Monday 20 December 2021

राजकुमारी मैया, खड्गबहादुर विष्ट र गोर्खा लिग

 राजकुमारी मैया, खड्गबहादुर विष्ट र गोर्खा लिग

सन्तोष खडेरी

१९८३ सालको दसैँअघि नै जनकपुर स्थायी निवासी १४ वर्षीया एक किशोरी ज्ञानीबिजौरी नामकी अर्की महिलासँग विवाह गर्न आफ्नी हजुरआमा बसेको स्थान भारतको बनारसतर्फ प्रस्थान गर्छिन् । त्यसबेला भारतको कलकत्तामा २२ वर्षीय खड्गबहादुर सिंह विष्ट नामक नेपाली समुदायका युवक बीए उत्तीर्ण गरेर वकालतको लाइसेन्स लिने प्रक्रियामा हुन्छन् । प्रथम विश्वयुद्धको अन्त्यपछि भारतमा रहेका नेपालीहरूले त्यस समयभन्दा करिब छ वर्षअगावै नै एकतावद्ध भई 'गोर्खा लिगभन्ने संगठन नै खोलेर त्यसबाट नेपाली भाषाको पत्रिकासमेत निकाल्न सुरु गरिसकेका हुन्छन् । सोही वर्ष भारतको कलकत्ता राज्यमा भएको घटना र त्यसको केन्द्रबिन्दुमा रहेका मुख्य यी तीन पात्र राजकुमारी मैया, खड्गबहादुर विष्ट र गोर्खा लिगको भूमिकाबारे तत्कालीन समयमा प्रकाशित गोर्खा लिगको मुखपत्रमा छापिएको खबरका आधारमा यो लेख तयार गरिएको छ । साथै, त्यतिबेला त्यहाँ प्रयोग गरिएको शब्द 'गोर्खाली जाती'लाई यस आलेखमा 'नेपाली समुदायशब्दले प्रतिस्थापन गरिएको छ ।

वि.सं. १९८३ माघ २० को अंकमा गोर्खा लिगको मुखपत्रमा पहिलो समाचारको रूपमा 'एक नेपाली राजकुमारी कन्याको हृदयविदारक घटनाशीर्षकमा एउटा खबर छापिन्छ ।

उक्त खबर अनुसार जनकपुरका अमरजङ्ग राणाकी नातिनी बबरजङ्ग राणाकी छोरी मैया राजकुमारी नाम गरेकी अन्दाजी १४ वर्षकी नेपाली कन्या रहिछन् उनी । उनलाई बनारस बस्ने पण्डित पद्मप्रसाद उपाध्यायले फकाई फुल्याई आफ्नो बसमा पारेर बंगालको धनाढ्य वृद्ध व्यापारी हीरालाल अग्रवाललाई १ हजार ३ सय रुपैयाँमा बिक्री गरेछन् । बनारस बस्ने पण्डित पद्मप्रसाद उपाध्याय नेपाली भाषाका प्रसिद्ध लेखक विद्वान पुण्यप्रसाद उपाध्यायका पिता रहेछन् ।

त्यस्तै, श्री महाकाली औषधालय र काशी फर्माका मालिकसमेत रहेछन् । गत ५ माघका दिन हीरालालको घरमा करिब पाँच महिना बिताएपछि त्यहाँबाट फुत्किन पाएको पहिलो मौकाको सदुपयोग गर्दै उनी भागेर कलकत्ताको लालबजारमा रहेको डेपुटी पुलिस कमिस्नरको कार्यालयमा पुगेर आफ्नो सम्पूर्ण वेदना सुनाइछन् । बयानमा उनले आफूले त्यहाँ शारीरिक मानसिक हिंसा ब्यहोर्नुपरेकाले आफू किमार्थ फर्केर अब हीरालालको घरमा नजाने भन्दै कारबाहीको माग गरिछन् ।

