (इन्डियन डेली मेल, २ डिसेम्बर, १९५४)
राजालाई अमेरिकाको भ्रमण गराउन नेपालका तर्फबाट कुनै सार्थक पहल हुनुको सट्टा समाचारमा प्रकाशित तिनै खबरको आधारमा रहेर नेपाली टोलीले धारणा बनाइरहेको थियो भन्‍ने बुझिन्‍छ । राजाको टोलीमा परराष्ट्रका कोही पनि प्रतिनिधि नभएझैँ देखिन्‍छ । उनका सैनिक सचिव राणाबाहेक अरू कसैको सक्रियता वा धारणा सार्वजनिक भएको देखिँदैन।

माथि नै उल्लेख भइसक्यो, त्यतिबेला अमेरिकासमेत हेर्ने जिम्मेवारीमा रहेका राजदूत त्यहाँ थिएनन् । त्यस्तै राजाको भ्रमणको बन्दोबस्त त्यहाँस्थित भारतीय दूतावासको सहयोग समन्वयमा भइरहेको थियो । त्यहाँ चलिरहेको उपचारको मामिलामा नेपाली अधिकारीहरू पूर्ण रूपमा भारतीयमा निर्भर थिए भन्‍ने देखिन्‍छ । सोही वर्षको बर्खामा आएको भीषण बाढी-पहिरोले नेपालमा ठूलो क्षति पुगेको थियो । सुरुआतदेखि नै आर्थिक-प्राविधिक सहयोगमार्फत नेपालमा आफ्‍नो बलियो उपस्थिति बनाएको अमेरिकाले त्यो बाढीपहिरोपछि पनि गहुँलगायतको ठूलो परिणामको सहयोग उपलब्ध गराएको थियो । त्यस्तै केही महिनाअघि मात्र अमेरिकाले नेपालका शिक्षकलाई तालिम उपलब्ध गराउने अर्को महत्वपूर्ण सम्झौता गरेको थियो । यसरी नेपालमा अमेरिकी प्रभाव बढेकामा भारत त्यति प्रसन्‍न थिएन ।

सन् १९५४ जनवरी पहिलो साता युरोपमा उपचार गरि इजिप्ट हुँदै नेपाल फर्केका राजा त्रिभुवननगर इजिप्टका राष्ट्रपति मोहम्मद नागुइबका साथ इजिप्टको राजधानी कायरोमा ।

राजाको व्यक्तिगत अमेरिका भ्रमण भए पनि त्यसबाट नेपाल अमेरिका सम्बन्धमा मित्रता झन् गाढा हुने भयले पनि होला, भारतले राजाको अमेरिका यात्रालाई त्यति रुचाएन भनी भन्‍न सकिन्‍छ । अमेरिकी अध्यागमन कानुन र बहुविवाहलगायतका विषयलाई जोडेर राजाको अपमान हुने ढंगका तर्क अगाडि सारेर भारतीयहरू त्यो भ्रमण नहोस् भन्‍ने चाहन्थे कि भन्‍ने समेत देखिन्‍छ । राजाको यात्राबारे टिप्पणी गर्ने भारतीयले अमेरिका भ्रमणबारे सार्वजनिक रूपमा एक शब्द पनि नबोल्नुले भारतीय अवरोध भन्‍ने तर्कलाई बल पुर्‍याउँछ ।

अमेरिका भ्रमणमा जाने अतिथिका लागि बहुविवाहका कारण प्रभावित नभएको भन्‍ने अरू अघिल्लो र पछिल्लो वर्षका दुई उदाहरण छन् । अमेरिकाका लागि समेत नेपालका राजदूत रहेका शंकरशमशेर जबरा सन् १९५३ मा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ड्वाइट डी. आइजन आवरको शपथग्रहण समारोहमा उपस्थित हुन जाँदा उनको साथमा उनकी पत्नी पनि छन् भन्‍ने खबर सार्वजनिक भएको थियो । जनवरीमा अमेरिका पुगेका शंकर फेब्रुअरीमा नेपाल सरकारले पहिलोपटक राष्ट्रिय दिवस घोषणा गरेसँगै अमेरिकामा त्यसको आयोजना गर्न त्यहीँ बसे । मार्च महिना सिकारमा बिताएका शंकर अप्रिलमा टेक्सास, एरिजोना र बाहमसको भ्रमणमा रहँदा टेक्सासको एउटा टेलिभिजनले शंकर आफ्‍ना श्रीमतीहरूसँग आएका छन् भन्‍ने उल्लेख गरेको थियो । त्यसमा नेपालमा बहुविवाह प्रथा रहेकाले नेपालमा बहुपत्नी प्रथा साधारण रहेको समेत उल्लेख गरेको थियो । (डब्ल्यू.बी.ए.पी. टेलिभिजन टेक्सासको स्क्रिप्ट न्युज, १ अप्रिल, १९५३)

