Friday 20 November 2020

अभिनेत्री स्यान्ड्रा र हाम्राको त्यो भाइरल रोमान्स

 

अभिनेत्री स्यान्ड्रा र हाम्राको त्यो भाइरल रोमान्स

त्यो प्रेम


महाराज चन्द्र शमशेर जबराका छोरा (राणा राजकुमार) जनरल विष्णु शमशेर र अमेरिकी अभिनेत्री स्यान्ड्रा रेम्बोको झन्डै एक शताब्दीअघिको यो प्रेम रोमान्सको किस्सा आजका दिनमा भए भाइरल भनिन्थ्यो होला। सन् १९३० को दशकमा युरोपमा भएको यो घटनाले तत्कालीन समयमा अखबारका पानामा सर्वत्र चर्चा पाएको थियो। युरोप-अमेरिका एवं एसियामा त्यतिबेला छापिएका पत्रपत्रिकाहरूका खबरका आधारमा यो लेख तयार पारिएको छ। 

तत्कालीन राणा प्रधानमन्त्री महाराज चन्द्र शमशेर जबराकी कान्छी बडामहारानी बालकुमारीको तर्फबाट जन्मिएका पहिलो एवं चन्द्रका आठ भाइ छोरामध्ये छैठौँ छोरा हुन्, जनरल विष्णु शमशेर जबरा। उनको जन्म सन् १९०६ को नोभेम्बर महिनामा भएको थियो। २८ वर्षसम्म अविछिन्न रूपमा मुलुकको शासन सत्ताको बागडोर सम्हालेका चन्द्र शमशेरले आफ्ना सन्ततिका लागि प्रशस्तै धनसमेत जम्मा गरिदिएका थिए। सन् १९२९ मा उनको निधन भएपछि उनका आठ भाइ छोराहरूले बाबुको सम्पत्तिको अंशबण्डा गर्दा प्रत्येकको भागमा त्यतिबेलै करिब ८० लाख रुपैयाँ बराबरको सम्पत्ति परेको थियो। चन्द्र शमशेरका यिनै छोरा विष्णु शमशेरको अंशबण्डामा ८० लाख रूपैयाँ परेको अंशबण्डासम्बन्धी कागजात आफूले हेरेको भनी सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’को पहिलो भागमा उल्लेख गरेका छन्। 

विष्णु शमशेरको विवाह ११ वर्षको उमेरमा उर्मिला राज्यलक्ष्मीदेवीसँग भएको थियो। बाबु चन्द्र शमशेरको निधनपछि प्रधानमन्त्री भीम शमशेरको पालामा नै विष्णुशमशेर राणा रोलक्रमबाट हटेर सन् १९३१ मा नै सधैँका लागि उतै बस्ने गरी बेलायततर्फ लागिसकेका थिए। उतै लन्डनमा नै सोही वर्ष विष्णु शमशेरको छोरा पीताम्बर शमशेरको जन्म भएको थियो। 

ठूलो धन राशिसहित २५ वर्षको कटौले उमेरमा युरोप प्रवेश गरेका जनरल विष्णु शमशेर युरोपका औपचारिक समारोहमा सहभागी हुँदा नै उनको व्यक्तित्वले सञ्चारमाध्यमको ध्यान खिचिसकेको थियो। ठूलो दलबलसहित सन् १९०८ मा बेलायतको भ्रमण गरेका महाराज चन्द्र शमशेर जसले बेलायती सम्राट् जर्ज पञ्चमदेखि राजकुमार एडवार्डसम्मलाई नेपाल भित्र्याएर सिकार मात्र खेलाएनन्, उनले प्रथम विश्वयुद्धमा बेलायतलाई सैन्य र आर्थिक सहयोगसमेत उपलब्ध गराएका थिए। बेलायतलाई तिब्बत पस्न सघाएर पनि तिनले मित्र ठानेका चन्द्र शमशेरको छोरा हुनुका नाताले पनि बेलायतसहित युरोपमा विष्णु शमशेरको महत्व थियो। उनलाई त्यहाँका मिडियाले ‘प्रिन्स विष्णु अफ नेपाल’ भनी सम्बोधन गरेर खबर छाप्थे। 

झन्डै सय वर्षअघिको यो प्रेमकथा कुनै कालजयी सिनेमा वा आख्यानभन्दा कम रोमाञ्चक छैन। र, अक्सर दुःखान्तक महाआख्यानहरू नै सदाबहार हुन्छन्, सदाबहारको सीधा सम्बन्ध मिलन हैन, विछोडसँग हुन्छ। 