उक्त खबरसँगै सम्पादकले उक्त हृदयविदारक घटनालाई सम्पूर्ण नेपाली समुदायमाथिको अपमानका रूपमा लिँदै त्यसको घोर भर्त्सना गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्दछन् ।

त्यस्तै, अर्को सप्ताह 'गोर्खाली ध्यान देऊ न !शीर्षकमा स्थानीय संवाददाताको स्थलगत रिपोर्टिङसहितको अर्को खबर छापिन्छ । साचारमा विवाह गर्न भनी काशी ल्याइएकी बहुतै रूपवती राजकुमारी कन्याको विवाह एक जना पाण्डे थरका युवकसँग हुने पक्का भइसकेको थियो । तर पण्डित पद्मप्रसादले षड्यन्त्रपूर्वक उक्त विवाहलाई विफल तुल्याइदिए । पद्मप्रसादले राजकुमारीकी दिदीलाई विवाह गरी आफूले राखेकाले उनी उसको भिनाजु भएको र सालीको अभिभावक भएकाले संरक्षण गर्ने जिम्मेवारी आफ्नो भनी आफैँले जिम्मा लिएछन् । त्यसका लागि अदालतमा मुद्दा पनि चलेको तर टुङ्गो नै नलागी पद्मप्रसादले १ हजार ३ सय रूपैयाँ लिएर हीरालाल अग्रवालसँग बनारसमा विवाह गरिदिए र राजकुमारीलाई कलकत्ता पुर्‍याए । हाल उनी त्यहीँ आफ्नी दिदी साइनो पर्नेकोमा बस्ने गर्छिन् जसका पति कलकत्ता प्रहरीमा रहेछन् । हीरालाल र पद्मप्रसादका विरुद्धमा उजुरी दर्ता भए पनि उनीहरूको पहुँचका कारण कारबाही हुने स्थिति देखिएको छैन । त्यस्तै, हीरालालले गुण्डाहरू परिचालित गरी राजकुमारीलाई जबर्जस्ती लैजान खोजेकाले उनी झन् डराएकी रहिछन् ।

१९ फागुन १९८३ को अंकमा 'जातीय सम्मान रक्षाका लागि बलिदान !' शीर्षकमा अर्को एउटा खबर छापिन्छ । त्यसमा कलकत्ता खबरको स्राेत उल्लेख गर्दै कलकत्ता बस्ने वर्ष २२ का खड्गबहादुर विष्ट बीएले गत १४ गते नेपाली कन्या राजकुमारीका दुराचारी हीरालाललाई उसको घाँटीमा खुकुरी प्रहार गरी घाइते तुल्याएकोमा १८ फागुनमा हीरालाल मारिएको बताइएको हुन्छ । हीरालालको कुकर्मको परिणामस्वरूप उसलाई खड्गबहादुरले प्रहार गरेछन् र हत्या अभियोगमा खड्गबहादुरलाई कलकत्ता प्रहरीले गिरफ्तार गरी हिरासतमा पुर्‍याएछ ।

 

त्यस घटनालाई सम्पूर्ण नेपाली समुदायको अपमान, नेपालीको वीरता र आफ्ना कमजोरीहरूलाई समेत जोड्दै गोर्खा लिगको मुखपत्रमा यसरी वर्णन गरिएको छ:

 

आज हामी सारा पृथ्वीभरमा वीर गोर्खा कहलाउँदै छौं । ता पनि अहिलेका कुलङ्गार अत्याचारीहरूले हाम्रा अवला नारीहरूलाई ललाई फकाई ल्याई आफूले पनि अत्याचार गरि पैसा पाए पछि दुष्ट दूराचारीहरूलाई बेचिंदिँदा आज आफ्ना नेपाली आईमाईलाई फलानोले बेच्यो भन्ने कुरा सुन्दा आफ्ना आईमाई पनि धान्न नसक्ने हामी त नपुंसक बराबर भयौं । बाबू बाजेले कमाएको वीर गोर्खाली भन्ने नाम माटोमा मिलायौं । यो अहिले एउटा राजकुमारीको प्रश्न मात्र होइन । सम्पूर्ण नेपाली समुदायका महिलाहरूको सुरक्षाको प्रश्न हो । अब पनि हामी एकतावद्ध भएर यस्ता प्रथा अन्त्य गर्न जुटेनौं भने पद्मप्रसाद जस्ता अत्याचारीले हाम्रो पूर्खाले कमाएको नाम नै फ्याँकिदिन्छन् । त्यसैले नेपाली समुदाय एकजुट भएर त्यस विरुद्ध लागाैं 