सन् १९५५ मा पाकिस्तानका प्रधानमन्त्री मोहम्मद अलीले क्यानडामा जन्मिएकी आफ्नै ३० वर्षे सहयोगीलाई लेबनानमा विवाह गरेका थिए । अमेरिकालगायतका अन्य केही अधिकारकर्मीहरूले त्यस घटनाको चर्को विरोध गर्दै अलीलाई अमेरिका प्रवेश नदिन चेतावनी दिएका थिए । तर अलीलाई उनकी श्रीमतीका साथ अमेरिकाले वासिङ्टनमा स्वागत गर्‍यो । त्यस घटनालाई उल्लेख गर्दै अमेरिकी अखबार टोइल्डो ब्लेडले ७ अप्रिलको आफ्‍नो अंकमा लेखेको छ । मुसलमान धर्मावलम्बीहरूले बहुविवाह गर्ने गर्छन् । तिनमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नोसमेत पर्छन् जसलाई अमेरिकाले स्वागत गरिसकेको छ । पाकिस्तानसँग अमेरिकाको बलियो सैन्य एवं आर्थिक सम्बन्ध रहेकाले प्रधानमन्त्री अलीलाई समेत स्वागत गर्‍यो । तर गत वर्ष नेपालका राजा उपचारका लागि आफ्‍ना दुईवटी रानीसँग अमेरिका आउन खोज्दा भने उनलाई प्रवेश दिएन भनी उल्लेख गरेको थियो । (टोइल्डो ब्लेड, ७ अप्रिल, १९५५)

जुरिचस्थित अमेरिकी कन्सुलेट जनरल र वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले समेत आफ्‍ना दुईवटी रानीका साथ राजाले निर्बाध रूपमा अतिथिका रूपमा अमेरिकाको भ्रमण गर्न सक्छन् भनेको भए पनि उनको भ्रमण भने हुन सकेन । उपलब्ध दस्तावेजका आधारमा करिब सात दशकपछि आज यसलाई दुईवटा दृष्टिकोणबाट हेर्न सकिन्‍छ ।

आफू अमेरिका जानूपूर्व धेरै चर्चा र विवादको विषय बनिसकेको अमेरिकाको भ्रमण गर्न राजापछि आफैँ इच्छुक भएनन् कि भन्‍ने जस्तो पनि देखिन्‍छ । त्यस्तै अमेरिकाको भ्रमण गर्ने राजालाई उपयुक्त अवसर नै पो मिलेन कि भन्‍ने समेत देखिन्‍छ । राजा फ्रान्सको निस पुगेपछि उनको अमेरिका भ्रमणबारे थप चर्चा भएको भने देखिँदैन ।

सन् १९३७ मा राजा त्रिभुवन राजा भएको २५ बर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको रजत जयन्ती समारोहमा जङ्गी पोशाकमा खिचिएको तस्वीर ।

नेपालबाट उनी पहिले सीधै जुरिच पुगे, त्यहाँ पुग्दा उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेका कारण पहिले दुई हप्तासम्म निरन्तर उपचार चलिरह्यो । त्यसपछि अर्को चरणमा पुनः जुरिचमा नै तीन हप्तासम्म उपचार चलिरहेकाले अमेरिकाले उनको भ्रमणमा अवरोध नहुने जानकारी गराएको समय डिसेम्बर पहिलो हप्ता उनी जान सकेनन् । २८ डिसेम्बरमा जुरिचको अस्पतालबाट डिस्चार्ज भएर आराम गर्न राजा फ्रान्सको निस पुगे । त्यहाँ पुगेको एक महिनाभित्र जनवरी अन्त्यमा उनलाई फेरि हृदयाघात भएकाले जान सकेनन् कि भन्‍ने देखिन्‍छ । हृदयाघातपछि उनी सत्ता हस्तान्तरणमा व्यस्त भए र त्यसको केही दिनमा नै उनको निधन भएको थियो ।
समग्रमा भन्दा आफ्नै गम्भीर स्वास्थ्य अवस्था, त्यस्तै भ्रमणबारे पहिलेदेखिकै विवादका कारण उनको अमेरिका भ्रमण हुन नसकेको हो कि भन्‍ने देखिन्‍छ । अमेरिकाले औपचारिक रूपमा नै राजाको भ्रमणलाई उक्त ऐनले कुनै असर नगर्ने भन्‍ने स्पष्ट पारेकाले भिसा दिन अस्वीकार गर्‍यो भन्‍ने देखिँदैन ।