उच्च घरानियाँ महँगो पोसाक, आकर्षक जीउडालसहितको व्यक्तित्व त्यो सँगै सिंगो युरोपका विभिन्न मुलुकका महँगा सहरका बडेबडे पार्टी आयोजना गरी प्रशस्त धन खर्चने हैसियत भएका कारण पनि विष्णु त्यतिबेला त्यताको पश्चिमा समाजमा साह्रै आकर्षक व्यक्ति थिए। विष्णु शमशेर युरोप पुगेको अर्को वर्षको सन् १९३२ को सुरुवाततिर फ्रान्सको एउटा भव्य कार्यक्रममा उपस्थित हुन पेरिस पुगेका थिए। त्यही भव्य कार्यक्रमका नृत्यका लागि अमेरिकी सांगीतिक समूहका साथ हलिउड अभिनेत्री ‘डोरोथी रेम्बो’ उर्फ ‘स्यान्ड्रा रेम्बो’समेत त्यहीँ पुगेकी थिइन।

स्यान्ड्रा सन् १९०९ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी, न्युयोर्कमा बसाइँ सरी त्यहाँ एकाध चलचित्रमा अभिनय गरेकी पछि नृत्यङ्गनाका रूपमा परिचित भएकी थिइन्। जसलाई सञ्चार माध्यमले कतै हलिउड अभिनेत्री,  कतै बार डान्सर त कतै अमेरिकी डान्सर भनेरसमेत लेखेका छन्। त्यही कार्यक्रममा सुन्दरी स्यान्ड्राले नृत्य प्रदर्शन गरेकी थिइन्। सायदै तिनको सुन्दरताबाट विष्णु मोहित भए होलान्, त्यस्तै विष्णुको आकर्षक व्यक्तित्वबाट स्यान्ड्रासमेत मोहित भई होलिन्। 

उनीहरू दुवैका लागि फ्रान्सको उक्त भेट नै स्मरणीय रह्यो। त्यसको केही दिनलगत्तै लन्डनको डोरचेस्टर होटेलमा भएको मध्यरातको भेटले नै उनीहरूको सम्बन्धलाई नयाँ मोड दियो। स्यान्ड्राले पछि दिएको बयानअनुसार त्यहाँ विष्णुको आकर्षक व्यक्तित्वबाट उनी एकतर्फी रूपमा विष्णुको प्रेममा परिन्। त्यसपछि घटनाक्रम धेरै छिटो विकसित हुँदै गए। भेटघाट र रोमान्स बाक्लिन थाल्यो। लन्डनको भेटको एक सातापछि विष्णुले मलाई प्रेम प्रस्ताव राखे, जसलाई मैले स्वीकार गरेँ। अनि हामी अगाडि बढ्यौँ भनेकी छिन्। (ओटागो डेली टाइम्स, ५ अप्रिल १९३४) 

त्यसपछिका दिनमा उक्त जोडीको त्यो प्रेम प्रसंगले भने केही समय लगातार मिडियामा चर्चा पाइरह्यो। अर्को वर्ष सन् १९३३ बाट स्थानीय एवं अन्तर्राष्ट्रिय अखबारहरूमा पूर्व हलिउड अभिनेत्री स्यान्ड्रा नेपालका राजकुमार विष्णुसँग प्रेममा, त्यस्तै केहीले नृत्यङ्गना स्यान्ड्राले नेपालका सम्पन्नशाली हिन्दु राजकुमारसँग विवाह गर्दै लगायतका शीर्षकमा विष्णु र स्यान्ड्रा दुवैका तस्बिरसमेत छापिन लागे। 

विष्णु र स्यान्ड्राको प्रेमबारे अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘दी युनाइटेड प्रेस’ त्यस्तै ‘दी एसोसिएट प्रेस’ले समेत उनीहरूबारे थुप्रै खबर सम्प्रेषण गरिरहेका थिए। उनीहरू युरोपको विभिन्न मुलुकका विभिन्न सहरहरूमा घुमिरहेका विष्णुले स्यान्ड्रालाई निकै बहुमूल्य हिरा जवाहरत लगायतका उपहार दिएका खबरसमेत सम्प्रेषण भइरहेका थिए। यता नेपालमा आमनागरिकले राम्रोसँग दुई छाक खानसमेत नखाई, एकसरो कपडाले जिउसमेत ढाक्न नपाई सरकारलाई तिरेको कर जुन चन्द्रशमशेरको ढुकुटीमा गएर जम्मा भएको थियो, त्यसैको अंश पाएका विष्णुले उता युरोपमा रोमान्समा खर्चिरहेका थिए। 

