Friday 20 November 2020

बहादुरशमशेरको कूटनीतिक यात्रा

 

बहादुरशमशेरको कूटनीतिक यात्रा

हिजो–अस्ति

बेलायत, सिंगापुर, फ्रान्स र अस्ट्रेलियाबाट प्रकाशित हुने दैनिक, साप्ताहिक एवं मासिक पत्रिकाहरूमा नेपालबारे प्रकाशित खबर अध्ययन गर्ने क्रममा बेलायतका लागि पहिलो राजदूत बहादुरशमशेर जबराबारे फेला परेका सामग्रीहरूका आधारमा तिनलाई नै स्रोत मानेर उनको कूटनीतिक यात्रा वृत्तान्त समेटेर यो लेख तयार पारिएको छ।

तिब्बतको ल्हासा र भारतको दिल्लीमा वकिल अड्डा र त्यहाँ वकिलमा सीमित रहेको नेपालको कूटनीतिक वृत्त सन् १९३४ मा दिल्लीलाई नाघेर विश्व समुदायसँग सोझै सम्पर्क स्थापित गर्ने हेतुले बेलायतमा राजदूत खटाएर दूतावास कार्यालय नै स्थापनासम्म पुग्यो। नेपालले आफ्नो कूटनीतिक इतिहासमा पहिलो पटक सन् १९३४ अप्रिल ६ (विसं १९९० चैत २४)मा बेलायतका लागि नेपाली राजदूत (मिनिस्टर तह)मा कमान्डिङ जनरल बहादुरशमशेर जबरालाई नियुक्त गर्‍यो। उनी तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरका पुत्र हुनुका साथै त्यति बेलाको परराष्ट्रका डाइरेक्टर जनरलसमेत भइसकेका थिए।

सन् १९३४ मा त्यही समय नै तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर जबराले अन्य मुलुकका ‘प्रभावशाली सम्राट्’लाई सम्मानित गर्ने भनी नेपालको सर्वोच्च सम्मान नयाँ तक्माको सुरुआत गरे, ‘ओजस्वी राजन्य’ नामक। नेपालबाट त्यसअघि पहिलोपटक सन् १८५० मा जंगबहादुर राणा र दोस्रोपटक सन् १९०८ मा चन्द्रशमशेर जबराको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल बेलायत गइसकेको थियो। बहादुरशमशेरको नेतृत्वमा बेलायत जाने प्रतिनिधिमण्डल ती दुईपछि तेस्रो थियो। त्यही प्रतिनिधिमण्डलले पाएको जिम्मेवारी थियो, पहिले तत्कालीन बेलायती राजा जर्ज पञ्चम्लाई (जर्ज पञ्चम् सन् १९११ मा दिल्ली दरबारमा आफ्नो राज्याभिषेक समारोहमा उपस्थित भएपछि तराईमा सिकार खेल्न आएका थिए।) ओजस्वी राजन्य तक्माले सम्मान गर्ने र दोस्रोमा त्यही टोलीले त्यहाँ दूतावास स्थापना गर्ने।

राजदूत बहादुरशमशेरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलका अन्य सदस्यमा मिलिट्री एट्याची मेजर शोभागजंग थापा, फस्ट सेक्रेटरी सुब्बा गुञ्जमान सिंह र प्राइभेट सेक्रेटरीमा मिर सुब्बा कृष्णमोहन वाही थिए। तत्कालै बेलायतका लागि प्रस्थान गरेको टोली ९ अप्रिलमा कलकत्ता र १२ मेमा बम्बईबाट पानीजहाजमा सवार भई मे २८ मा बेलायतको डोभर बन्दरगाह पुग्यो। उनीहरूलाई त्यहाँ मेजर क्रनस, आतिथ्य सत्कार मामिलाका सचिवका साथ डाभोरकै मेयरले स्वागत गरे।

डाभोर बन्दरगाहबाट भिक्टोरिया स्टेसनमा उत्रिएको टोलीलाई त्यहाँ सेक्रेटरी स्टेट फर इन्डियाका तर्फबाट उनका प्रतिनिधि डब्लूजी नियलले स्वागत गरे। त्यस्तै लन्डनस्थित केन्द्रीय हिन्दू समाजका अध्यक्ष राम सिंह नेहराले गलामा माला नै लगाएर स्वागत–सत्कार गरे। उक्त टोली हाइड पार्क स्क्वायरमा रहेको सरकारी अतिथिगृहमा रह्यो।