नेपाली युवा खड्गबहादुरको कदमलाई त्याे मुखपत्रमा यसरी सम्बोधन गरिएको रहेछ:

हामीलाई यो खेद छ कि एक नेपाली समुदाय प्रेमी उत्साहित युवाले आवेगमा आई आज आफ्ना चेलीहरू प्रती भएको अत्याचार सहन नसकी अत्याचारी माथी जाईलागे त्यसैका कारण उसको प्राण समेत गयो । उनी प्रती हाम्रो सहानुभूति छ । त्यस्तै उनी विरुद्ध अब कानूनी कारबाही चल्नेछ । तर पनि हाम्रा छोरीचेलीहरूको इज्जत प्रती खेलवाड गर्ने विरुद्ध र चेलीहरूको इज्जत रक्षा गर्न त्यस्तै आफ्नो वीर गोर्खाली पूर्खाको इज्जतका खातिर आफ्नो ज्यानको आहुती समेत दिने गरि कुनै नेपाली युवा खटिनु हाम्रो समुदायका लागि गौरवको बिषय हो ।

प्रहरीले त्यतिबेलासम्म पनि घटनाको जाँचबुझ सकेर अदालतमा मुद्दा दायर नगर्नु त्यस्तै त्यहाँ हीरालालको धनबल र जनबल छविका कारणले मुद्दा नै प्रभावित होला कि भन्ने आशंकासमेत रहेछ नेपाली समुदायलाई । त्यसैले पनि पीडित राजकुमारीको मुद्दामा सहायताका लागि गोर्खा लिगले एउटा 'राजकुमारी सहायता कोष'को समेत गठन गरी सहयोग जुटाउने र घटना कलकत्तामा भएकाले गोर्खा लिगका अध्यक्षसहितका पदाधिकारीलाई कलकत्ता नै पठाउने जानकारी गरायो ।

नेपाली समुदायको हकहितका पक्षमा लड्ने त्यहाँ रहेको एक मात्र नेपाली संगठन गोर्खा लिगले त्यस घटनालाई आफ्नै हातमा लिएर अगाडि बढ्ने निर्णय गर्‍याे । 

२१ फागुन १९८३ का दिन नरेन्द्रशमशेर जबराको सभापतित्वमा सम्पन्न गोर्खा लिगको साधारण अधिवेशनले त्यसबारे निम्नलिखित निर्णय गर्‍याे:

१. राजकुमारी मैयाको कलकत्तामा चलिरहेको मुद्दामा सहायता गर्नका लागि 'राजकुमारी सहायता कोष'को गठन गर्ने र त्याे काेषमा संकलित रकमले राजकुमारीलाई आवश्यक मद्दत गर्ने ।

२. 'राजकुमारी सहायता कोष'का निम्ति सम्पूर्ण नेपालीहरूलाई उक्त कोषमा आ-आफ्नो तर्फबाट सक्दो सहायता गरियोस् र उनलाई सहयोग गरी आफ्नो समुदायको गौरव बढाइयोस् भनी सार्वजनिक आह्वान गर्ने ।

३. 'राजकुमारी सहायता कोष'का लागि विभिन्न स्थानमा संकलन भएको रकम यथाशक्य चाँडो गोर्खा लिगका महासचिव वा इलाहाबाद बैंक देहरादुनको नाममा जम्मा गर्ने ।