विष्णु र स्यान्ड्राले छिट्टै विवाह गर्दैछन्। अमेरिकी युवती नेपाली हिन्दु राजकुमारको बेहुली हुँदैछिन् भन्ने अखबारी खबर लामो समय यता चल्दै आइरहेको थियो। त्यसैलाई पुष्टि गर्ने गरी अचानक सन् १९३४ २९ जनवरीमा अभिनेत्री स्यान्ड्राका मातापिताले अमेरिकाको क्यालिफोर्नियाबाट सार्वजनिक उद्घोष गरे। उनीहरूकी छोरी स्यान्ड्राले नेपालका निकै सम्पन्नशाली हिन्दु राजकुमार विष्णुसँग बिहे गर्दैछन्। आगामी फेब्रुअरी महिनामा उनीहरूले लन्डनमा औपचारिक समारोहबीच विवाह गर्नेछन् त्यसका लागि आज भोलि नै अमेरिकाबाट स्यान्ड्रा इटालीका लागि प्रस्थान गर्नेछिन्। (लिड्स मर्करी र दी इन्डियन एक्स्प्रेस, ३० जनवरी १९३४) 

स्यान्ड्राका अभिभावकले विष्णु र स्यान्ड्राको विवाह हुन लागेको जानकारी गराउनासाथ त्यो खबर यसरी फैलियो कि त्यसले त्यतिबेला भारतको कलकत्तामा रहेका जनरल विष्णुले तत्काल खण्डन गर्नुपर्ने अवस्था आयो। अर्को दिन नै विष्णुले स्यान्ड्राका अभिभावकको उक्त कुरालाई इन्कार गर्दै त्यसमा कुनै सत्यता नरहेको र विवाह नहुने जानकारी गराएको भन्ने खबर छापियो। (दी टोलेडो न्युज, ३१ मार्च १९३४) 

अर्को दिन नै विष्णुले इन्कार गरेको विषयभन्दा पनि बढी विष्णु र स्यान्ड्राको विवाह हुने खबर तीव्र गतिमा अझै अर्को एक महिनासम्म लगातार छापामा छाइरह्यो। केही अखबारले विष्णुले आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नेसम्मको खबर सम्प्रेषण गरे भने केहीले नेपालमा बहुविवाह प्रथा कायम रहेकाले स्यान्ड्रासँगको विवाहमा कुनै आपत्ति नपर्ने गरी खबर छापे। 

विष्णुले इन्कार गरेको एक हप्तापछि उता स्यान्ड्राले समेत क्यालिफोर्नियाबाट इटालीका लागि प्रस्थान गर्नुपूर्व आफूहरू सम्बन्धमा रहेको र जतिबेला पनि विवाह गर्न सक्ने जानकारी दिइन्। साथै उनले राजकीय कारणले विष्णुले विवाह गर्न नमानेको बारे आफूले केही भन्न नसक्ने तर विष्णुको पत्नीका बाबजुदसमेत आफूलाई विवाह गर्न कुनै असर नपर्ने भन्दै विवाह हुने बताइन्। (पिटर्सबर्ग प्रेस, ६ फेब्रुअरी १९३४) 

त्यसै गरी १२ फेब्रुअरी १९३४ को ‘ओटागो डेली टाइम्स’को ‘प्रिन्स एन्ड एक्ट्रेस’ शीर्षकको अर्को समाचार स्यान्ड्राको बयानमा आधारित भएर छापियो। उनका अनुसार उनी नै विष्णुको एकतर्फी प्रेममा परेकी थिइन् र उनीहरूले छिट्टै विवाह गर्दैछन् त्यसमा कतै, केही कुनै अवरोध छैन। विष्णुको बाल्यावस्थामा नै एघार वर्षको उमेरमा पारिवारिक कारणले विवाह भएकाले विष्णु श्रीमतीसँग खुसी नरहेकाले श्रीमती उर्मिलालाई छोराका साथ नेपाल फर्काउने र आफूहरू बिहेपछि लन्डनमा रहने बताइन्। विष्णुले विवाहलाई इन्कार गरेको भन्नेबारे उनले विष्णुले त्यसो भने भन्ने आफूलाई विश्वास नरहेकाले विवाह हुने पुनः ठोकुवा गरिन्। साथै उनले आफू ११ फेब्रुअरीमा न्युयोर्कबाट पहिले सिधै इटाली जाने त्यहाँ विष्णुसँग भेट गरी आफूहरू लन्डन जाने र लन्डनमा नै औपचारिक रूपमा विवाह गरी बाँकी जीवन त्यहीँ बिताउने उद्घोष गरिन्। 