फ्रान्सको निसमा रहिरहेको समयमा ३१ जनवरी, १९५५ मा राजालाई पुनः हृदयाघात भयो । २ र ३ फेब्रुअरीमा निस पुगेर क्यान्टन्स अस्पताल निर्देशक प्राध्यापक डा.विल्हेम लोफ्लरले राजालाई जाँच गरे । साथै उनले दुई अन्य विशेषज्ञहरू लन्डनका प्रा. पार्किनसन र भियनाका प्रा. लउडेरको सहयोग लिएका थिए । त्यो हृदयाघातपछि राजालाई अब आफूलाई पूर्ण रूपमा निको हुने र फेरि नेपाल फर्किएर सक्रिय हुने आकांक्षा थिएन् । उनलाई अब आफू छिट्टै मर्छु भन्‍ने आभास भइसकेको देखिन्‍छ । त्यसपछि राजाले युवराजलाई शासनसत्ताको अख्तियारनामा सुम्पनेबारे परामर्श गर्न थालेका थिए । यता नेपालमा समेत मातृकाप्रसाद कोइराला नेतृत्वको सरकार एकातिर सल्लाहकारसभा त्यस्तै अर्कोतिर राजकीय परिषद् त्यस्तै सरकारमा आन्तरिक आपसी मतभेदका कारण चल्न सकेको थिएन । त्यसै क्रममा प्रधानमन्त्री कोइरालाले राजकीय परिषद्समक्ष आफ्‍नो राजीनामा चढाएका थिए  । तर त्यतिबेला त्यसलाई स्वीकार गर्ने अधिकार राजा त्रिभुवनबाहेक अरूमा नभएकाले नेपालमा अनिश्चयको स्थिति थियो । फेब्रुअरीको दोस्रो साता भारतका प्रधानमन्त्री नेहरु लन्डन भ्रमणमा थिए । त्यतिबेला नेहरुले आफ्‍ना सहयोगी पीएन. हस्करलाई राजा त्रिभुवनसँग कुरा गर्न फ्रान्सको निस पठाएका थिए । नेहरुले राजालाई उनी अझै थप समय युरोपमा बस्नुपर्ने भएकाले शासनसत्ताको भारबाट अलग भएर स्वतन्त्रपूर्वक आराम गरी स्वास्थ्य लाभ लिन सुझाएका थिए । साथै नेहरुले राजालाई राजाको अनुपस्थितिमा उनले गर्ने सबै कामजस्तो प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त गर्ने र हटाउने अधिकारसमेत आफ्‍ना उत्तराधिकारी युवराज महेन्द्रलाई हस्तान्तरण गर्न सुझाएका थिए । (सेलेक्टेड वर्कस् अफ जवाहरलाल नेहरु, दोस्रो संस्करणको २८औं खण्ड)