४. कलकत्तामा चलिरहेको राजकुमारीको मुद्दामा जतिसक्दो चाँडो सहायता पुर्‍याउनुपर्ने भएकाले गोर्खा लिगका अध्यक्ष ठाकुर चन्दन सिंह र महासचिव सुवेदार शेरबहादुर खत्रीलाई तत्काल कलकत्ता पठाउने ।

२२ फागुन १९८३ (सन् १९२७ मार्च ०४) का दिन मिस्टर टाइसन चीफ प्रेसिडेन्सी मजिस्ट्रेट कलकत्ता अदालतमा अभियुक्त खड्गबहादुर विष्टले हीरालाल अग्रवालमाथि धारिलो हतियार प्रहार गरी भएको हत्या अभियोगमा दण्डसंहिताको ३०२ धाराबमोजिमको मुद्दा दर्ता भयो ।

सरकारी वकिलले त्यहाँ खड्गबहादुरको पहिल्यै लिइसकेको लिखित बयान पढेर सुनाए । त्यसलाई  गोर्खा लिगको मुखपत्रले २५ फागुन १९८३ को अंकमा श्रीयुक्त खड्गबहादुरसिंह विष्ट बीएको बयान । 'चिर निद्रित वीर गोर्खाली जाती उठोस् ! मेरो विश्वास छ- मैले केही अपराध गरिनँभन्ने शीर्षकमा खबर छाप्यो ।

त्यहाँ छापिएको बयान यस्तो थियो:

राजकुमारीको मामिला समाचार पत्रमा छापिए लगत्तै मेरो ध्यान यस मामलाको थप खोजतिर गयो । जतिबेला प्रहरीले राजकुमारीका मामलाको जाँच गर्दै थियो त्यतिबेला प्रहरी निगरानीमा रहेकी राजकुमारी संग भेट गरि मैले यसबारेमा कुरा गरें । उनीबाट हीरालाल र उसका साथीहरूले उनी प्रती गरेको पैशाचिक एवं अति घृणित दूराचारको असह्य अवस्था बारे मलाई थाह भयो । हृदयलाई नै हल्लाउने यस कारुण कथाले मेरो रगत उम्लन लाग्यो र म मा यो अत्याचारको बदला लिने भाव बढ्दै गयो । यो अत्याचारको खबरले स्थानीय नेपाली समुदायलाई समेत साह्रै नै दुखित तुल्यायो । म सचिव रहेको कलकत्ता गोर्खा एशोशियसनले समेत हामी संग भएका सम्पूर्ण प्रमाण प्रहरीलाई दिएर पूर्ण सहयोग गर्ने निर्णय गर्‍याे । नेपाल सरकार र बृटिश सरकारले समेत उचित कारबाही गरिरहेकै थिए । त्यसै बेला बाजेका उमेरका नरपिशाचहरूले गरेका घोर अत्याचारका कारण राजकुमारीको स्वास्थ्यमा समस्या आएर 'लेडी डफरिन अस्पताल'मा उनी भर्ना भइन् । त्यसपछी मलाई समेत आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने विचार दृढ हुँदै गयो । मेरो विचारका दुई सिद्धान्त थिए । पहिलो हीरालाल र अरु अरु समेत जो नेपाली कन्या तथा स्त्रीहरूको सतीत्व नष्ट भ्रष्ट गरि रहेका थिए उनीहरूलाई कडा चेतावनी दिउँ । त्यस्तै दोस्राे बहादुर गोर्खाली नेपालीहरू जसको आफ्नो गौरव अज्ञान निद्राका कारणले हीन दशामा परेको छत्यसलाई फेरि जगाउँ । यिनै विचारलाई सन्मुख राखी दुष्टहरूलाई चेतावनी दिने संकल्प दृढ गरे । महात्मा गान्धीका अहिंसात्मक आन्दोलनले मलाई अहिंसाका प्रति दृढ बनाएको थियो । त्यस्तै १३ वर्षको उमेर देखि म पूर्ण शाकाहारी हुँ । किन्तु यस राक्षसी घटनाले जुन कार्यलाई म पहिले तिरस्कारका दृष्टिले देख्ने गर्थे आज विवस भई त्यही कार्य गर्न पर्‍याे । तैपनि मैले कुनै अपराध वा हिंसा गरिन भन्ने दृढ विश्वास छ मलाई । यति मात्र होइन बरु मैले अहिंसाको एउटा दृढ व्रत यस प्रकार पालना गरे जो गर्नु पर्ने हो । न्यायकारी परमात्माले हज्जारौं अवोध अवलाहरूको ज्यान बचाउनका निमित्त मलाई नै एउटा मुख्य साधन बनाएका थिए । मेरो ज्यानले लाखौं अवोध अवलाको उद्धार हुन्छ भने मेरो तुच्छ जीवनको आहुती एउटा महान् कार्यको आदर्श होला ।