हुनत त्यो समयभन्दा करिब आठ दशक पहिले युरोपको भ्रमणमा रहेका तत्कालीन प्रधानमन्त्री जंगबहादुरसमेत बेलायत र फ्रान्समा त्यहाँका युवतीसँग प्रेममा परे, त्यसमा उनले ठूलो धनराशिसमेत खर्च गरे भनी प्रशस्त लेखिएको छ। इतिहासमा कसैले त जंगबहादुरले ती युवती छाड्न नसकेकाले उतै राजदूत भएरसमेत बस्न चाहेका थिए भनेर लेखेका छन्। तर बेलायतले बीचमा भाँजो हालेका हुनाले तिनले ती पश्चिमा युवती नेपाल भित्र्याउन सकेनन् नभए तिनले केही युवती नेपालसमेत भित्र्याउन चाहन्थे भनी त्यतिबेलाका पत्रिकाहरूमा छापिएको छ। 

विष्णु र स्यान्ड्राको हकमा समेत अखबारी हल्ला चल्दै गर्दा विष्णु र स्यान्ड्रा दुवैलाई बिहेको मामिलामा बेलायती प्रतिनिधि, त्यस्तै नेपालबाट समेत सचेत गराउन थालिएको बताइन्छ। यो कुरा पछिका दिनमा राजकीय कारणबाट विष्णुले स्यान्ड्रासँग बिहे गर्न सकेनन् भनी लेखिएकोबाट पाइन्छ। त्योसँगै सन् १९३४ मा सोही वर्ष नेपालले बेलायतमा दूतावास स्थापना गर्दै गरेकाले पनि विष्णुको उक्त कदमबाट नेपालमाथि आफ्नो एकाधिकार जमाएको ठान्ने बेलायत नचिढियोस् भनी नेपालले समेत विष्णुलाई उक्त कदम लिनबाट सचेत गराएको हुन सक्छ। 

केही मिडियाले विष्णुको धनदौलतबारे समेत लगातार खबर सम्प्रेषण गरिरहे। जसमा अस्ट्रेलियाको साप्ताहिक अखबार ‘अस्ट्रेलियन वुमेन्स विक्ली’को २४ मार्च १९३४ को अंकमा विष्णुको कुल सम्पत्ति ३० लाख पाउन्ड रहेको भनेर छापियो। त्यस्तै अखबारमा उनीहरूले विवाह गरिसकेको तर विष्णु हिन्दु समुदायको विवाहित त्यस्तै राजकीय कारणले नेपालले सहमति प्रदान गर्न नसक्ने हुनाले बाहिर औपचारिक रूपमा विवाह गर्न मात्र केही प्रक्रिया लम्बिरहेको खबर सम्प्रेषण गरे। उनीहरूको विवाहलाई लिएर खबर छाप्ने क्रम फेब्रुअरी महिनाभरि निरन्तर भइरह्यो। 

विष्णु र स्यान्ड्राले गोप्य रूपमा विवाह गरिसकेका छन् भन्ने फैलँदो खबरलाई इन्कार गर्दै पुनः ३ मार्च १९३४ का दिन विष्णुका वकिल केरले एक विज्ञप्तिमार्फत अहिलेसम्म उनीहरूको विवाह नभएको र आगामी दिनमा समेत विवाह हुनै नसक्ने जानकारी गराउँदै प्रेसलाई यस्ता किसिमका खबर नछाप्न सुझाएको खबर ६ मार्च १९३४ को अंकमा ‘दी इन्डियन एक्सप्रेस’ले छापेको छ। 