राजा त्रिभुवनले शासनसत्ताको अख्तियारनामा युवराजलाई प्रदान गर्न उनलाई फ्रान्स बोलाएका थिए । त्यतिबेला प्रधानमन्त्री कोइरालाले राजीनामा दिएपछि उत्पन्‍न भएको राजनीतिक संकटबारे छलफल गर्न युवराजले भ्रमण गर्न लागेको जानकारी प्रेसलाई दिइएको थियो । ९ फेब्रुअरीका दिन युवराज महेन्द्र फ्रान्स जान काठमाडौंबाट कलकत्तातर्फ प्रस्थान गरे । ११ फेबु्रअरीका दिन उनी फ्रान्सको निस पुगेर आफ्‍ना बुवा महाराजाधिराजसँग भेट गरे । त्यहीँबाट राजा त्रिभुवनले आफूले प्रयोग गर्दै आएको शाही शासनको सम्पूर्ण अधिकार आफ्‍नो अनुपस्थितिमा राजगद्दीका उत्तराधिकारी आफ्‍ना ज्येष्ठ सुपुत्र युवराज महेन्द्रलाई हस्तान्तरण गरे । यसरी उनी १५ फेब्रुअरीमा फ्रान्सबाट कलकत्ता ओर्लिएर सोही दिन अपराह्न नै काठमाडौं फर्किए । राजा त्रिभुवनले युवराज महेन्द्रलाई सुम्पेको शाही अख्तियारनामा बारे सोही १८ फेब्रुअरी १९५५ को राष्ट्रिय दिवसमा एउटा शाही घोषणाद्वारा नेपालमा सार्वजनिक गरियो । (दी इन्डियन एक्सप्रेस, १०, १२, १६ र १९ फेब्रुअरी १९५५)

राजा त्रिभुवनको निधन, शवयात्रा र अन्तिम संस्कार 
राजा त्रिभुवन जनवरीदेखि ८ मार्चसम्म दुई महिनाभन्दा केही बढी फ्रान्सको निसमा नै रहे । ८ मार्चतिर पुनः उनको स्वास्थ्यमा समस्या देखियो । गम्भीर स्वास्थ्य अवस्थाका कारण राजालाई रेलबाट जुरिच लैजान असमर्थ भएपछि विशेष एम्बुलेन्सबाट ९ मार्चमा जुरिच पुर्‍याइयो । जुरिच पुर्‍याएपछि उनको उपचार चलिरहेको थियो । जुरिच पुगेको चार दिनपछि उपचारकै क्रममा सन् १९५५ मार्च १३ का दिन अपराह्न ३ बजेर १५ मिनेटमा ४९ वर्षको उमेरमा राजा त्रिभुवनको निधन भयो । क्यान्टन्स अस्पतालको शय्यामा हृदघातका कारण यति छिटो अचानक उनको निधन भयो कि उनको साथमा रहेका उनका दुवै रानी राजाको शय्यासम्म पनि पुग्न पाएनन् । साथै भएर पनि राजाको निधन हुँदा उनको शय्यासम्म पुग्न नपाउँदा रानीहरूले साह्रै पश्चाताप महसुस गरेका थिए । (इभिनिङ स्टार, १५ मार्च, १९५५)

अर्को दिन १४ मार्चको बिहानै नेपाली राजदूतावास नयाँ दिल्लीले जुरिचमा उपचारका क्रममा राजा त्रिभुवनको निधन भएको पुष्टि गर्‍यो । साथै नेपालमा उनका उत्तराधिकारी युवराज महेन्द्रलाई नयाँ राजा घोषणा गरिसकेको र सोही दिन अपराह्नसम्म विधिपूर्वक नयाँ राजाको राज्यारोहण हुने जानकारी दियो । त्यस्तै जुरिचमा रहेको दिवंगत राजा त्रिभुवनको पार्थिव शरीरलाई चाँडोभन्दा चाँडो नेपाल ल्याएर हिन्दु धर्म संस्कारबमोजिम नेपालमा अन्त्येष्टि गरिनेसमेत जानकारी गरायो । (दी सिड्‍नी मोर्निङ हेराल्ड, १४ मार्च, १९५५)

१४ मार्चको अपराह्न नयाँ राजा महेन्द्रलाई नेपाली सेनाले १०१ तोपको सलामी अर्पण गरेको थियो । त्यस्तै सोही दिन ४ बजेर १५ मिनेटमा नयाँ राजा हनुमानढोका राजदरबार पुगे र ४ बजेर २१ मिनेटमा नयाँ राजा महेन्द्र राजगद्दीमा बसे । विदेशका विभिन्‍न मुलुकका प्रतिनिधिहरू निम्त्याएर राजा महेन्द्रको औपचारिक राज्याभिषेक समारोह भने अर्को वर्ष ९:५६ मा मात्र भयो । (समाज दैनिक, १४ मार्च, १९५५)