त्यसपछिका दिनमा लागातार गोर्खा लिगले भारतभर विभिन्न स्थानमा सभा आयोजना गरी 'राजकुमारी सहायता कोष'मा  सहयोग रकम संकलन गर्दै गयो । साथै, सहयोगका लागि आफ्नो मुखपत्रमार्फत सार्वजनिक आह्वान गर्दै गयो ।

 ३० चैत १९८३ को अंकमा गोर्खा लिगको मुखपत्रमा १० चैतको अदालतको गतिविधि र फौसलासमेत छापिएको थियो । राजकुमारी मैयाले अदालतमा मजिस्ट्रेडको सामुन्ने दिएको बयान एवं हीरालालको उपचारमा संलग्न डाक्टरको बयानसमेत छापियो ।

राजकुमारीको बयान यस्तो थियो:

मलाई पण्डित पद्मप्रसादले मेरी हजुरआमा संग जबर्जस्ति छिनेर कलकत्ता पुर्‍याएर हीरालाललाई बिक्री गर्‍याे । हीरालालले मलाई १ हजार ३ सय रूपैयाँमा किनेको भनेर सधैं अत्याचार गर्ने गर्दथ्यो । । मेरो इच्छा बिपरित रक्सी खुवाउने, बलात्कार गर्ने त्यस्तै आफ्ना अन्य दुई मित्रलाई समेत मलाई बलात्कार गर्न लगाउँथ्यो । उसले मलाई पाँच महिना सम्म निरन्तर अत्याचार गरिरह्यो । उनीहरूले मलाई खरिद गरेकोले भाग्न नसक्ने भन्दै छुरा देखाएर मलाई तर्साउने गर्दथे । मैले आफू माथी भईरहेको अत्याचार बारे पत्र लेखी मजिस्ट्रेड कहाँ पनि पठाएको थिए तर पत्र पुग्यो पुगेन मलाई थाह भएन । मैले लामो समय सम्म त्यहाँबाट भाग्ने उपयुक्त समय पर्खिरहेको थिए । एक दिन उपयुक्त मौका पाएर त्यहाँ बाट भागेर भाडाको मोटर चढेर लालबजार पुगे । खड्गबहादुर मलाई भेट्न आएका थिए र मैले आफू माथी भएको सम्पूर्ण अत्याचार बारे उनलाई बताएको थिए । साथै, मैले यो यसको कारक हीरालाल हो समेत भनेको थिए ।

हीरालालको उपचारमा संलग्न मेडिकल कलेजका डाक्टर बेनर्जीले आफ्नो बयानमा हीरालालको मृत्यु गनोरियाका कारण भएको बताए । गनोरिया नभएका भए खुकुरीको चोटले मात्र मर्ने सम्भावना थिएन । त्यो नभएको भए ऊ २० दिनभित्र निको हुन सक्थ्यो तर गनोरियाका कारणले उसको चाँडो निधन भयो । अदालतमा ज्यान लिइहाल्ने खालको चोट नभएको भनी डाक्टरी बयान दिए ।