त्यसको करिब १० दिनपछि १३ मार्चमा फ्रान्सको पेरिसमा रहेका विष्णुले आफू बसिरहेकै होटेलमा पत्रकार सम्मेलन आयोजना गरे। त्यहाँ आफू र स्यान्ड्राको विवाह बारे स्यान्ड्राका मातापिताले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै तथ्य नभएको बताउँदै हालसम्म आफूहरूले विवाह नगरेको र आगामी दिनमा समेत विवाह नगर्ने जानकारी प्रेसलाई दिए। साथै उनले आफू आफ्नी पत्नी र छोरासँग खुसी रहेकाले आफ्नो परिवार भेट्न छिट्टै लन्डन फर्किन लागेको जानकारी गराए। उक्त होटेलमा साथै बसेकी तर पत्रकार सम्मेलनमा सहभागी नभएकी स्यान्ड्रालाई पछि पत्रकारहरूले भेटी उनीसँग त्यसबारे प्रतिक्रिया लिन खोज्दा उनले त्यसमा कुनै टिप्पणी गर्न इन्कार गरिन्। (दी स्पोक्समेन रिभ्यु, १४मार्च १९३४) 

विष्णु र स्यान्ड्राको पेरिसको उक्त भेटले त्यहाँ सबै कुराको छिनोफानो गरेको हुनुपर्छ। विष्णुले स्यान्ड्रालाई आफूले विवाह गर्न नसक्ने जानकारी स्पष्ट रूपमा गराएको हुनुपर्छ, त्यसैले स्यान्ड्रा र उनको अभिभावकका तर्फबाट त्यसपछि विवाहबारे अन्य कुनै विज्ञप्ति आएन। सोही मार्चको अन्त्यसम्ममा विष्णु र स्यान्ड्राको बिहे हुन नसक्ने खबर छापिए। ती खबरहरूमा विष्णु पहिले नै विवाहित भएकाले, उनी हिन्दु धर्मावलम्बी भएकाले गैरहिन्दुका साथ विवाह गर्न ‘बन्देज’ भएकाले, त्यस्तै विष्णुको यस्तो विवाहलाई उनको राज्यले अस्वीकार गर्ने भएकाले राजकीय कारण पनि बिहे गर्न मानेनन् भन्ने खबर आएका थिए। 

अप्रिल १९३४ बाट विष्णु र स्यान्ड्राबारेका खबर छापिने क्रम बन्द भएको देखिन्छ। तर अर्को वर्ष सन् १९३५ तिर पुनः स्यान्ड्राको कुनै अरबी मुलुकको राजकुमारसँग सम्बन्ध जोडिएपछि आउने एकाध खबरमा विष्णुको नामसमेत छापिने गरेको पाइन्छ, उनको भूपू मायालुका रूपमा। स्यान्ड्रालाई संसारका धनी र सुयोग्य नेपाली राजकुमार र अरेबियन राजकुमारका साथ सम्बन्ध जोड्न अति सुन्दरी र प्रभावशाली महिलाका रूपमा चर्चा गरिएको पाइन्छ। 

१९३६ नोभेम्बर महिनामा विष्णु शमशेरको लन्डनस्थित आवासबाट करिब दस हजार पाउन्ड बराबरको गहना चोरी भएपछि पुनः एकपटक अखबारमा विष्णु र स्यान्ड्राबारेको पुरानो प्रेम चर्चा छापिएको पाइन्छ। त्यतिबेला विष्णु अत्यन्तै सम्पन्नशाली नेपाली राजकुमार हुन्, जसको घरबाट बहुमूल्य गहनाको चोरी भयो। तर यतिबेला चोरी भएको गहना भन्दा पनि बहुमूल्य गहना विष्णुले सम्बन्धमा छँदा स्यान्ड्रालाई उपहार दिएका थिए भनी लेखिएको पाइन्छ। 

सन् १९३७ मा बेलायतमा जर्ज छैठौँ राजा भए। उनका कान्छा भाइ थिए, राजकुमार जर्ज। जसको नाम समेत उनै स्यान्ड्रासँग जोडियो। र अब पश्चिमा छापामा बेलायती राजपरिवारका सदस्य जर्जसहित स्यान्ड्राको सम्बन्ध अरेबियन राजकुमार र नेपाली राजकुमार विष्णु सँगसमेत सम्बन्ध थियो भनी लेखियो। यी सबैमध्ये सबैभन्दा बढी सम्पन्न र आकर्षक व्यक्ति राजकुमार विष्णु थिए, जसले स्यान्ड्राको बडो ठूलो इच्छाका बाबजुद पनि विवाह गर्न इन्कार गरे भनी लेखिएको पाइन्छ। 