बेलायती पत्रिका ‘दी टाइम्स’को प्रतिनिधिले भिक्टोरिया स्टेसनमै बहादुरशमशेरसँग यहाँको कुनै सन्देश छ कि भन्ने जिज्ञासामा उनले त्यहाँ सशक्त र महत्वपूर्ण सन्देश प्रवाह गरे। उनको सन्देशलाई सिंगापुरबाट प्रकाशन हुने ‘सन्डे ट्रिब्युन’ले सन् १९३४ जुलाई १ को अंकमा यसरी छापेको छ ः

‘एक शताब्दीभन्दा पनि लामो समययता ब्रिटिस सरकारसँग नेपालको अत्यन्तै न्यानो र सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ। मेरा पिता महाराज जुद्धशमशेर जबराको स्पष्ट नीति यहाँहरू सबैलाई अवगत नै छ कि उहाँले यस पारम्परिक मित्रतालाई अझ दृढतासाथ अगाडि बढाउन चाहनुभएको छ। मेरो प्राथमिकता पनि उहाँको नीतिलाई आफ्नो शक्ति र सामथ्र्यसाथ अगाडि बढाउनेमा नै छ।

बडो गर्वका साथ यहाँ म यो स्मरण गर्न चाहन्छु कि विश्वयुद्धमा नेपालले बेलायत र उसका सहयोगी राष्ट्रहरूलाई उत्सुकतासँग सक्षमतापूर्वक सहयोग गर्‍यो। भारतीय सेनाको गोर्खा पल्टनमा थुप्रै नेपाली भर्ती भएर लगभग सबैजसो मोर्चामा सहभागी भएर युद्ध लडे। त्यस्तै गुमिसकेको भारतीय क्षेत्रलाई जोगाउन हाम्रो आफ्नै गोर्खा सैनिकले मद्दत गर्नुका साथै सीमा क्षेत्रमा समेत सक्रिय सेवा गरिरहेका छन्।

बेलायतमा औपचारिक रूपमा नेपालको दूतावास स्थापनाले आपसी सम्मान र समझदारीका आधारमा दुई मुलुकको सम्बन्ध अगाडि बढाउन अझ मद्दत पुग्नेछ भन्नेमा मलाई पूर्ण विश्वास छ।’

नेपालको उद्देश्य जर्ज पञ्चम्लाई तक्माले सम्मान गर्नुभन्दा महŒवपूर्ण बेलायतमा दूतावास स्थापना गर्नु थियो र सर्वोच्च सम्मान तक्मा त केवल उनीहरूलाई खुसी पार्न दिन लागिएको थियो। ब्रिटिसको प्राथमिकता भने पहिले तक्मा सम्मान ग्रहण गर्ने र त्यसपछि दूतावासबारे कुरा गर्दै गरौंला भन्ने खालको थियो। औपचारिक कार्यक्रम पनि त्यसरी नै तय भएको थियो। यही विषयलाई त्यहाँका छापाले समेत नेपालको सर्वोच्च सम्मान तक्मा र कुनै दुर्लभ उपहार राजालाई नेपालका तर्फबाट प्रदान गर्ने भन्ने खबर प्रमुखतासाथ छापेका थिए।

बहादुरशमशेर नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सन् १९३४ जुलाई १ का दिन बेलायती राजदरबार ‘बकिंघम प्यालेस’ पुगेर नेपालका प्रधानमन्त्री श्री ३ जुद्धशमशेर राणाका तर्फबाट तत्कालीन बेलायती राजा जर्ज पञ्चम्लाई नेपालको सर्वोच्च सम्मान ‘ओजस्वी राजन्य’ तक्माले सम्मान गरे। तक्मा पहिर्‍याउने औपचारिक कार्यक्रममा शिरमा श्रीपेच पहिरिएर पुगेका बहादुरशमशेरले श्रीपेचकै कारण कठिनाइ झेल्नु परेछ। श्रीपेचमा जडित अग्लो कल्की होचो ढोकाबाट छिर्न नसक्ने, उनी निहुरिएर वा श्रीपेच फुकाली प्रवेश गर्न नमिल्ने भएपछि उनको श्रीपेचमा जडित कल्की निकालेर ढोकाबाट प्रवेश गरेछन्। त्यस्तै प्रक्रिया बाहिर निस्कने बेलासमेत भएछ जसको तस्बिर फ्रान्सेली पत्रिका एक्सेलेसरले छापेको रहेछ।

जुन महिनाको पहिलो दिन नै तक्माले सम्मान गरेपछि बहादुरशमशेरले नेपालका राजा श्री ५ त्रिभुवनका प्रतिनिधि राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउन भने थप ११ दिन कुर्नु पर्‍यो। १२ जुनका दिनमा उनले पुनः बकिंघम प्यालेस पुगेर नेपालको इतिहासमा पहिलोपटक मिनिस्टर तहका राजदूतका रूपमा बेलायती राजा जर्ज पञ्चमलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाए।