खड्गबहादुर विष्टले अदालतको बयानमा नेपाली चेलीको अस्मिता लुट्ने र असह्य मानसिक, शारीरिक रूपमा अत्याचार गर्ने अत्याचारी हीरालालविरुद्ध आफूले समेत असह्य भएर आक्रमण गरेको बताए । त्यस्तै, उनले आफ्नो समुदायका चेलीप्रति अत्याचार गर्ने अत्याचारीलाई कारबाही गर्ने मेरो कर्तव्य हो कि होइन ? कि त उनीप्रति भएको अत्याचारलाई सहेर उल्टो हामी आफैँ लजाएर बस्नुपर्ने हो भन्दै प्रतिप्रश्नसमेत गरे ।

खड्गबहादुर विष्टले राजकुमारीको रक्षाका लागि आफूले अत्याचारी हीरालाललाई मार्दा कानुनी एवं नैतिक दृष्टिले कुनै अपराध गरिनँ भन्न आफूलाई लगाएको बताए । तर, यदि अदालतले आफूलाई अपराध गरेको ठहर गर्छ भने सबैभन्दा ठूलो सजाय फासीको सजाय आफूलाई दिइए पनि आफूलाई स्वीकार हुने बताए । फासी चढेर परआत्माका अगाडि गई पृथ्वीमा नारीलाई अत्याचार नगर्ने राज्य स्थापना हुनुपर्छ, त्यसमा स्त्रीको रक्षाका लागि पुरुष वीर हुनुपर्छ भनी छलफल गरौँला भनी बताए ।

खड्गबहादुर विष्टलाई सोही दिन (१० चैत) अदालतले हीरालालको हत्यामा दोषी प्रमाणित गरेन । तर उनलाई धारिलो हतियार प्रहार गरी ज्यान लिने चेष्टा गरेको मामिलामा भने दोषी ठहर गरी अदालतले आठ वर्ष कैदको सजाय सुनायो ।

खड्गबहादुरविरुद्ध अदालतले सजाय सुनाइसकेपछि भारतभर धर्मशालामा सार्वजनिक गोर्खा सभाहरू आयोजना गर्न थालियो । आफ्ना चेलीबेटीको इज्जतमाथि खेलवाड गर्नेविरुद्ध कारबाही गरी खड्गबहादुर विष्टले कुनै अपराध नगरेको, उल्टै पुण्यकाे काम गरेको भन्ने चर्चासमेत हुन थाल्याे । जहाँ खड्गबहादुरको दिर्घायुको कामनासहित कतै जयजयकार गरियो । त्यस्तै, कतै उनको सजाय माफ गर्नका लागि बंगालका गभर्नरसँग अपिल गर्ने कार्यसमेत गरियो ।

१६ चैतमा कलकत्ताका युरोपियन तथा भारतीय महिलाहरूका प्रतिनिधिले समेत बंगाल गभर्नरका होम मेम्बरसँग भेट गरी नेपाली युवा प्रतिनिधि खड्गबहादुर जसले आफ्नो समुदायमाथि भएको अत्याचार सहन नसकी जे गर्‍याे, त्यसको सजायबाट मुक्त गरियोस् भनी अनुरोध गरे ।

कलकत्तामा हिन्दु सभाले समेत २१ चैतमा बृहत् हिन्दु विराट सभा आयोजना गरी खड्गबहादुरको सजाय माफ गरिदिन बंगालका गभर्नरसँग अपिल गर्ने निर्णय गर्‍याे । बंगाल प्रान्तभरका सामुदायिक संस्था, हिन्दु सभा, जातीय संस्था, गोर्खा समाजबाट समेत बृहत् भेला आयोजना गरी खड्गबहादुरको रिहाइको अपिल बंगालका गभर्नरसमक्ष गर्ने कार्य निरन्तर चलिरह्यो ।