सन् १९५५ को मार्च १७ मा पशुपति आर्यघाटमा राजा त्रिभुवनको अन्त्येष्टिको तस्वीर ।

निधन भएको तीन दिनपछि १६ मार्चको बिहान ७ः११५ मा दिवंगत राजा त्रिभुवनको पार्थिव शरीरलाई क्यान्टन्स अस्पतालबाट सीधै जुरिचको क्यानटोनल विमानस्थलमा पुर्‍याइएको थियो । नेपालको राष्ट्रिय झन्डामा बेरिएको उनको पार्थिव शरीरलाई सेनाका जवानहरूले विमानस्थलको धावनमार्गमा खडा भएको विमानसम्म बोकेर ल्याउँदा स्विस सेनाको टुकुडीले शोक धुनका साथ राष्ट्रिय सलामी अर्पण गरेको थियो । जसमा स्विस अधिकारीसमेत उपस्थित थिए । स्विस एअरलाइन्सको डगलस डीसी ४ विमानले उनको पार्थिव शरीरलाई जुरिचबाट नयाँ दिल्लीको पालम हवाईअड्डामा ल्याइपुर्‍याएको थियो । (स्विस अखबार ‘फ्रेबर्गर’, १८ मार्च, १९५५)

अर्को दिन बिहान दिल्लीमा भारत सरकारले राष्ट्रिय सम्मानसाथ उनलाई अन्तिम श्रध्दाञ्जली अर्पण गरेको थियो । सोही क्रममा भारतीय प्रधानमन्त्री नेहरुले त्रिभुवनको पार्थिव शरीरमा भारतीय राष्ट्रिय झन्डा ओढाएका थिए । दिल्लीबाट भारतीय वायुसेनाको विशेष विमानले उनको शवलाई १७ मार्चको अपराह्न १२ बजेर २५ मिनेटमा नेपालको गौचर हवाईअड्डामा ओरालेको थियो । सोही दिन बेलुकी हजारौं हजार नेपाली जनताहरूको उपस्थितिमा पशुपति आर्यघाटमा राजाको अन्तिम संस्कार गरिएको थियो । (दी लिडर पोस्ट, १८ मार्च, १९५५) 

२०७७ माघ ७ मा इकागज अनलाइनमा प्रकाशित सामाग्री।

 

राजा त्रिभुवनको निधनपछि उनका रानीहरूको अमेरिका र युरोप यात्रा


सन् १९५४ मा बिरामी अवस्थाका राजा त्रिभुवन आफ्नो दोस्रो युरोप उपचार यात्राका क्रममा थप उपचारका लागि अमेरिका जान चाहन्थे । तर अमेरिकाको अध्यागमन कानुनमा रहेको एकैसाथ दुई पत्नी वा पति भएका व्यक्तिलाई भिसा नदिने प्रावधानलाई देखाएर धेरै मिडियाबाजी भएकाले उनको अमेरिका यात्रा सफल हुन सकेन । 

राजा त्रिभुवनका दुई बडामहारानी थिए । जेठी कान्ति राज्यलक्ष्मी देवी र कान्छी ईश्वरी राज्यलक्ष्मी देवी । भारतका यी दुई राजपूत कन्यासँग राजा त्रिभुवनको विवाह सन् १९१९ को मार्च महिनामा भएको थियो । यी दुबै सहोदर दिदी–बहिनी थिए । त्यतिबेला राजा त्रिभुवनसँग अमेरिका जान नपाएका उनका रानीहरू राजाको निधनको करिब तीन वर्षपछि भने आफ्नै उपचारका लागि अमेरिका पुगेका थिए । दिवंगत राजा त्रिभुवनकी जेठी बडामहारानी (तत्कालीन मुमा बडामहारानी) कान्ति राज्यलक्ष्मी देवीलाई समेत मुटु रोगको समस्या थियो । कलकत्ता र बम्बईमा समेत उनको उपचार सफल हुन नसकेपछि थप उपचारका लागि उनी अमेरिकाको न्युयोर्क पुगेकी थिइन् । त्यहाँ उनीसँग कान्छी मुमा बडामहारानी ईश्वरी राज्यलक्ष्मीदेवीसमेत साथमै थिइन् । त्यहाँ उनको उपचार प्रसिद्ध अमेरिकी मुटु रोग विशेषज्ञ डाक्टर पल डेड्ली ह्वाइटले समेत गरेका थिए । डा. ह्वाइट त्यतिबेला अमेरिकाका तत्कालीन राष्ट्रपति आइजनआवरका समेत चिकित्सक थिए ।