राजदूतको ओहदाको प्रमाणपत्र बुझाइसकेपछि अब उनलाई विभिन्न औपचारिक कार्यक्रममा आमन्त्रण गर्नेदेखि विभिन्न क्षेत्रको भ्रमण गराए। ३० जुनमा उनी ‘दी एअर काउन्सिल’ले आयोजना गरेको रोयल एअर सो कार्यक्रममा सहभागी भएर वायुसेनाका जवानहरूले लगाउने प्यारासुट निकै चाखलाग्दो मानेर अवलोकन गर्नुका साथै त्यहाँको नयाँ नौलो प्रविधिबारे उनले जानकारी लिए।

५ जुलाईमा उनी त्यहाँको क्रोयडन हवाई अड्डा पुगे। उनको आगमनमा फूलहरूले सजाएको हवाई अड्डामा उनलाई रातो कार्पेट नै बिछ्याएर स्वागत गरियो। उनी त्यहाँ करिब पन्ध्र बीस मिनेटजति विमानमा उडेर लन्डन सहरको हवाई अवलोकन गर्नुका साथै हवाई उडानको मज्जा लिए।

(सन्डे ट्रिब्युन, सिंगापुर, ८ जुलाई १९३४)

बेलायत पुगेको करिब १५ दिनभित्र तक्मा पहिर्‍याउने र ओहोदाको प्रमाणपत्र बुझाउने काम सम्पन्न गरिसकेको टोलीको वास्तविक परीक्षण अब सुरु हुँदै थियो। मिसनको वास्तविक कार्य बेलायतमा आवासीय दूतावास स्थापना गर्ने थियो तर त्यसमा स्वीकृति दिन ब्रिटिस पक्षले आनकानी गरिरहे। दिल्लीलाई छाडेर नेपालले बेलायतस्थित सेक्रेटरी स्टेट फर इन्डियासँग नेपालको सोझो सम्पर्क स्थापित गर्ने र बाँकी विश्वसँग समेत सम्पर्क सञ्जाल विस्तार गर्ने उद्देश्यमा अब बेलायत बाधक हुँदै थियो।

उनले राजदूतको ओहोदाको प्रमाणपत्र बुझाइसकेपछि माथि उल्लेख उनी सहभागी दुवै कार्यक्रममा उनको परिचय भने बेलायतस्थित नेपाली राजदूत नभनी नेपालका आएका उच्चस्तरीय नेपाली अतिथि भनी दिइएको छ। बेलायतमा नेपालको दूतावास स्थापना गर्न बेलायत अनिच्छुक रहेको स्वयं राजदूत बहादुरशमशेरले मनन गरिसकेका थिए भन्ने यसपछिका उनका घटनाक्रमहरूले देखाउँछन्।

अत्यन्तै रिसाहा र हठी स्वभावका बहादुरशमशेरबारे ब्रिटिस जानकार त थिए तर त्यतिन्जेल उनीहरूले उनको वास्ता गरेनन् जबसम्म बहादुरशमशेरले इटालीको रोम र जर्मनीको बर्लिन टेकेनन्। संसारको ठूलो हिस्सामा उपनिवेश कायम गरेर बसेका ब्रिटिसलाई युरोपमा चुनौती दिन सक्ने गरी खडा हुँदै गरेका इटालीमा सेनोर मुसोलिनी र जर्मनीमा एडोल्फ हिटलरबारे बहादुरशमशेर पक्कै जानकार थिए। निरंकुश स्वभावका यताका जुद्धशमशेर शासनकालमा उताका निरंकुश मुसोलिनी र हिटलरसँग निकटता बढ्दै थियो।

यता बेलायती राजपरिवारको सदस्यको जन्मदिनका लागि आएको निमन्त्रणामा उपस्थिति नभई जुलाई १२ मा बहादुरशमशेर इटालीको रोम पुगेर इटालीका तत्कालीन राजा इम्यानुएल भिक्टर तृतीयलाई ‘ओजस्वी राजन्य’ तक्माले सम्मान गरे। तत्कालीन समयमा त्यो घटना सामान्य थिएन। त्यसबारे सम्भवतः ब्रिटिसले सोचेका पनि थिएनन् जसले उनीहरूलाई ब्यूँझायो।

