Friday 20 November 2020

बीपीको चिठी बल्लभ भाइलाई

बीपीको चिठी बल्लभ भाइलाई

हिजो-अस्ति


सन् १९४९ मा चीनमा माओत्सेतुङको उदयपश्चात् नेपाल, भुटान र सिक्किममा समेत कम्युनिस्टले आफ्नो प्रभाव विस्तार गर्ने र ती मुलुकसमेत कम्युनिस्ट पोल्टामा जान सक्ने खबर त्यस बेला भारतसहितका अन्य तमाम पश्चिमा मिडियामा छाएको पाइन्छ।

केही समयपछि चिनियाँ सेनाको तिब्बतमा प्रवेश भएपछि यो क्षेत्रलाई चिनियाँ कम्युनिस्टको भयले झन् सतायो र केही मिडियाले अब तिब्बतपछि चिनियाँ लालसेनाको दोस्रो निशाना नेपाल भन्दै खबर प्रसारण गरे तर यसपछि सन् १९५० तिरको समयमा यहाँ चिनियाँ कम्युनिस्टको धेरै चर्चा भए पनि त्यस बेलाको राणाकालीन समयमा भने भारतीय कम्युनिस्टले समेत नेपालमा प्रभाव पार्ला भन्ने चर्चा त्यति पाइँदैनथ्यो।

सन् १९४९ अप्रिलमा औपचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टीको गठन हुनुअगावै र सन् १९५० मा नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेसको दल एकता हुनुअगावै सन् १९४८ को अक्टोबर १७ मिति राखी नेपाली राष्ट्रिय कांग्रेसको लेटरप्याडमै स्थान पटना उल्लेख गर्दै एक पत्र तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसका कार्यकारी सभापति बीपी कोइरालाले पटनाबाट भारतका तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री सरदार बल्लभ भाइ पटेललाई लेखेका रहेछन्। यद्यपि यो पत्र लेख्नुअगावै सन् १९४७ (विसं २००४) मा पद्मशमशेरको समयमै विराटनगर जुट मिलमा आमहडताल हुँदा आफूलाई कम्युनिस्ट भन्ने मनमोहन अधिकारीका साथमा बीपी आफैं पक्राउ परिसकेका थिए।

प्रस्तुत छ, सरदार बल्लभ भाइ पटेल संग्रहालयबाट प्राप्त बीपीले अंग्रेजीमा लेखेको उक्त पत्रको नेपाली भावानुवाद :बीपीको आत्मवृत्तान्तका अनुसार यो पत्रको मितिको सेरोफेरोमै बीपी दोस्रो पटक काठमाडौं आएका थिए कृष्णप्रसाद भट्टराईको साथ लागेर। उनले उक्त पत्रमा पश्चिम बंगालस्थित कम्युनिस्ट पार्टीले नेपालमा संगठन विस्तार गर्न लागेको आफूलाई जानकारी भएको, त्यस्तै बर्मामा ६० हजारको संख्यामा नेपालीहरू एकताबद्ध रहेको, आसाममा तीन लाखको संख्यामा नेपाली रहेको, दार्जिलिङ जिल्लामा समेत ९५ प्रतिशत नेपाली रहेको र त्यहाँ कम्युनिस्ट पार्टीको बलियो शक्ति भएको पृष्ठभूमिमा भारतीय स्वतन्त्रताले नेपालीमा ल्याएको चेतना खुला राजनीतिक गतिविधिमा अभिव्यक्त हुन नसके त्यसले विद्रोहको रूप लिने भन्दै नेपालमा कम्युनिस्टको प्रभाव विस्तार हुनु नेपालका लागि मात्र नभई भारतका लागि समेत खतरा हुनेछ भन्ने आफूलाई लागेकाले यो पत्र लेखेको बताएका छन्।