मुमा बडामहारानीहरूको त्यो अमेरिका भ्रमण निजी उपचार भ्रमण थियो । त्यसैले त्यस भ्रमणबारे त्यहाँका सञ्चार माध्यमहरूमा समेत त्यति चर्चा भएको पाइँदैन । मुमा बडामहारानी न्युयोर्क ओर्लिएको खबरलाई अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरूले सम्प्रेषण गरेको भए पनि थप जानकारी भने भेटिँदैन । उनीहरू इटाली हुँदै फर्किएको तस्बिर विदेशी फोटो एजेन्सीले प्रकाशित गरेका थिए । राजदरबारमा राजा त्रिभुवनका प्रमुख सहयोगी एक जनसम्पर्क अधिकृत भएर काम गरेका मीर सुब्बा दयारामभक्त माथेमाको पुस्तक ‘अनुभव र अनुभूति’मा भने मुमा बडामहारानीहरूको अमेरिका यात्राको विवरण उल्लेख भएको पाइन्छ । यो लेख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा छापिएका त्यससम्बन्धी समाचार र माथि उल्लिखित पुस्तकको आधारमा तयार गरिएको छ ।

सन् १९५८ को संयुक्त राष्ट्रसंघको १३ औं महासभा सोही सेप्टेम्बर तेस्रो साताबाट न्युयोर्कमा सुरु हुँदै थियो । त्यतिबेला नेपालमा सुवर्ण शमशेर जबरा मन्त्रिपरिषद् उपाध्यक्ष रहेको चुनावी सरकार थियो । त्यस सरकारका परराष्ट्रमन्त्री साहेबज्यू पुरेन्द्रविक्रम शाह थिए । उनै शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको १३ औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको सदस्यमा मीर सुब्बा दयारामभक्त माथेमासमेत थिए । उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा परराष्ट्र सचिव नरप्रताप थापा र परराष्ट्रमन्त्री शाहकी छोरी माधुरी शाहसमेत थिइन् । ठीक त्यही समयमा मुमा बडामहारानीहरूसमेत उपचारका लागि न्युयोर्क पुगेका थिए । त्यसैबेला त्यहाँ उनीहरूको सेवामा माथेमा सक्रिय थिए । उनै माथेमाले त्यहाँ भएका विवरणहरू माथि उल्लिखित पुस्तकमा लिपिबद्ध गरेका छन्।

माथेमाका अनुसार मुमा बडामहारानीहरूको साथमा माइला अधिराजकुमार हिमालय र अधिराजकुमारी प्रिन्सेप (गृह राज्यलक्ष्मी), कान्छा अधिराजकुमार वसुन्धरा, राजकुमारी विजया राज्यलक्ष्मी, निजी सचिव महेश्वरकुमार, राजकुमारी विमला राज्यलक्ष्मी, डा. यज्ञराज जोशी र सैनिक सचिव तीर्थविक्रम राणासमेत थिए । मुमा बडामहारानीको टोली उपचारका लागि १९५८ सेप्टेम्बर २५ मा न्युयोर्क विमानस्थलमा ओर्लिएको थियो । त्यहाँ पुगेका परराष्ट्रमन्त्री साहेबज्यू पुरेन्द्रविक्रम शाह, अमेरिकाका लागि शाही नेपाली राजदूत हृषीकेश शाह र मीरसुब्बा दयारामभक्त माथेमा लगायतले विमानस्थल बाहिर उनीहरूलाई स्वागत गरेका थिए । जेठी मुमाबडामहारानी कान्ति राज्यलक्ष्मी देवी उपचारका लागि न्युयोर्क ओर्लिएको विषयलाई अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘दी एसोसिएटेड प्रेस (एपी)’ ले समाचार सम्प्रेषण गरेको थियो । जसमा नेपालकी जेठी मुमाबडामहारानी कान्ति राज्यलक्ष्मी देवी आफ्नो मुटुको उपचारका लागि विमानद्वारा न्युयोर्क ओर्लिएकी छिन् । अमेरिकाका लागि शाही नेपाली राजदूत हृषीकेश शाहले मुमा बडामहारानीको उपचार कहाँ हुन्छ भन्ने विषयमा थप जानकारी प्रदान गर्न अस्वीकार गरे भन्ने उल्लेख थियो । (सिकागो ट्रीब्युन २६ सेप्टेम्बर १९५८) 