खड्गबहादुरलाई त्यहाँ बीर केशरी, कर्मयोगी, बीरबरलगायतका उपाधिसमेत प्रदान गरियो । पत्रिकामा विभिन्न व्यक्तिहरूले उनको कदम अत्याचारविरुद्ध हो भनी उनको बचाउ र रिहाइका लागि पत्रपत्रिकामा लेखसमेत लेखे । दार्जिलिङमा रहेका नेपाली भाषाका कवि धरणीधर कोइरालाले 'खड्ग-प्रसंग' शीर्षकमा कवितासमेत लेखे ।

कविताको अंश यस्तो थियो:

उठाई खड्ग 'खड्ग'ले प्रहार ता गरि दिए,
विपाक हो कुकर्मको निमित्त मात्र ती भए ।
दुशासनादी दुष्टले प्रचण्ड पाप जो गरे,
नि:स्वार्थ पार्थले भुजामहा धनुर्धरे ।
गराउने त कृष्ण हुन् किरिटिता निमित्त हुन्,
उसै गरी यहाँ बुझौं ती खड्ग धारी 'खड्ग' हुन् ।।

राजकुमारीलाई हीरालालसमक्ष १ हजार ३ सय रुपैयाँमा बिक्री गर्ने पण्डित पद्मप्रसादविरुद्ध राजकुमारीले कलकत्ता अदालतमा उजुरी दिएकी थिइन् । प्रहरीलाई छानबिन गर्न अदालतले आदेश दिएपछि पद्मप्रसादविरुद्ध समेत वारेन्ट जारी भयो ।

 

पद्मप्रसाद पक्राउ पनि परे । साथै, २८ जुलाईका दिन चीफ प्रेसिडेन्सी मजिस्ट्रेट जोराबगान कलकत्ता अदालतमा राजकुमारीको मुद्दा पेस भयो र दुवै पक्षका वकिलहरूको बहस भयो । राजकुमारीका तर्फबाट वेरिष्टर एसी मुखर्जीले बहस गरे । त्यहाँ मूलतः दुई बुँदा मुख्य रूपमा उठे । पहिलो- राजकुमारीको उमेर १८ वर्षभन्दा कम थियो थिएन । दोस्राे- राजकुमारीलाई हीरालालको हातमा पद्मप्रसादले नै बेच्यो कि बेचेन ।

त्यहाँ बहस हुँदा राजकुमारी नाबालिका रहेको प्रमाणित भयो । उनलाई पद्मप्रसादले हीरालाल अग्रवाललाई बिक्री गरेको भन्ने प्रशस्त प्रमाणका बाबजुदसमेत राजकुमारी हीरालालको घरमा गई बसेको र उनी त्यहाँबाट बाहिर निस्किएर आएको कारण देखाई पद्मप्रसादले बिक्री गरेको भन्ने प्रमाणित हुन सकेन भनी पद्मप्रसादलाई अदालतले सफाइ दियो । पद्मप्रसादले राजकुमारीको उमेर १८ वर्षभन्दा माथिको हो भनी अदालतमा पेस गर्न उनको जन्मदर्ताको जाली प्रमाणपत्र बनाएको अर्को मुद्दा थियो । त्यसमा भने अर्को वर्ष अदालतले पद्मप्रसादलाई तीन वर्षको सजाय सुनायो । तर नाबालिका बिक्री गरेको मुद्दामा भनी अदालतले उसलाई निर्दोष ठहर गर्‍याे ।

खड्गबहादुर विष्ट कानुनको विद्यार्थी एक अपरिचित नेपाली समुदायकी महिलाका लागि ज्यानको बाजी लगाएर उसले हीरालालको ज्यान लिएको घटना तत्कालीन समयमा भारतसहित पश्चिमा विश्वमा समेत चर्चित बन्यो । खड्गबहादुरलाई दिइएको आठ वर्षको सजायविरुद्ध भारतमा रहेका भारतीय एवं युरोपियन महिलाहरूले समेत ठाउँठाउँबाट उनलाई सजाय माफ गर्नका लागि बंगालका तत्कालीन गभर्नरसमक्ष अनुरोध गरेका थिए ।