दोस्रो विश्वयुद्धका दौरान सन् १९४१ मा अभिनेत्री स्यान्ड्राले जर्मनीका नाजी सेनाका ७१ वर्षीय वृद्ध मेजर जनरल फ्रान्ज रिट्टेर भोन एपसँग पेरिसमा विवाह गरिन्। त्यतिबेला ३२ वर्षीय सुन्दर युवतीले ७१ वर्षीय नाजी जनरलसँग किन बिहे गरिन् भन्नेबारे अखबारमा उनी नाजी जनरलको सैन्य पोसाकबाट अति मोहित भइन् भन्ने गरी खबर छापिएको पाइन्छ। ( दी वल्र्ड न्युज सिड्नी, १ फेब्रुअरी १९४१)

उनको विवाहलाई लिएर धेरै खबर छापिँदा सबैभन्दा बढी विष्णुको प्रसंग छापियो। उही सुयोग्य एवं सप्पन्नशाली राजकुमार जसले लामो सम्बन्धका बाबजुद विवाह गर्न इन्कार गरे भन्ने खबर आयो। त्यस्तै केही अखबारका हेडलाइनमा भने सुन्दरी स्यान्ड्राले नाजीसँग बिहे गरिन् तर उनका पूर्वप्रेमी राजकुमार विष्णु बिमारी परे र सार्वजनिक रूपमा देखा पर्दैनन् भन्ने खबरसमेत छापिए। दोस्रो विश्वयुद्धका दौरान हिटलरको नाजी खुफिया एजेन्सीले स्यान्ड्रालाई अमेरिकी खुफिया एजेन्सीको आरोपमा अमेरिका नै डिपोर्ट गर्‍यो। 

विष्णु लन्डनबाट बहामसको नासु टापुमा सन् १९४१ को अगस्टमा बसाइँ सरे र उनी त्यतै बस्न थालेका थिए। सधैँ अखबारी चर्चाको केन्द्रमा रहने जनरल विष्णुको नामसँग जोडिएर सन् १९४३ को सेप्टेम्बरमा अर्को गम्भीर घटना बाहिर आयो। बहामसस्थित विष्णुको निवासमा एक २५ वर्षीय अमेरिकी युवती कुन्जको शंकास्पद मृत्युसँग सम्बन्धित घटना। आफ्ना श्रीमान् विलियम र अन्य साथीहरूसँग विष्णुको निवासमा बास बसेकी उनको शंकास्पद निधनले विष्णुलाई समेत अड्डा-अदालत धाउनुपर्ने बनायो। 

पछिल्ला दिनहरूमा बहामसको बसाइँमा विष्णु साह्रै धेरै रक्स्याहा भइसकेका थिए। ४ फेब्रुअरी १९४६ को बिहान स्थानीय समय अनुसार ८:२० मा ४० वर्षको अल्पायुमा बिस्तारामा सुतेकै अवस्थामा जनरल विष्णु मृत पाइए। विष्णुको निधनको सूचना उनको सेवामा खटिएकी नर्समार्फत आफूले पाएको पछिल्लो ५ वर्षयता विष्णुका चिकित्सक रहेका डा. क्वाकेनबुसले स्थानीय प्रहरीलाई दिएको बयानमा बताएका थिए। उनको शंकास्पद निधनलाई लिएर त्यतिबेला हत्या वा आत्महत्या जस्ता निकै विषय बाहिर आए पनि अन्त्यमा तिनै डाक्टरले अत्यधिक रक्सीसेवनका कारण हृदयघात भएर उनको मृत्यु भएको जानकारी दिए। (ओटवा सिटिजन, ६ फेब्रुअरी १९४६)

विष्णुको शवलाई बहामसबाट भारतको बनारससम्म ल्याएर बनारसमा नै उनको हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरियो। 

स्यान्ड्राका नाजी जनरल पतिको सन् १९४७ मा जर्मनीमा निधन भयो। नाजीको निधनपछि स्यान्ड्राले अमेरिकी सञ्चार घरानाका धनाढ्य मालिक जर्ज र्‍यान्डोल्फ हियरेस्टसँग विवाह गरिन्। विवाहपछि उनीहरू लस एन्जल्समा बस्न थाले र विष्णुको निधनको चार दशकपछि सन् १९८७ मा अमेरिकाको सियाटलमा स्यान्ड्राको निधन भयो। (रेम्बो फेमिली ट्री पुस्तक)

अन्नपूर्ण पोष्टको फुर्सद परिशिष्टांक  ०६ असार २०७७


No comments:

Post a Comment

न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...

  न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा... -  सन्तोष खडेरी हृषिकेश शाह प्राध्यापक , राजनीतिज्ञ , कुटनीतिज्ञ , मन्त्री , संविधान मस...