उनको उपचार न्युयोर्क अस्पतालमा भएको थियो । त्यहाँ उनलाई त्यसै अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर फकनरले उपचार गरेका थिए । डा. फकनरकै सल्लाहअनुसार मुमा बडामहारानीलाई डा. पल डेड्ली ह्वाइटले समेत हेरेका रहेछन् । त्यसको सबै बन्दोबस्त उनै डा. फकनरले गरेका रहेछन् । डा. ह्वाइटले केही दिन अस्पतालमा नै भर्ना गरी उपचार गर्ने सल्लाह दिएछन् । सोही मुताबिक उनलाई न्युयोर्क अस्पतालमा नै राखेर उपचार गरिएको रहेछ । नेपालमा प्रजातन्त्रको स्थापना भएपछि नेपालको सार्वजनिक स्वास्थ्यसेवामा सघाउन अमेरिकी मिसिनरी टोली नेपाल भित्रिएको थियो । त्यसैक्रममा मिलर दम्पती नेपाल भित्रिएर शान्तभवन अस्पतालमा सेवारत थिए । श्रीमान् एड्गार मिलर र श्रीमती एलिजाबेथ मिलर दुबैसँगै कार्यरत थिए । माथेमाका अनुसार न्युयोर्कमा रहेका डा. ह्वाइट, डा. फकनर र नेपालमा रहेका डा. मिलर सहपाठी रहेछन् । डा. ह्वाइटले चेकजाँचको क्रममा डा. मिलर नेपालमा भएको बताउँदै उनै डा. मिलरलाई उपचार गराए पनि हुने र बिरामीलाई न्युयोर्कसम्म ल्याउनै नपर्ने सुझाव दिएका रहेछन् ।

जेठी मुमाबडामहारानी कान्ति राज्यलक्ष्मी देवी न्युयोर्क अस्पतालमा भर्ना भएपछि उनीसँग गएका टोलीका अन्य सदस्यहरू र संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका नेपाली टोलीका सदस्यहरू एउटै होटेलमा बसेका रहेछन् । अस्पतालमा बिमारीका साथमा नेपाली चिकित्सक डा. यज्ञराज जोशी र अर्को एकजना भने अस्पतालमा बसेका रहेछन् । कान्छी मुमा बडामहारानी र अधिराजकुमारहरू दिनहुँ अस्पताल पुग्ने रहेछन् । भर्ना नै गरेर उपचार गराउँदा उनको स्वास्थ्यमा सुधार आउँदै रहेछ ।

त्यहाँ पुगेपछि कान्छी मुमा बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवीलाई ‘नायग्राफल’ हेर्ने इच्छा लागेर माथेमालाई कार्यक्रम मिलाउन भनिछन् । उनले भनेअनुसार माथेमाले कार्यक्रम तयार गरेछन् । न्युयोर्कबाट सिकागो, सिकागोबाट टोरन्टो, त्यहाँबाट नायग्राफल हेरी बफेलोबाट न्युयोर्क फर्कने कार्यक्रम निर्धारित भएछ । निर्धारित समयमा निर्धारित कार्यक्रमअनुसार कान्छी मुमा बडामहारानी ईश्वरी, अधिराजकुमारी विजया, राजकुमारी विमला, सैनिक सचिव तीर्थविक्रम राणा र माथेमा समेत ५ जनाले निर्धारित ठाउँको भ्रमण गरेछन् ।

माथेमाका अनुसार क्यानडातिर जान लाग्दा भने त्यहाँको भिसा नभएकाले क्यानडा जान दिएनछन् । चेकपोस्टका मानिसले नेपाली राहदानी कहिल्यै नदेखेकाले पहिलोपल्ट देख्दा अचम्म मानेछन् । राहदानीबाट नेपालको राजपरिवार भन्ने थाहा पाएपछि धुमधामसँग सत्कार त गरेछन् तर पनि जान दिएनछन् । उनीहरूले आफ्ना हाकिमसँग टेलिफोनमा कुराकानी गरी माथेमाले संयुक्त राष्ट्रसंघको महासभाको प्रतिनिधिको पास देखाएपछि भने उनीहरूले क्यानडा छिर्न दिएछन् । 