नेपाली राष्ट्रिय कांग्रेस

केन्द्रीय कार्यालय

मिति : १९४८/१०/१७

आदरणीय सरदारजी

मसँग विवरण यो छ कि, कम्युनिस्टहरूले आफ्ना गतिविधि नेपालमा विस्तार गर्न खोजिरहेका छन्, जुन यति लामो समयसम्म यो अवस्थाबाट मुक्त थियो। मेरो पछिल्लो दार्जिलिङ यात्राका क्रममा मलाई एकजना कम्युनिस्ट पार्टीको नेता श्री रतनलाल (पश्चिम बंगाल राज्यका विधायक) सँग भेट्ने अवसर मिल्यो। उनले यस कुराको संकेत मलाई दिए कि उनी राजनीतिक कामका लागि नेपाल प्रवेश गर्न चाहिरहेका छन्। कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ताहरूले त्यहाँ सीमा क्षेत्रका हाम्रा स्थानीय एकाइसँग कुराकानी गरिरहेका छन्। ताकि उनीहरूलाई हाम्रो संगठनको उपयोग गर्ने अनुमति मिलोस्। तर हामीले हाम्रो संगठनलाई उनीहरूसँग नलाग्न सख्त निर्देशन दिएका छौं।

बर्मामा लगभग ६० हजारको संख्यामा नेपाली छन् जो वर्तमान गृहयुद्धका कारण प्रभावित हुन बाध्य छन्। तथापि ‘अल बर्मा नेप्लिज एसोसिएसन’ले त्यहाँ रहेका नेपालीलाई सरकारप्रति बफादार रहन र विद्रोहीलाई कुनै पनि शरण नदिन आह्वान गरेको छ। आसाममा नेपालीको जनसंख्या तीन लाखभन्दा अधिक छ। त्यस्तै दार्जिलिङ जिल्लामा करिब ९५ प्रतिशत नेपाली छन्। दार्जिलिङमा कम्युनिस्ट पार्टीको बलियो शक्ति छ, त्यस्तै त्यहाँबाट नेपाल पनि छोटो दूरीमा छ। यही क्षेत्रबाट कम्युनिस्ट पार्टीले नेपालभित्र काम गर्न आफ्ना प्रतिनिधि नियुक्त गर्छन् जुन प्रशासनिक रूपमा पिछडिएको यस्तो क्षेत्र विद्रोही गतिविधि गर्न सबैभन्दा उपयुक्त हो जसमा कम्युनिस्ट उत्कृष्ट हुन्छन्।

भर्खरै प्राप्त भारतीय स्वतन्त्रताले नेपाली जनतामा समेत भयानक जागृति आएको छ। उनीहरू आफ्नो अधिकारप्रति साँच्चिकै धेरै सचेत भएका छन् जुन राणा शासकहरूले उनीहरूलाई दिन अस्वीकार गरेका छन्। नागरिक स्वतन्त्रताको अभावमा यो चेतना खुला राजनीतिक गतिविधिमा अभिव्यक्त हुन सकेन भने आत्म-अभिव्यक्ति प्रस्फुटन हुने माध्यम आतंकवाद हुन सक्छ, जुन कम्युनिस्टका लागि अपरिहार्य परिणाम हो।

नेपालमा कम्युनिस्टको प्रभाव विस्तार हुनु नेपालका लागि मात्र नभई भारतका लागि समेत खतरा हुनेछ भन्ने मलाई विश्वास छ। त्यसैले मैले यो पत्र लेखिरहेको छु।

बीपी कोइराला

कार्यकारी अध्यक्ष

नेपाली राष्ट्रिय कांग्रेस

अन्नपूर्ण पोष्टको फुर्सद परिशिष्टांक २३ कार्तिक २०७६ 

No comments:

Post a Comment

न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...

  न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा... -  सन्तोष खडेरी हृषिकेश शाह प्राध्यापक , राजनीतिज्ञ , कुटनीतिज्ञ , मन्त्री , संविधान मस...