अनुरोध गर्नेमा बंगालका गभर्नरकी पत्नीसमेत थिइन् । महिलाको समर्थन र दबाबले अन्ततः दुई वर्षमै खड्गबहादुर विष्ट जेलबाट रिहा भए । जेलबाट रिहा हुँदा नेपाली समुदायसहितका अन्यले समेत उनको निकै ठूलो स्वागत सत्कार गरे । रिहा भएपछि उनी महात्मा गान्धीको सत्याग्रह आन्दोलनसँग पुनः जोडिए । उनले सन् १९३० मा गान्धीले चालेको डाँडी सत्याग्रहको समयमा गान्धीलाई आफ्नो रगतले लेखेर पत्रसमेत पठाएका थिए ।

खड्गबहादुर विष्ट सन् १९३१ मा ब्रिटिस भारत सरकारविरुद्ध गतिविधि गरेको अभियोगमा पक्राउसमेत परे । उनले भारतीय स्वतन्त्रता आन्दोलनमा त्यहाँ रहेका गोर्खा समुदायहरूलाई जोड्न नेपाली भाषामा नै अंग्रेजको दमन र स्वतन्त्रताको अर्थ बुझाउन निकै मेहनतपूर्वक थुप्रै प्रर्चा, पम्फ्लेटलगायतका सामग्री तयार गरेका थिए । उनको गिरफ्तारीसँगै सरकारले जफत गरेका ती सामग्रीहरू पछि सार्वजनिकसमेत गरिए ।

राजकुमारी र खड्गबहादुर विष्टको मुद्दाले तत्कालीन समयमा नेपालबाहिर भारतभर रहेका नेपाली समुदायलाई गोर्खा लिगमार्फत एकआपसमा जोड्ने कोसिस गर्‍याे । त्यही गोर्खा लिग नै नेपालबाहिर खुलेको पहिलो नेपाली राजनीतिक संगठन थियो जसले नेपालका तत्कालीन राणा शासक चन्द्रशमशेरलाई समेत त्रस्त पारेको थियो ।

नौ दशकभन्दा बढी भएछ नेपाली चेली विदेशी भूमिमा बेचिएको र यस्ताे घटना भएको तर नेपाली चेलीहरूका लागि यो नियती अझै कायमै छ । बिक्रीको मुकाम र बिक्रीको शैली भलै फेरिएको छ तर नियती अझै उस्तै छ ।

आजको दिनमा वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीका घटनामा वृद्धि भएका छन् । ती मुलुकमा पुर्‍याइएका नेपाली चेलीहरूको अवस्था ९३ वर्षअघिकी राजकुमारी मैयाले भोगेको भन्दा पनि बढी कारुणिक भएका समाचार समयसमयमा आइरहन्छन् । तर, दुर्भाग्य, आफूमाथि अत्याचार हुँदा आजको दिनमा समेत नेपाली चेलीहरू राजकुमारी मैयाझैँ बाहिर निस्किएर आफूमाथि भएको अत्याचारविरुद्ध न्यायको लडाइँ लड्न सक्दैनन् ।

हिजोको दिनमा त अनुचित ठहर्‍याइएको खड्ग बहादुरको कदमको पक्षमा हामी छैनौँ । उनले पनि एउटा अपराधका विरुद्ध अर्को गम्भीर अपराध नै गरेका थिए । जहानियाँ राणा शासनबाट प्रजातन्त्र, पञ्चायत, बहुदल, लोकतन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पनि नेपाली महिलाहरूविरुद्ध हुने सबै किसिमका हिंसाहरू कायमै रहनुले व्यवस्था परिवर्तनको हवाला दिएर रूपान्तरण भएको गफ दिन नथाक्ने हामीलाई साँच्चै गिज्याइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७ शिलापत्र अनलाईन 


No comments:

Post a Comment

न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...

  न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा... -  सन्तोष खडेरी हृषिकेश शाह प्राध्यापक , राजनीतिज्ञ , कुटनीतिज्ञ , मन्त्री , संविधान मस...