रोमबाट उनी जर्मनीको बर्लिन पुगेका थिए जहाँ उच्चस्तरीय भेटघाटको कार्यक्रम थियो। तर उता बेलायतमा पत्नीको निधन भइसकेमा गम्भीर बिरामी भन्ने खबर पाएकाले उनी बेलायत फर्किए। यसै घटनापछि बहादुरशमशेरले रोम वा बर्लिनमा दूतावास खोल्न सक्छन्, त्यसो हुँदा आफ्नो स्वार्थमा झनै नोक्सान पर्न जान्छ कि भनी झस्किएर ब्रिटिसले नेपाललाई दूतावास खोल्न अनुमति दिए। त्यसपछि मात्र बेलायतमा नेपालको पहिलो दूतावास सहज रूपमा स्थापना भयो।

बेलायतमा स्वतन्त्र एसियाली मुलुक नेपालको दूतावास स्थापना हुँदा त्यहाँ अन्य एसियाली मुलुक चीन, जापान, थाइल्यान्ड, अफगानिस्तान, साउदी अरेबिया, इराक र इरानका दूतावास मात्र थिए।

बेलायत फर्किएपछि पत्नीको निधनको केही दिनपश्चात् उनी एउटा अर्को सार्वजनिक कार्यक्रममा उपस्थित भए। आफ्नो कार्यकालमा कुनै पनि औपचारिक रात्रिभोजमा सहभागी नभएका बहादुरशमशेर २२ जुलाईमा ब्रिटिस इन्डियन समाजले आयोजना गरेको दिवा ‘टी गार्डेन पार्टी’मा भने उपस्थित भए। आयोजक संस्थाका अध्यक्ष केन्द्रीय हिन्दू समाज बेलायतका अध्यक्ष हिन्दू राम सिंह नेहरा नै थिए जो उनलाई भिक्टोरिया स्टेसनमा स्वागत गर्न उपस्थित थिए, त्यस्तै उनकी पत्नीको अन्तिम संस्कारमा समेत सहभागी थिए।

हालसम्म प्राप्त भएको आर्काइभ दस्तावेजका अनुसार त्यसपछि उनको सक्रिय सहभागिता कुनै पनि अखबारका पानामा कतै पनि परेको देखिँदैन। त्यसपछिका दिनमा समेत उनलाई साउदी अरेबिया, सोभियत युनियन, अफगानिस्तान, जापानलगायतका दूतावासबाट समेत औपचारिक कार्यक्रमको निमन्त्रणा आएको देखिन्छ तर उनको उपस्थिति भने भेटिँदैन। उनलाई बेलायतस्थित विभिन्न सामाजिक संघसंस्था, अध्ययन अध्यापन गर्ने संस्था, बेलायती राजपरिवार साथै कमन वेल्थबाट औपचारिक कार्यक्रममा निमन्त्रणा भने आइरहेको देखिन्छ।

पछिल्ला दिनमा बहादुरशमशेर राजदूत पदमा बहाल रहे पनि सार्वजनिक समारोहमा उनको निष्क्रियता बढेको महसुस हुने अर्को एउटा घटना छ। सन् १९१० को मे ६ मा गद्दी आरोहण गरेका राजा जर्ज पञ्चम्को सन् १९३५ मा सम्पन्न रजत जयन्ती समारोहमा उनी उपस्थित भएनन् र नेपालबाट प्रतिनिधिका रूपमा कृष्णशमशेर उपस्थित भए। बहादुरशमशेरको ठाउँमा नयाँ राजदूतका रूपमा उनै लेफ्टिनेन्ट जनरल कृष्णशमशेर नियुक्त भए र उनले सन् १९३५ को जुलाई २५ मा आफ्नो ओहोदाको प्रमाणपत्र राजा जर्ज पञ्चम्लाई बुझाए। बहादुरशमशेर बेलायतबाट अगस्ट महिनामै भारत फर्किएर सिमला पुगी भारतका तत्कालीन भाइसराय विलिङ्डनसँग शिष्टाचार भेट गरी सेप्टेम्बर पहिलो साता नै नेपाल फर्किए।

बहादुरशमशेर राजदूतबाट नेपाल फर्किएपछि प्रधानमन्त्रीका हजुरिया जनरल रहे। पद्मशमशेरका पालामा सन् १९४६ अप्रिल २३ मा भारतका तत्कालीन भाइसराय एवं गभर्नर जनरल भाउकाउन्ट वाभेललाई दिल्ली पुगेर ‘नेपाल तारा प्रथम’बाट सम्मान गरे।

अन्नपूर्ण पोष्टको फुर्सद परिशिष्टांक २८ मङि्सर २०७६ 

No comments:

Post a Comment

न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...

  न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा... -  सन्तोष खडेरी हृषिकेश शाह प्राध्यापक , राजनीतिज्ञ , कुटनीतिज्ञ , मन्त्री , संविधान मस...