सन् १९५९ को जनवरीतिर मुमा बडामहारानीहरू न्युयोर्कबाट पानीजहाजमा इटाली फर्किए । इटालीका प्रमुख स्थलहरूमा उनीहरू घुमघाम गरे । नेपल्समा मुमा बडामहारानीहरू घुमेको तस्बिर विदेशी फोटो एजेन्सी ‘क्ष्अजबचतब’ ले सार्वजनिक गरेको थियो । मुमा बडामहारानीहरू सन् १९५४-५५ मा राजा त्रिभुवनको दोस्रो युरोप उपचार यात्राको क्रममा स्वीट्जरल्यान्ड, इटाली र फ्रान्सको भ्रमण गरिसकेका थिए । मुमा बडामहारानीहरू इटालीबाट पानीजहाजमा बम्बई र बम्बई हुँदै नेपाल फर्किए । उनीहरू नेपाल फर्किएपछि दिवंगत राजा त्रिभुवनको नाममा त्यसअघि नै स्थापनाको चरणमा रहेको त्रिभुवन विश्वविद्यालयको काममा लागे । 

त्रिभुवन विश्वविद्यालयको स्थापनापछि सन् १९६२ मा आयोजित दोस्रो दीक्षान्त समारोहमा विश्वविद्यालय प्रशासनले विश्वविद्यालय स्थापनामा योगदान गर्ने दुवै बडामहारानीहरूलाई कानुनमा मानार्थ विद्यावारिधिको प्रदान गर्ने निर्णय गरेको थियो । तर बडामहारानीहरूले स्थापित विश्वविद्यालयमा आम विद्यार्थीहरूले पढेर उक्त विद्यावारिधि हासिल नगरेसम्म आफूहरूलाई मानार्थ डिग्री लिँदैनौं भनी लिन इन्कार गरे । (दी इन्डियन एक्स्प्रेस १५ मार्च १९६२) त्रिभुवन विश्वविद्यालयबाट पहिलो मानार्थ विद्यावारिधि हासिल गर्ने व्यक्ति भारतका तत्कालीन राष्ट्रपति एस. राधाकृष्णन हुन् । सन् १९६३ नोभेम्बरमा भारतका राष्ट्रपति एस. राधाकृष्णनलाई उनको नेपाल भ्रमणका क्रममा त्रिभुवन विश्वविद्यालयले साहित्यको मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । (युनिभर्सिटी न्युज नोभेम्बर १९६३)

छोरा राजा महेन्द्रको पनि निधन भएको करिब एक वर्षपछि सन् १९७३ को अप्रिल महिनामा ६६ वर्षको उमेरमा जिजुमुमा बडामहारानी कान्ति राज्यलक्ष्मी देवीको निधन भयो । उनको निधनको खबर छापेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यतिबेला समेत सन् १९५४–५५ मा उपचारका लागि अमेरिका जान चाहेका राजा त्रिभुवनलाई उनका दुई रानी साथमा रहेकाले भिसाा दिएन । त्यसैले त्यतिबेला उनी अमेरिका आउन सकिनन् भन्ने उल्लेख गरेका थिए । (समाचार संस्था ए.पि. १२ अप्रिल १९७३) राजा त्रिभुवनकी कान्छी बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवीको निधन भने १९८३ को जुन महिनामा भएको थियो । 

राजा त्रिभुवन र उनका रानीहरूको निधन हुँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकाले राजा त्रिभुवनलाई एकैसाथ दुई श्रीमतीसहित अमेरिका आउन चाहेकाले उनले भिसा पाएनन् भनी समाचार प्रसारण गरिरहे । त्यतिबेला राजा त्रिभुवन दुईवटा रानीसहित अमेरिका जान नपाएको भन्ने विषयले उनीहरूलाई सधैं पछ्याइरह्यो । राजा त्रिभुवनका रानीहरू यतिबेला राजासँग अमेरिका जाने अवसर नपाएको भए पनि राजाको निधनपछि भने आफ्नै उपचारका लागि भने अमेरिका पुग्ने अवसर पाएका रहेछन् ।

२०७८ मंसिर २ मा इकागज अनलाइनमा प्रकाशित सामाग्री।

  नेपाल-अस्ट्रेलिया सम्बन्धका ६१ वर्ष गोर्खाली सिपाहीहरूले आफूहरूलाई पुर्याएको योगदानको अस्ट्रेलिया सरकार सधैँ स्मरण गर्दछ । नेपालको प्रमुख ...